पोखरा– कविवर एवं भाषाविद् मुकुन्दशरण उपाध्यायको शनिबार रथारोहण एवं नागरिक अभिनन्दन भएको छ।
हेमजा साहित्य प्रतिष्ठान नेपालले पहिलोपल्ट आयोजना गरेको हेमजा साहित्य महोत्सव अवसरमा उपाध्यायको जन्मस्थल पोखरा–२५, हेमजामा उनको सम्मानमा रथारोहणसहित अभिनन्दन गरिएको हो।
स्थानीय विष्णुपादुका माविको चौरदेखि बाजागाजा र झाँकीसहित साहित्य महोत्सव आयोजनास्थल ज्ञानसागर एकेडेमीसम्म रथारोहण भएको हो।
झाँकीमा उनको साहित्यिक यात्राका महत्वपूर्ण पक्ष समेटिएको मूल आयाजक समिति संयोजक छन्दमणि त्रिपाठीले जानकारी दिए।
शनिबार दिउँसो निर्धारित सो कार्यक्रममा प्रमुख अतिथि पोखराका मेयर धनराज आचार्य ढिलो उपस्थित हुँदा रथारोहण भइसक्दा साँझ परेको थियो।
मूल समारोह समिति उपाध्यक्ष कोविदशरण उपाध्यायका अनुसार दुई दिनसम्म चलेको महोत्सवको पहिलो दिन नेपाली नाटक तथा रंगमञ्च, महाकाव्य लेखन, नेपाली आख्यान, मुक्तक, गीत, गजल, लघुकथा र कविता विद्याका बारेमा परिसंवाद भएको छ।
नेपाली नाटक तथा रङ्गमञ्चबारे प्राडा. रामचन्द्र पोखरेल, कृष्ण उदासी र पुरु लम्सालले बहस गरे। त्यसको सहजीकरण प्राञ्जलले गरे। ‘वर्तमान समयमा महाकाव्य लेखन’ बारे डा. नवराज लम्साल, माधव वियोगी र डा.रमेश शुभेच्छुले बहस गरे। प्राडा. जगन्नाथ रेग्मीले सहजकर्ताको भूमिका निर्वाह गरे।
साहित्य महोत्सवबीच वर्तमान सन्दर्भमा नेपाली आख्यान विषयमा परिचर्चा पनि भयो। ज्ञानु अधिकारी, डा.रजनी ढकाल, तीर्थ गुरुङले चर्चा गरेकोमा डा. भूमिराज वस्ताकोटीले सहजीकरण गरे।
समापनमा विभिन्न कृतिको लोकार्पणसमेत भयो।
कार्यक्रममा साहित्यिक तथा सांस्कृतिक प्रस्तुति एवं स्थानीय कला संस्कृति झल्किने प्रदर्शनी गरिएको थियो। महोत्सवमा देशभरका एक सयभन्दा बढी स्रष्टा सहभागी थिए।



