काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका मृत्युवरण गरेका सहिदहृको सम्झनामा भदौ २३ लाई जेनजी सहिद दिवसको रूपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
बैठकले जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरी/अविवाहित छोरालाई गृह मन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ।
त्यस्तै बैठकले आगामी माघ १ गतेदेखि एकपटकमा पाँच लाख रुपैयाँ वा सो भन्दा माथिको सेवावस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणबाट गर्नुपर्ने गरी नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरेको छ।
बैठकले श्रीलंकामा हालैको बाढी पहिरोले धनजनको ठूलो क्षति भएको सन्दर्भमा नेपाल सरकारको तर्फबाट श्रीलंका सरकारलाई सहायता स्वरुप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय गरेको छ। विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञानबहादुर थापालाई नियुक्त गर्ने निर्णय भएको मन्त्री खरेलले जानकारी दिए।
बैठकले प्रेस काउन्सील नेपालको अध्यक्षमा डा. कुमा शर्मा आचार्यलाई मनोनीत गर्ने, कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने र बैकुण्ठप्रसाद अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए।



