काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशमा मनाइने हरेक पर्वले देशलाई विविधतामा एकता, परम्परामा गौरव र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गर्दै आएको बताएका छन् ।
उधौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।
उपराष्ट्रपति यादवले भने, ‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र जनताको अधिकारलाई आत्मसात् गर्दै समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माणतर्फ प्रतिबद्ध भई अग्रसर हुन यस पर्वहरूले पनि उत्प्रेरित गर्न सकोस् ।’
किराँत समुदायको पर्व उधौलीलाई प्रकृतिप्रति श्रद्धा, कृतज्ञता र सामूहिक एकताको प्रतीक मान्ने गरिएको छ । राई, लिम्बू, सुनुवार, याक्खालगायतका समुदायले यस पर्वलाई परम्परागत नृत्य, गायन र सांस्कृतिक कार्यक्रममार्फत धुमधामका साथ मनाउँछन् ।
उनले भने, “यस अवसरमा आयोजना हुने ‘साकेला’ नृत्यले प्रकृति र जीवनबिचको गहिरो सम्बन्धलाई उजागर गर्दै नेपाललाई मौलिक परम्पराले सम्पन्न राष्ट्रका रूपमा चिनाउने कार्य गर्दछ।”
‘ज्यापु दिवसले नेवास् संस्कृति हस्तान्तरण गर्ने अभियानलाई बल प्रदान गरेको छ । ’ उपराष्ट्रपति यादवले ज्यापू दिवसले नेवास् संस्कृतिको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानलाई बल प्रदान गर्ने विश्वास व्यक्त गरे ।
उपराष्ट्रपति यादवले भने, ‘मौलिक बाजा धिमेको तालमा प्रस्तुत गरिने झाँकीहरूले हाम्रो रैथाने परम्परालाई जीवन्त राख्दै सांस्कृतिक पहिचानलाई उजागर गर्न सहयोग पुग्दछ । नेवार समुदायको प्रमुख पर्व यःमरि पुन्हींः/धान्यपूर्णिमा नयाँ अन्नप्रति कृतज्ञता व्यक्त गर्ने अवसर प्रदान गर्दछ, यस अवसरमा ‘यःमरि’ तयार गरी देवीदेवता, पूर्वज तथा आफन्तलाई अर्पण गरिने मौलिक परम्परा रहिआएको छ, जसले समर्पण, समृद्धि र सामाजिक एकताको सन्देश बोकेको छ । यसै दिनदेखि पूर्वी नेपालमा ‘भक्का’ पकाउने परम्परा सुरु हुने मान्यता पनि हाम्रो सांस्कृतिक विविधताको विशेषता हो ।”
उनले यःमरि पुन्हींः/धान्यपूर्णिमा र ज्यापू दिवसले सामाजिक सद्भाव, सांस्कृतिक गौरव र राष्ट्रिय एकताको मार्गमा सकारात्मक अग्रसरताका लागि प्रेरित गर्ने विश्वास व्यक्त गरे ।



