काठमाडौँ- १७औँ मानवअधिकार राष्ट्रिय महाभेला सोमबारबाट ललितपुरमा सुरु हुने भएको छ।
मानव अधिकार आयोग र विभिन्न संघसंस्थाहरूको संयुक्त सहकार्यमा मंसिर २२ देखि २८ गतेसम्म नेपाल प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)मा १७ औं मानवअधिकार राष्ट्रिय महाभेला आयोजना हुन लागेको हो।
यस वर्ष मानवअधिकार राष्ट्रिय महाभेलाको संयोजन गरिरहेको मानवअधिकारको लागि महिला, एकल महिला समूहले आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मानवअधिकारको सम्मान सुशासनको सुनिश्चितता, न्यायमूलक सम्मुन्नत नेपाल भन्ने नाराका साथ मानवअधिकार राष्ट्रिय महाभेला आयोजना गर्न लागेको जनाएको हो।
महाभेलामा विभिन्न १२५ वटा मानवअधिकार तथा सामाजिक न्यायको क्षेत्रमा कार्यरत संघसंस्थाहरूको सहभागिता हुने मानवअधिकारको लागि महिला, एकल महिला समूहकी अध्यक्ष शोभा विसीले जानकारी दिइन्।
नेपाल मानवअधिकारको पक्षराष्ट्र भएको हुँदा नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको प्रतिबद्धताको कार्यान्वयनसँगै संक्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्याई सबैको मानवअधिकारको सुनिश्चितता गरी अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको सो संस्थाले जनाएको छ।



