इटहरी- अभियन्ताबाट धरानको मेयर बनेका हर्कराज राई (हर्क साम्पाङ) अहिले राजनीतिक दल गठन गरेर प्रधानमन्त्री बन्ने आकांक्षासहित देश दौडाहामा छन्। धरानको मेयरका रूपमा उठाएका मूल एजेन्डामा देखिएको असफलता, बेलगाम अभिव्यक्ति र व्यक्ति-केन्द्रित शैलीका कारण उनको ‘वैकल्पिक राजनीति’ नै प्रश्नको घेरामा परेको छ।
धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित साम्पाङ ‘श्रम संस्कृति पार्टी’ गठन गरी संगठन विस्तारमा सक्रिय भएका छन्। फागनु २१ का लागि घोषित प्रतिनिधिसभा सदस्य चुनावका लागि उनले सक्रियता बढाएका हुन्।
साम्पाङ ०७९ सालको स्थानीय तहको निर्वाचनमा स्थापित राजनीतिक दलहरूलाई पराजित गर्दै स्वतन्त्रबाट मेयरमा निर्वाचित भएका थिए। उनी अब आफैँ पार्टी दर्ता गरी देशको प्रधानमन्त्री बन्ने दौडमा लागेकमा छन्।
संगठन विस्तारका क्रममा उनले भनेका छन्, ‘मैले चैँ अरूलाई प्रधानमन्त्री बनाउन पार्टी खोलेको होइन, म आफैँ प्रधानमन्त्री बन्ने हो।’
लौरो चुनाव चिह्नबाट मेयरमा निर्वाचित उनी अब भने स्वतन्त्र रहेनन्, दलको नेतृत्व गरिरहेका छन्। उनी दलका अध्यक्ष मात्र होइन, नेपालको नयाँ भनिएका र आसलाग्दा नेताका रूपमा समेत हेरिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्ज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङबीच पार्टी एकता भई चुनावमा जाने सहमति गरिसकेका छन्। साम्पाङले भने आफू कसैसँग कुनै सहमति नगर्ने बरू देश खरानी पार्नेहरू एकै ठाउँ आएको भन्दै टिप्पणी गरिरहेका छन्। उनले सार्वजनिक मञ्चहरूमै लामिछाने, शाह र घिसिङको खुलेर विरोध गर्दै आएका छन् भने सामाजिक सञ्जालमा उनीहरूविरुद्ध अनेक खालका स्टाटस लेख्दै आएका छन्।
खानेपानी आन्दोलनबाट सत्ता यात्रासम्म
धरानमा खानेपानीको समस्या लामो समयदेखि यथावत् छ। यही समस्याको समाधान खोज्ने उद्देश्यले ‘धरान सरोकार समाज’ स्थापना गरिएको थियो, जसमा अधिकांश लाहुरे समुदाय संलग्न थिए। हर्क साम्पाङ पनि उक्त अभियानमा सक्रिय रूपमा जोडिएका थिए। खानेपानीजस्तो जनसरोकारको विषय उठाइएकाले अभियानले जनसमर्थनसमेत पाएको थियो।
एसियाली विसका बैंक (एडीबी) को ऋणमा धरान खानेपानी आयोजना सञ्चालन भयो। आयोजनामा भ्रष्टाचार भएको भन्दै उनै साम्पाङले आरोप लगाएपछि विवाद चर्कियो। परियोजनाका कारण खानेपानी महसुल नेपालमै महँगो भएको, अझै पनि ट्यांकरबाट पानी ल्याउनुपर्ने अवस्था रहेको भन्दै साम्पाङले सार्वजनिक रूपमा प्रश्न उठाउँदै आए।
समस्या समाधानसँगै खर्च पनि कम हुने दाबी गर्दै उनले यही एजेन्डालाई प्रमुख मुद्दा बनाएर स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका थिए। नभन्दै मेयरमा निर्वाचित भए। मेयरमा रहँदा गरेका विकासे काममा समर्थन भन्दा आलोचना बढी खेपेका साम्पाङ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार दिई प्रधानमन्त्री बन्ने आकांक्षामा छन्। यसैबेला आफ्नै एजेन्डामा कति सफल भए भन्ने चासो बढेको छ।

‘पानीकै मुद्दामा असफल’
साम्पाङको मूल मुद्दा थियो- धरानमा खानेपानी आपूर्ति सहज बनाउनु। यही आसले धराने मतदाताले उनलाई मेयर निर्वाचित गरे। निर्वाचित भएको तीन वर्ष बित्दासम्म पानीको मुद्दामा उनी सफल नदेखिएको जानकारहरू बताउँछन्।
महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक एवम् विश्लेषक राजेश विद्रोही भन्छन्, ‘खानेपानीको मुद्दा लिएर अभियन्ता बनेका साम्पाङ पानीकै मुद्दामा सफल भएका छैनन्।’ विकसित सहर निर्माणका लागि आवश्यक शिक्षा, स्वास्थ्यसहित जनताका आधारभूत प्राथमिकताका काममा साम्पाङले चासो नदिएको विद्रोही बताउँछन्।
शिक्षा, स्वास्थ्यसहित नगरका सडक निर्माण पनि लथालिंग बनेको उनले टिप्पणी गरे। पछिल्ला तीन वर्षमा धरानमा मानवीय संसाधन विकासका निम्ति कुनै पनि काम नभएको उनको भनाइ छ। व्रिदोहीले भने, ‘सामुदायिक शिक्षा कहाँ सुधार भयो? नगर अस्पताल कहाँ बन्यो? यहाँको बीपी प्रतिष्ठानमा सुधारका निम्ति अभिभावकीय भूमिका कहाँ रह्यो? यस्ता प्रश्नहरू थुप्रै छन्।’
नगर विकासका निम्ति मेयरले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको र सबैलाई समेटेर समन्वयात्मक भूमिका निर्वाह गर्न नसकेको विषयमा पनि साम्पाङमाथि आरोप लाग्दै आएको छ। ‘एक्लै जस लिन खोज्दा सबैलाई अपजस लगाउने बानीले आफैँलाई हानि हुन्छ,’ विद्रोही भन्छन्, ‘केन्द्रीय बजेट कति ल्याउन सकियो, प्रदेशबाट के ल्याइयो? भन्ने पनि प्रश्न छ। बरू आफ्नै बोलीका कारण आउने बजेट पनि रोकियो। उहाँले नगर कार्यपालिकालाई सम्हालेर लैजान सक्नुभएको छैन।’ उसो त साम्पाङले गत आवमा बजेट नै समयमा ल्याउन सकेनन्। असारमा ल्याउनुपर्ने बजेट असोजमा मात्रै ल्याइएको थियो।
लोकप्रियतावाद र सामाजिक सञ्जाल
फेसबुकमा आएको १५-२० सेकेन्डको भिडियो हेरेर त्यही कुरा सत्य हो भनी पत्याउने जमात बढ्दो छ। बोलेका कुरा हो कि होइन भनेर अध्ययन गर्ने मानिस छैनन् जस्तो अवस्था छ। ‘यो त धरानको मात्रै होइन, देशैभरिको समस्या हो’, विद्रोही भन्छन्, ‘अचेल मानिसहरूले विश्लेषण गर्नै छाडे। नयाँ पुस्ता अफवाहको पछाडि लागेर विचार निर्माण गरिरहेका छन्। यसले लोकतन्त्र कमजोर बनाउँछ।’
मानिसको क्षमता, क्रियाकलाप हेरेर मत, विचार निर्माण गर्नुपर्नेमा मानिसले भने अभिनय रुचाइरहेको र राजनीतिमा पनि धेरै कुरा यथार्थभन्दा अभिनय गर्नुपर्ने अवस्था बनेको छ।
विद्रोहीको बुझाइमा हर्क साम्पाङका पछाडि लाग्ने तीन किसिमका मानिस छन् : पहिलो- अत्यन्तै इमानदारीपूर्वक पूर्ण रूपमा विश्वास गरी साँच्चिकै हृदयदेखि लाग्नेहरू छन्।
दोस्रो- मानिस भने केही कमाउन सकिन्छ र आर्थिक लाभ लिन पछाडि लागेका छन्। उनीहरू अभियान केन्द्रमा राखी आर्थिक लाभ प्राप्त गर्न तल्लीन छन्।
तेस्रो – हर्कको आकर्षण छ, ऊसँग हिँडेमा चुनावमा टिकट पाइन्छ र जनप्रतिनिधि बन्न सकिन्छ भनेर पछि लागेका छन्।
‘उनीसँग हिँड्नेमध्ये दुईथरी मानिसमा स्वार्थ देखिन्छ,’ विद्रोही भन्छन्, ‘धराने जनतामा हर्कको जनमत ओरालो लाग्दै छ। अधिकांशले उनी लोकप्रियतावादी हो भनेर बुझे। त्यस्तो धेरै मत ल्याउने र ठूलो प्रभाव पार्ला भन्ने मलाई चाहिँ लाग्दैन।’
बेलगाम बोली
साम्पाङ आफ्नै बोलीका कारण विवादमा छन्। सामाजिक सञ्जालमा होस् वा सार्वजनिक कार्यक्रममा उनले दिएका अभिव्यक्ति राजनीतिक भन्दा बढी व्यक्तिकेन्द्रित आलोचनामा केन्द्रित देखिन्छ। यसैगरी नगरपालिकाबाट लेखिने निवेदनको भाषाका कारण पनि उनी विवादमा तानिएका छन्।
श्रम संस्कृतिको परिपाटीले केही नयाँ सन्देश दिए पनि उनी आफ्नै बेलगाम बोलीका कारण ओरालो यात्रामा लागेको र लोकप्रियताको भूमरीमा रुमल्लिरहेको विद्रोहीको टिप्पणी छ।
राजनीतिक दलहरूका बेथिति र जनपक्षीय काम नहुँदा वितृष्णाको मत साम्पाङका पक्षमा गएको थियो। उनी आफैँ भने बोलीका कारण ओरालो यात्रामा छन्।
‘साम्पाङलाई आएको मत दलहरूप्रति चिढिएको प्रतिक्रिया थियो,’ उनी भन्छन्, ‘साम्पाङका हरेक गतिविधि हेर्दा लोकतान्त्रिक परिपाटीलाई माध्यम बनाएर अर्को निरंकुश मानिस जन्मिएजस्तो देखिन्छ। उनले आफ्नै बोली मात्रै सुधार गर्न पनि गाह्रो छ।’
हर्क श्रमदानमार्फत चर्चामा चुलिएका छन्। त्यो काम नेपालमै पहिलोपटक उनले गरेका भने होइनन्। जनश्रमदानको अभियान प्राचीनकालदेखि आएको छ। श्रमदान राम्रो काम भए पनि एक करोड खर्च गरेर ५० हजार लिटर पानी ल्याउने अवस्था हुँदाहुँदै सात करोड खर्च गरेर १५ हजार लिटर पानी ल्याउँदा लगानीको हिसाबमा प्रतिफल नभएको भनेर साम्पाङको आलोचना हुँदै आएको छ।
साम्पाङलाई धराने जनतालाई पाँच वर्षका लागि ‘म्यान्डेट’ दिएका हुन्। धरानको पूर्वाधार विकास गरेर केन्द्रको राजनीतिमा लागेको भए उनी धेरै आलोचित हुँदैनथे। ‘अर्को अवसर पाए अर्कोतिर कुद्ने रहेछ भन्ने धेरैले बुझ्न थालेका छन्,’ विद्रोही भन्छन्, ‘श्रमदानबाट परिणाम के आयो? प्रतिफल के आयो? उनको काम प्रतिफलविहीन भयो, प्रचारमुखी मात्रै भयो।’
आफूलाई केन्द्रमा राखी उनी प्रचारमुखीमा मात्रै केन्द्रित हुने गरेको विद्रोही बताउँछन्। साम्पाङमा राजनीतिक सुझबुझ र संस्कारको पनि विकास हुन सकेको देखिँदैन। राजनीतिमा लागेपछि नाफा मात्रै खोज्ने प्रवृत्ति उनका रहेको देखिन्छ। आफ्नै पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई गरेको कारबाहीलाई उदाहरणका रूपमा लिन सकिन्छ। ‘लोकतन्त्र भनेको परिणाम मात्रै होइन, प्रक्रिया पनि हो। प्रक्रिया सही नभए लोकतन्त्रको के अर्थ?,’ विद्रोहीले प्रश्न गरे।
