काठमाडौँ- निर्देशक ज्ञानेन्द्र देउजाले काभ्रेको पनौतीबाट ‘झिँगेदाउ २’ को छायांकन सुरु गरेका छन्। सोमबार (आज) शुभ मुहूर्त फिल्मको छायांकन सुरु गरिएको निर्देशक देउजाले बताए।
६० दिनको तालिकासहित फिल्म पनौतीपछि काठमाडौँ, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङमा छायांकन गरिनेछ। फिल्म विष्णु घिमिरे ‘कल्पित’ ले छायांकन गर्नेछन्।
फिल्मको पहिलो भागको अन्त्यबाट नै कथा सुरु अगाडि बढ्ने निर्देशक देउजाले बताए। फिल्मको लगानी तीन करोड तोकिएको छ।
फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुसाल, अभय राज बराल, आशिष पुरुषलगायत कलाकारको अभिनय रहनेछ।
निर्देशक देउजाकै कथा रहेको फिल्मको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन्।
फिल्म रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मित्र डि गुरुङको सम्पादन, इश्वर घिमिरेको प्रोडक्सन म्यानेजर, चन्द्र भण्डारी मुख्य सहायक निर्देशक, पासाङ टि शेर्पा र मानिक पाख्रिन कला निर्देशनमा बन्नेछ।
सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्म कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण हुनेछ।



