जेनजी आन्दोलनमा अराजकता मच्चाउने कांग्रेस कार्यकर्ताको सदस्यता नवीकरण नगरिने

हिमाल प्रेस १७ मंसिर २०८२ २०:१६
14
SHARES
जेनजी आन्दोलनमा अराजकता मच्चाउने कांग्रेस कार्यकर्ताको सदस्यता नवीकरण नगरिने

इटहरी- नेपाली कांग्रेस सुनसरीले जेनजी पुस्ताको आन्दोलनका क्रममा संलग्न पार्टीका सदस्यताको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ। सरकारी तथा निजी सम्पत्ति आगजनी, तोडफोड र लुटपाटमा संलग्न सदस्यको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको हो।

कांग्रेस जिल्ला कार्यसमिति सुनसरीको बुधबार बसेको बैठकले आन्दोलनमा हिंसा भड्काउन प्रोत्साहित गर्ने कार्यकर्ताको वडादेखि नै नामावाली संकलन गर्न सकुर्लर गरेको छ। वडाबाट त्यसपछि प्राप्त नामावालीका आधारमा त्यस्तो घटनामा संलग्न सदस्यको सदस्यता नवीकरण नगर्ने निर्णय भएको जिल्ला सभापति केदार भण्डारीले बताए।

जिल्लाले गरेको निर्णयका आधारमा प्रदेश कार्यसमितिले पनि केन्द्रीय समितिलाई सिफारिस गर्ने कोशी प्रदेश महामन्त्री उमेश थापाले बताए। उनका अनुसार गलत व्यक्तिलाई पार्टीले संरक्षण नगरी खोजीखोजी निस्कासन गर्नेछ।

सुनसरीमा जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी निकायको मात्रै एक अर्ब १७ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। निजी क्षेत्रको क्षतिको विवरण अहिलेसम्म संकलन हुन सकेको छैन।

खासगरी जिल्लाका ३३ वटा सरकारी कार्यालयमा भएको आगजनी तथा तोडफोडबाट एक अर्ब १७ करोड तीन लाख ३८ हजार ८३५ रुपैयाँको क्षति भएको जिल्ला प्रशासन कार्यालय सुनसरीको तथ्यांकमा उल्लेख छ।

आन्दोलनका क्रममा कांग्रेसबाट इटहरी उपमहानगरको मेयरमा निर्वाचित भएका हेमकर्ण पौडेलको अढाइ तले पक्की घर आगजनीबाट पूर्ण रूपमा क्षति भएको थियो।

धरानमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड भएको थियो। यसैगरी धरान उपमहानगरपालिकाका पूर्व नगरप्रमुख मनोज मेन्याङ्वो, पूर्व उपमेयर मञ्जु भण्डारी, पूर्वसांसद जयकुमार राई, धरान उपमहानगरपालिका कार्यपालिका सदस्य सिर्जना नेपाल, कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापा, कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र गोले तामाङलगायतको निजी घरमा तोडफोड भएको थियो। यस्तै पूर्व मेयर मेन्याङ्वोको कञ्चनजंघा होटल पनि तोडफोड गरिएको थियो।

आन्दोलनका क्रममा कांग्रेससबाट विजयी कोशी गाउँपालिका अध्यक्ष अयुव अन्सारीको इनरुवामा रहेको घरमा आगजनी आगजनी गरिएको थियो। इनरुवाका मेयर एवम् जिल्ला सभापति केदार भण्डारीको घरमा पनि आगजनी गरिएको थियो। प्रदर्शनकारीले इनरुवामै रहेको सुनसरी क्षेत्र नं. २ का निवर्तमान संघीय सांसद एवम् एमाले नेता भीम आचार्य र इनरुवा वडा नं. ६ का वडाध्यक्ष सुमन थापाको घरमा पनि क्षति पुर्‍याएका थिए।

धरानमा रहेको भाटभटेनी सुपरमार्केटमा आगजनी र तोडफोड भएको थियो। जेनजी आन्दोलनका क्रममा भदौ २३ गते इटहरी वडा नं. १४ का ४० वर्षीय मोहन सरदार र इनरुवा वडा नं. ६ घर भई इटहरीस्थित आफन्तकोमा बस्दै आएका वर्षीय अभिषेक श्रेष्ठको मृत्यु भएको थियो। २४ गते जिल्लाभर बढी मात्रामा सरकारी तथा निजी व्यक्तिको सम्पत्ति  क्षति गरेकाले त्यसमा संलग्नको सूक्ष्म ढंगले विवरण तयार पार्ने कांग्रेसले जनाएको छ।

प्रकाशित: १७ मंसिर २०८२ २०:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast