काठमाडौँ- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि जारी गरिएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। मूल्य तथा शोधनान्तर स्थिरता कायम राख्दै दिगो आर्थिक वृद्धि गर्ने उद्देश्यसहित गत असार २७ गते मौद्रिक नीति जारी गरिएको थियो। तर त्यसपछिको राजनीतिक तथा आर्थिक घटनाक्रमले अर्थतन्त्रमा नयाँ चुनौती र अवसर दुवै सिर्जना भएको समीक्षामा उल्लेख गरिएको छ।
बैंकको समीक्षाअनुसार गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तथा त्यसपछिको असामान्य परिस्थितिले भौतिक संरचना तथा मानवीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। त्यहीबीच ढिलो मनसुन र असोजमा परेको अत्यधिक वर्षाले कृषि उत्पादनमा नकारात्मक असर पारेको अनुमान बैंकको मूल्यांकनमा उल्लेख छ।
आन्दोलनपछिको नयाँ सरकारले शान्तिसुरक्षा कायम गर्ने, सुशासन प्रवर्द्धन गर्ने, क्षतिको पुनर्निर्माण तथा निजी क्षेत्रमैत्री नीतिगत सुधारमा जोड दिएको बैंकले बताएको छ।
समीक्षामा पर्यटन क्षेत्रमा सकारात्मक संकेत देखिएको उल्लेख छ। विदेशी पर्यटक आगमन वृद्धि भएको छ। वस्तु आयात कोभिड पूर्वस्तरमा पुगेको छ भने निर्यातसमेत उल्लेख्य रूपमा सुधारिएको छ। विप्रेषण आप्रवाह बढ्दै जाँदा विदेशी मुद्रा सञ्चिति सुदृढ बन्दै गएको छ।
मुद्रास्फीति लक्ष्यभन्दा कम रहेकाले उपभोक्ता मूल्यस्थितिमा सहजता देखिएको बैंकको समीक्षा छ। त्यसैगरी, बैंकिङ क्षेत्रमा तरलता प्रशस्त र ब्याजदर न्यून रहे पनि कर्जा विस्तार भने अपेक्षित रूपमा वृद्धि हुन नसकेको बैंकले जनाएको छ।