श्रम संस्कृति पार्टीका तत्कालीन केन्द्रीय उपाध्यक्ष रहेका परियारले पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दा उनी पदबाटै हटाइएका छन्। ५ पुसमा बुटवलमा आयोजित आमसभाका क्रममा असन्तुष्टि राखेपछि पार्टीका नेता साम्पाङबाट निरन्तर गाली र सामाजिक सञ्जालमार्फत बर्खास्त गरिएको परियारको भनाइ छ।
परियारले पार्टीले अवधारणापत्रमार्फत ‘हर्कवाद’ अँगालेकोमा असहमति जनाउँदै व्यक्ति केन्द्रित होइन, विचार केन्द्रित राजनीति आवश्यक भएको बताउँदै आएका थिए। वैचारिक बहसको अपेक्षा गरेका आफूलाई उल्टै अपमान र माफी माग्न दबाब दिइएको उनको आरोप छ।
‘व्यक्ति केन्द्रित भएर जानु हुँदैन भन्ने कुरालाई विपक्षीजस्तो बनाइयो’, परियार भन्छन्, ‘कर्म गरे आफैँ ‘वाद’ बन्छ भनेको थिएँ। पार्टीभित्रको वैचारिक मतभेदलाई बहसमा ल्याइन्छ भन्ने थियो। तर अपमान गर्ने काम भयो।’
धरान निवासी लेखक सुदीप पाख्रिन हर्कले नगरलाई साझा नेतृत्व दिने ऐतिहासिक अवसर गुमाएको बताउँछन्। कुनै समय खानेपानीको मुद्दा र महसुल बढेको विषयमा साम्पाङले अभियान चलाए पनि अहिले भने त्यही मुद्दाले उनी आलोचित बनेको पाख्रिन बताउँछन्।
‘नगरको नीति, कानुन निर्माण गरी सबैको साझा नेताको रूपमा काम गर्ने ठूलो अवसर थियो। उहाँको आफ्नै बोलीका कारण र अपेक्षित काम गरेको पाइँदैन’, पाख्रिन भन्छन्, ‘आलोचनालाई स्वीकार गर्न सक्नुपर्छ। गलत भइरहेको छ भने सच्चिएर अगाडि बढ्नुपर्छ।’
धरान क्षेत्रले नयाँ अनुहार खोजिरहे पनि साम्पाङ एकपटक ‘परीक्षण’ भइसकेको पात्र भइसकेको उनको बुझाइ छ। ‘कानुन, परामर्श र सहकार्य नमान्ने शैली दीर्घकालमा हानिकारक हुन्छ,’ पाख्रिनले भने।
सुनसरी क्षेत्र नं. १ पर्ने धरान क्षेत्रमा पुराना राजनीतिक दलहरू निकै आलोचित छन्। सोही कारण चुनावमा उनीहरूले जनताले रुचाएनन्। नयाँले पनि बलियो र सक्षम उम्मेदवार पाएका छैनन्।
‘कानुन र संविधान नमान्ने, परामर्श नलिने र व्यक्तिगत अहंकारले दीर्घकालमा हानि नै गर्छ,’ पाख्रिनले भने, ‘पहिला दललाई गएको मत नै हर्क र अन्य दलहरूलाई जाने हो। त्यसैले मत विभाजन हुँदा कसले बाजी मार्छ भन्ने यकिन नहुन सक्छ।’
कोशी प्रदेशमा पहिचानवादीहरू हर्कका पक्षमा उभिएका छन्। जसले माओवादी, जनता समाजवादीलगायतका दलको केही मत भने प्रभावमा पर्न सक्ने जानकारहरू बताउँछन्। धरानमा भने लाहुरे समुदायको बाहुल्य रहेका कारण ती मतहरू हर्कको पक्षमा पर्न सक्ने उनीहरूको अनुमान छ।
विदेशमा बस्ने नेपालीले हर्कलाई समर्थन गर्दै आएका छन्। कुनै समय बेथिति, विसंगति तथा जनसरोकारका विषयमा सत्तालाई निरन्तर प्रश्न गर्ने साम्पाङ जबाफ दिने स्थानमा पुगेपछि भने प्रश्नबाट टाढिँदै गएका छन्।





