‍प्रतिनिधिसभा निर्वाचन : धनुषा ३ बाट निधिको एकल नाम सिफारिस

हिमाल प्रेस २३ मंसिर २०८२ १४:५५
24
SHARES
‍प्रतिनिधिसभा निर्वाचन : धनुषा ३ बाट निधिको एकल नाम सिफारिस नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि

काठमाडौँ-  नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट पूर्वउपसभापति विमलेन्द्र निधिको एकल नाम सिफारिस गरेको छ। कांग्रेसको धनुषा क्षेत्र नम्बर ३ क्षेत्रीय समितिले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निधिको नाम सिफारिस गरेको हो।

क्षेत्रीय सभापति धिरेन्द्रकुमार निधिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वउपसभापति निधिको एकल नाम सिफारिस भएको जानकारी दिए।

‘फागुन २१ गते हुने निर्वाचनका लागि धनुषा ३ बाट विमलेन्द्र निधिजीको एकल नाम सिफारिस भएको छ,’ उनले भने,‘सिफारिस भएको नाम आजै जिल्ला कार्यसमितिमा पठाएको छौँ।’

यसअघि आइतबार बसेको धनुषा क्षेत्र नम्बर ३ को विस्तारित बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारका लागि निधिको एकल नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको थियो।

केन्द्रबाट परिपत्र आएअनुसार उम्मेदवारको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति धिरेन्द्रकुमार निधिले जानकारी दिए।

कांग्रेस केन्द्रीय कार्यालयले उम्मेवार सिफारिसका लागि सबै जिल्लामा परिपत्र गरिसकेको छ। एक निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ एक महिलासहित बढीमा तीन र समानुपातिकतर्फ एक महिलासहित बढीमा दुई उम्मेदवार सिफारिस गर्न कांग्रेसले परिपत्र गरेको हो।

धनुषा क्षेत्र नम्बर ३ को विस्तारित बैठकले प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरे पनि समानुपातिकका लागि तय गर्न बाँकी रहेको छ। समानुपातिकतकालागि प्रफुलराज घिमिरे, रामानन्द चौधरी (ललन), उर्मिला यादवलगायतका नेताहरूको नाम सिफारिस हुने सम्भावना रहेको बताइएको छ।

विस्तारित बैठकमा पूर्वसांसद स्मृतिनारायण चौधरी, प्रदेश सांसद रामसरोज यादव, जिल्ला सभापति योगेन्द्र पजियारलगायतका नेताहरूको सहभागिता रहेको थियो।

कांग्रेसका पूर्वउपसभापति निधि चुनाव लड्दै आएका धनुषा ३ मा जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर १ देखि ८, १०, ११, १२, १५, १६, २०, २३, २४ र २५ वडाहरू छन्। त्यस्तै जनकपुर उपमहानगरपालिका दक्षिणका धनौजी गाउँपालिका, नगराईन नगरपालिका र मुखियापट्टी मुसहरिनया गाउँपालिका यही क्षेत्रमा पर्छ।

धनुषाको अन्य क्षेत्रबाट पनि उम्मेदवार सिफारिस गर्न कांग्रेस क्षेत्रीय समितिहरूको बैठक भइरहेको छ। प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस गर्न मंगलबार धनुषा क्षेत्र नम्बर २ को बिस्तारित बैठक बसिरहेको त्यस क्षेत्रीय सभापति नवीनकुमार गोहिवारले जानकारी दिए। २०७९ सालको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका रामकृष्ण यादव निर्वाचित भएका थिए।

प्रकाशित: २३ मंसिर २०८२ १४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast