दक्षिण अफ्रिकाविरुद्धको शृंखला भारतलाई, विराट कोहली ‘म्यान अफ दी सिरिज’

हिमाल प्रेस २१ मंसिर २०८२ ८:००
14
SHARES
दक्षिण अफ्रिकाविरुद्धको शृंखला भारतलाई, विराट कोहली ‘म्यान अफ दी सिरिज’ शृंखलाको अन्तिम खेलमा भारतीय खेलाडी यसस्वी जैसवालले शतक प्रहार गरेपछिको सेलिब्रेसन र सोही खेलमा अर्धशतक बनाएपछि विराट कोहली। तस्बिर : भारतीय क्रिकेट

काठमाडौँ- भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २-१ ले जितेको छ।

२७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल। जसले आफ्नो पहिलो ओडिआई शतक प्रहार गरे। १ सय २१ बल खेलेका उनले १२ चौका र २ छक्का सहित १ सय १६ रनमा अविजित रहे।

जयसवालले पहिलो विकेटका‌ लागि रोहित शर्मासँग १ सय ५५ रनको साझेदारी गरे। रोहितले ७३ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ७५ रन बनाए।

यो खेलसँगै रोहित शर्माले २० हजार अन्तर्राष्ट्रिय रन पूरा गरेका छन् । भारतीय क्रिकेटरमा रोहित अघि सचिन तेन्दुलकर, विराट कोहली र राहुल द्रविडले मात्र यो उपलब्धि बनाएका छन्।

कोहलीले पनि उत्कृष्ट फर्म कायम राख्दै आज अविजित ६५ रन जोडे। ४५ बलमा खेलेका उनले विजयीसहित ६ चौका र ३ छ्क्का प्रहार गरे। जैसवाल आज प्लेयर अफ दी म्याच चुनिए। अघिल्ला दुवै ओडीआईमा शतक बनाएका कोहली म्यान अफ दि सिरिज घोषित भए।

त्यसअघि दक्षिण अफ्रिकाले राम्रो सुरुवात गरेको थियो। ओपनर क्विन्टन डे ककले ८९ बलमा १ सय ६ रन बनाउँदै भारतविरुद्ध आफ्नो सातौँ ओडिआई शतक पूरा गरे।

तर त्यसपछि भारतका प्रसिद्ध कृष्णा र कुलदीप यादवले घातक बलिङ गरे। दुवैले समान ४ विकेट लिएपछि दक्षिण अफ्रिकालाई ४७।५ ओभरमा २ सय ७० रनमै समेटियो।

डेवाल्ड ब्रेविस (२९) र मार्को जान्सेन (१७) ले केही प्रतिरोध गरे पनि कुलदीपले उनीहरूलाई आफ्नो शिकार बनाए । यस खेलअघि भारतले २० एकदिवसीय खेल लगातार टस हारेको थियो। तर यो खेलमा कप्तान केएल राहुलले टस जितेर फिल्डिङ रोजे र निर्णय सफल पनि भयो।

यसअघिको टेस्ट सिरिजमा दक्षिण अफ्रिकाले भारतलाई २( ० हराएको थियो । दुई टोलीबीचको ५ खेलको टि ट्वान्टी सिरिज मंगलबार कटकमा सुरु हुनेछ।

प्रकाशित: २१ मंसिर २०८२ ८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast