‘काव्य साँझ : कल्प’ मा बाँसुरीको धुनसँगै गुन्जिए डा. लम्साल

हिमाल प्रेस १ पुष २०८२ १३:२४ | Tuesday, December 16, 2025
32
SHARES
‘काव्य साँझ : कल्प’ मा बाँसुरीको धुनसँगै गुन्जिए डा. लम्साल

काठमाडौँ- साहित्यकार डा. नवराज लम्सालको महाकाव्य ‘कल्प’ केन्द्रित ‘काव्य साँझः कल्प’ प्रस्तुति सम्पन्न भएको छ। ललितपुरको झम्सिखेलस्थित मोक्षमा सोमबार साँझ कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रम ए क्युब प्रमोसनले आयोजना गरेको हो। कार्यक्रममा डा. लम्सालले आफ्नो चौथो महाकाव्य ‘कल्प’ का हरफहरू सुनाए। उनलाई डा. निरञ्जन भण्डारीले बाँसुरीमा साथ दिइरहेका थिए। डा. भण्डारी ललित कला क्याम्पसका बाँसुरीका प्राध्यापक हुन्।

‘कल्प’ महाकाव्यमा प्रकृति, संस्कृति र मानवताको त्रिवेणी रहेको समीक्षकहरूको विश्लेषण छ। कार्यक्रममा वैश्विक चेतनाको भविष्यमुखी महाकाव्य मानिएको ‘कल्प’ का हरफहरूसँग दर्शक झुमेका थिए। डा. लम्सालले केही काव्यका र केही निजी सन्दर्भहरू सुनाइरहँदा दर्शकदीर्घा निकै रोमाञ्चित भएको थियो।

बाँसुरीसहित महाकाव्य लिएर डा. लम्साल मञ्चमा पहिलोपटक प्रस्तुति दिएका हुन्। लामो समय रेडियो प्रसारणमा बिताएका डा. लम्सालले कविता वाचन गरिरहँदा धेरैले उनलाई रेडियो नेपाल र बिबिसीमा सुनेका ती दिनहरूको याद गरे।

काव्य साँझमा साहित्य, शिक्षा र संस्कृति क्षेत्रका अगुवाहरूसँगै विभिन्न पेसा र व्यवसायका विशिष्ट व्यक्तित्वको बाक्लो उपस्थिति थियो। साहित्यकार डा. लम्साल साहित्य र आधुनिक सञ्चारका अगुवा मानिन्छन्। उनका चार महाकाव्यसहित १० पुस्तक प्रकाशित छन्।  रासस

प्रकाशित: १ पुष २०८२ १३:२४ | Tuesday, December 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast