काठमाडौँ- वैकल्पिक शक्तिको वकालत गर्ने तीन नेता एक ठाउँमा उभिएपछि समर्थकहरूमा उत्साह छाएको छ। जेनजी आन्दोलनपछि परम्परागत दलहरूको विकल्पमा वकालत गर्नेहरू एक ठाउँमा आउन दबाब थियो।
त्यही दबाबका बीच वर्तमान सरकारका ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरपालिका बालेन्द्र शाह ‘बालेन’ रास्वपामा समाहित भएर अगाडि बढेका छन्। केही दिनअघि बालेन रास्वपामा प्रवेश गरेका थिए भने कुलमान सोमबार आबद्ध भए। अब रवि, बालेन र कुलमानको आगामी बाटो एउटै बनेको छ।
रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गर्नुअघि उनीहरू दुवैले आआफ्नै पार्टी चलाउन खोजेका थिए। बालेनले देश विकास पार्टी (लौरो) र कुलमानको उज्यालो नेपाल पार्टी (बिजुलीको चिम) खोलेका थिए। उनीहरू रास्वपामै आएका छन्। यद्यपि बालेन र कुलमान दुवै संगठनबाट खारिएर राजनीतिमा आएका होइनन्। र्यापरबाट काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका बालेन सामाजिक सञ्जालमा लोकप्रिय छन्। लोडसेडिङ अन्त गरेको जस कुलमान माथि छ।
बालेनले रास्वपासँग आफू ‘भाबी प्रधानमन्त्रीको उम्मेदवार’का रूपमा लिखित सहमति गरेका छन्। फागुन २१ मा हुने निर्वाचनपछि रास्वपाले बालेनलाई प्रधानमन्त्रीको रूपमा अघि सार्नुपर्नेछ। उनी अहिले महानगरको मेयर मात्र हुन्। उनले प्रधानमन्त्री बन्ने सपना देख्नुलाई धेरैले महत्त्वाकांक्षीको ‘ट्याग’ भिराएका छन्।
राजनीतिक विश्लेषक मुमाराम खनाल बालेनको यो निर्णय ‘जोखिमपूर्ण’ भन्न रुचाउँछन्। उनको मुख्य पावर ‘सामाजिक सञ्जाल’ हो। सांगीतिक क्षेत्रका व्यक्ति भएकाले केहीले नजिकबाट चिनेको भए पनि अधिकांशले उनलाई सामाजिक सञ्जालबाटै चिन्ने मौका पाए। तर लोकप्रिय मत ल्याएर मेयर जितेको चार वर्ष नपुग्दै बालेन प्रधानमन्त्री ताक्दैछन्।
‘बालेनलाई प्रधानमन्त्री बन्न सकस छैन। उहाँले प्रतिनिधिसभामा जित्न सक्नुहुन्छ,’ रास्वपा नेता गणेश कार्की भन्छन्। अहिले बालेन वैकल्पिक शक्तिको आडमा देशको नेतृत्व गर्ने सोचमा छन्। तर यो सजिलो बाटो छैन।
बालेनले चुनाव लड्ने निर्वाचन क्षेत्र पनि निश्चित छैन। उनी परम्परागत राजनीतिक दलका शीर्ष नेतासँग टक्कर दिने योजनामा छन्। ‘उहाँ केपी ओलीकै क्षेत्रबाट चुनाव लड्ने योजनामा हुनुहुन्छ। तर निश्चित भने भएको छैन,’ बालेन निकट स्रोतले भन्यो। बालेनका लागि चुनाव जित्न मोफसल कतिको सहज होला त्यो हेर्न बाँकी छ।
यसअघिका दुई निर्वाचनमा ओलीले अत्यधिक बहुमतले चुनाव जितेका हुन्। गत चुनावमा २८ हजार ५७६ मतान्तरले ओली झापा-५ बाट निर्वाचित भएका थिए। ओली फेरि झापा-५ बाटै लड्ने योजनामा छन्। संख्यात्मक हिसाबले हेर्ने हो भने पनि झापामा ओली बलिया छन्।
बालेनको सम्भावना अन्य क्षेत्रमा पनि छ। त्यसमा उनले रास्वपाको मत कति भित्र्याउन सक्छन्, त्यो पनि चासोको विषय छ। त्यसो त चुनाव जितेपछि पनि प्रधानमन्त्रीको ढोका सहजरूपमा खुल्दैन।
संविधानत: ठूलो दलको नेता एवं बहुमत प्राप्त दलको नेता भएमा मात्र प्रधानमन्त्रीलाई सहज हुन्छ। मानौँ रास्वपा ठूलो दल भए पनि बहुमत नआएको खण्डमा अन्य शक्तिसँग तालमेल गर्नुपर्ने हुन्छ। चुनावअघि परम्परागत शक्तिसँग प्रतिस्पर्धा गरेका बालेनलाई चुनावपछि तालेमल गर्न सहज भने नभएको विश्लेषकहरू बताउँछन्।
किनभने विगतमा बालेनले रास्वपामाथि पनि प्रहार गरेका थिए। अहिले बालेननै रास्वपामा भित्रिएका छन्। बालेन अहिले रास्वपासँग पनि अन्तरघुलित छैनन्। न त निर्वाचन क्षेत्र नै तोकेका छन्। यही बेला भाबी प्रधानमन्त्रीका रूपमा अघि सर्दा चुनावी परिणाम नकारात्मक हुन सक्ने अर्का राजनीतिक विश्लेषक डम्बर खतिवडाको बुझाइ छ।
‘उनी सेलिब्रेटी हुन्। महानगर चलाएजस्तो सजिलो छैन, प्रधानमन्त्री चलाउन। जनताले त्यो पाटो पनि हेर्छन्,’ खतिवडा भन्छन्। महानगरमा पनि बालेनले गरेका अधिकांश योजना पूरा भएका छैनन्। स्थानीय तहको निर्वाचनअघि बालेन मेलम्चीको पानीको विकल्पका कुरा गर्थे भने काठमाडौँको फोहोर व्यवस्थापनका लागि उपत्यकाबाहिर लानु नपर्ने तर्क गर्थे। तर ती विषयमा अहिलेसम्म उनको आँखा गएको छैन।
मेयर हुनुपूर्व सिमेन्टेट निर्माण संरचनाको विरोध गर्ने बालेनले मेयर बनेपछि पनि निरन्तरता दिए। मेयरका प्रतिबद्धता समेत पूरा नगरेका उनलाई प्रधानमन्त्री बन्न सकसपूर्ण रहेको राजनीतिक विश्लेषकहरू बताउँछन्।
अँध्यारो हटाएको जस लिइरहेका कुलमान
कुलमान वैकल्पिक राजनीतिको केन्द्रमा छन्। वर्तमान सरकारका ऊर्जामन्त्री समेत रहेका कुलमान यसअघि दुई पटक नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक बने। केपी शर्मा ओलीले उनलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि सरकारको चर्को आलोचना भएको थियो। जेनजी आन्दोलन लगत्तै मन्त्री बन्ने अवसर पाएका कुलमान महत्त्वाकांक्षी योजनाका अगाडि आएका छन्।
कुलमानका अँध्यारो पक्षको त्यति चर्चा हुँदैन। प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले संस्थाभित्र गरेको मनोमानी, हाइड्रोपावर कम्पनी सञ्चालकमाथि लगाउने गरेको अंकुश र व्यक्तिकेन्द्रित निर्णय प्रक्रियाका विषय प्रायः बाहिर आउँदैनन्।
घिसिङ पहिलोपटक माओवादी सरकारमा भएका बेला प्राधिकरणको निर्देशक बनेका थिए। त्यसैले उनलाई माओवादीले आफ्नो ठानेको थियो। माओवादी नेताहरूले कुलमानलाई आफूहरूले अवसर दिएको तर अहिले आएर गुन बिर्सिएको भनेर आलोचना गर्न थालेका छन्। कतिपय त माओवादीले कुलमानलाई देखाएर भोट माग्दै आएको बताउँछन्। यद्यपि कुलमानले अर्कै बाटो लिइसकेका छन्।
कुलमान र बालेन दुवै राजनीतिक संगठनबाट राजनीतिमा उठेका पात्र होइनन्। यिनीहरूको सांगठनिक बल के हो भन्ने पनि अन्योल छ। त्यसैले पनि उनीहरूमाथि राजनीतिक महत्त्वाकांक्षा बढी राखेको टिप्पणी हुन थालेको छ।
बालेन र कुलमान सामाजिक सञ्जाल र जनमानसको एउटा ठूलो हिस्सामा ‘नायक’ का रूपमा चिनिन्छन्। बालेनको सकारात्मक कार्य काठमाडौँको अव्यवस्थित संरचना भत्काएर नयाँपन दिने प्रयास हो भने कुलमानले लोडसेडिङ अन्त्य गर्न सफल भए।
यही लोकप्रियताको जगमा उभिएर उनीहरू राजनीतिक शक्ति सञ्चय र मोर्चाबन्दीको बाटोमा लागेका हुन्। उनीहरूले के बुझ्नुपर्छ भने कर्मचारीतन्त्र र परम्परागत राजनीतिक दलहरूको चक्रव्यूह चिर्न ‘सेलिब्रेटी क्रेज’ पर्याप्त हुँदैन, यसका लागि ठोस राजनीतिक दर्शन, सांगठनिक संरचना र दीर्घकालीन योजना चाहिन्छ। यी तीन कुरामा त्यति सबल नरहेकाले उनीहरूका लागि आगामी यात्रा निकै जटिल देखिन्छ।





