काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु गरिएको छ। मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंहदरबारबाट सेवा प्रवाह भएको जानकारी दिए।
मन्त्री, दुई सचिव, नीति, योजना तथा अनुगमन महाशाखा र कर्मचारी महाशाखाबाट हुने सेवा प्रवाह सिंहदरबारबाट सुरु गरिएको हो।
सिंहदरबारस्थित नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा विश्व स्वास्थ्य संगठनले मन्त्रालयका लागि ६ वटा ‘प्रिफ्याव ब्लक’ बनाइदिएको छ।
‘मन्त्रालयका सबै शाखा सर्न अझै एक महिना लाग्छ,’ उनले भने, ‘तत्कालका लागि मन्त्री र दुई सचिव र दुई महाशाखाको काम सिंहदरबारबाट सुरु गरिएको हो।’
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका कारण रामशाहपथस्थित मन्त्रालयमा आगजनी भएपछि अस्थायी रूपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यालयबाट मन्त्रालयले सेवा दिइरहेको थियो।



