रामेछाप- मन्थली नगरपालिका-१ को आयोजना तथा खाँडादेवी मिडिया ग्रुपको सहजीकरणमा शनिबार ‘शिक्षण सिकाइ’ विषयक विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिक्षक, स्थानीय प्रतिनिधि र विभिन्न क्षेत्रका सरोकारवालाहरूको उत्साहपूर्ण सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) की केन्द्रीय सदस्य मानुषी यमि भट्टराई र शिक्षक चन्द्रसिंह धामीले सहभागीहरूलाई प्रभावकारी शिक्षण पद्धति, बालमैत्री सिकाइ वातावरण निर्माण र शिक्षकको भूमिकाबारे प्रशिक्षण दिएका थिए।
भट्टराईले नेपाल र नेपाली समाजको भविष्यप्रति आशा जगाउने जिम्मेवारी विद्यार्थी र शिक्षकको भूमिकासँग जोडिएको बताइन्।
उनले न्यूनतलब र चुनौतीपूर्ण अवस्थाबीच पनि बालबालिकाको सर्वाङ्गीण विकासमा समर्पित प्रारम्भिक बालविकास सहजकर्ताहरूको (ईसीडी शिक्षक) योगदान प्रशंसनीय रहेको बताउँदै सम्मानित शिक्षकहरूलाई बधाई दिइन्।
कार्यक्रममा शिक्षक यशाेदा भट्टराईले बालमैत्री सिकाइलाई सरल, रोचक र सहभागीमूलक बनाउने प्रक्रियामा शिक्षकको भूमिका निर्णायक हुने बताइन्।
कार्यक्रम वडा अध्यक्ष रामहरि पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगरप्रमुख लब श्रेष्ठ, नगरका प्रवक्ता गोपाल श्रेष्ठ तथा वडा अध्यक्षहरू राजन घिमिरे र नवीन कार्कीको आतिथ्यता रहेको थियो।



