बुटवल- अर्थमन्त्री रामेश्वर खनालले वर्तमान संकटको समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका छन्। उनले निर्वाचनको वातावरण सरकारले बनाइरहेकाले त्यसमा प्रतिबद्ध भएर आउन राजनीतिक दललाई आग्रह समेत गरे।
रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि,प्रविधि तथा पर्यटन महोत्सव २०८२ बिहीबार उद्घाटन गर्दै अर्थमन्त्री खनालले राजनीतिक देशलाई दुर्घटनाबाट बचाउन निर्वाचन अपरिहार्य रहेकाे बताएका हुन्। उनले निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनले मात्रै मुलुकलाइ निकास दिने बताए। अहिले अर्थतन्त्रमा देखा परेकाे संकटका लागि राजनीतिक स्थिरता जरुरी रहेकाे बताए।
अर्थमन्त्री खनालले अहिले लगानीको वातावरण बन्दै गएको बताए। ‘कम मूल्यवृद्धि नेपालको इतिहासमा पहिलो पटक हो, यो आम उपभोक्तालाई राहत हो, आर्थिक गतिविधिमा विस्तार भएको छ, मुद्रा सञ्चिति बढेको छ, वित्तीय सत्तामा पुँजी सञ्चिति बढेको छ। तर लगानीको वातावरण भएन, सूचकको आधार हुनुपर्ने थियो,’ उनले भने, ‘अन्तरिम सरकार र निजी क्षेत्रको सहकार्यमा तत्काल राहत कार्यक्रम अघि सारेर कार्यान्वयनमा लगेको छ, जेनजी आन्दोलन पछिको समयमा केही आर्थिक गतिविधि विस्तार भएका छन्।’
उनले बुटवल पहिलेबाट औद्योगिक हब भएकाले त्यसलाई निरन्तरता दिनका लागि आग्रह गर्दै सरकारले गर्ने समन्वय अघि बढाउने बताए। बुटवलमा बिहीबारदेखि सुरु भएकाे प्रदर्शनी १७ गतेसम्म चल्नेछ। स्वदेशी उद्याेगको प्रवर्द्धन गर्ने उद्देश्यले प्रदशर्नी राखिएकाे अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिए।




