काठमाडौँ- आज मंसिरको पहिलो शनिबार। सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ। जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।
हेरौं, यो साता कहाँ के के हुँदैछ?
भुवनहरि सिग्देलको उपन्यास ‘मनस्विनी’ विमोचन
आज वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलको उपन्यास ‘मनस्विनी’ को विमोचन हुँदैछ। कार्यक्रम कमलादीस्थित नेपाल प्रज्ञा प्रतिस्ठानको पारिजात कक्षमा दिउँसो २ बजे सुरु हुनेछ। कार्यक्रममा वक्ताका रुपमा समीक्षक महेश पौड्याल र डा. अर्चना थापाले पुस्तकमाथि विमर्श गर्नेछन्। पुस्तक पेज टर्नरले प्रकाशन गरेको हो।
बबरमहलमा फोटो केटिएमकाे छैटौँ संस्करण प्रदर्शनरत
बबरमहलस्थित कला परिषद् मा अन्तर्राष्ट्रिय फोटोग्राफी महोत्सव ‘फोटो काठमाडौँ’ को छैटौँ संस्करण चलिरहेको छ। महोत्सवमा नेपाली फोटोग्राफर तथा फिल्म निर्माताहरूका साथै स्यान्टियागोदेखि लुबुम्बासी र क्विटोदेखि डकारसम्मका ३० भन्दा बढी नेपालीसहित ग्लोबल साउथका कलाकारको सिर्जना राखिएको छ। प्रदर्शनीमा विभिन्न विषयवस्तुमा छलफल, गोष्ठी पनि चलिरहेको छ। कात्तिक २८ देखि सुरु भएको प्रदर्शनी यही मंसिर २८ सम्म चल्नेछ।
कान्तिपुर थिएटरमा ‘महारानीको जात्रा’
गैरीधारा नक्सालस्थित कान्तिपुर थिएटरमा कात्तिक २४ देखि नाटक ‘महारानीको जात्रा’ मञ्चन भइरहेको छ।
कान्तिपुर फिल्म एकेडेमीको प्रोडक्सनमा बनेको नाटकका परिकल्पनाकार तथा निर्देशक दिपल बराल हुन्। नाटक मंसिर २० सम्म मञ्चन हुनेछ। रमेश पुरी निर्माता रहेको नाटक बुधबार बाहेक साताको प्रत्येक दिन साँझ ५ बजे मञ्चन हुनेछ। आज शनिबार दुई सो छ, दिउँसो १ बजे र साँझ ५ बजे।
नाटकमा कलाकारका रुपमा उषा रजक, राज न्यौपाने, सुहाना आचार्य, निकिता आचार्य, दिपेश गजुरेल, विकल्प ओली, ज्योति लामा, समीर शर्मा, विशाल कार्की, गोविन पौडेल, श्रीधर गौतम, प्रयास खत्री, विमल यादव, मनोज तामाङ, बिरान दहनी, स्वेता चौलागाईं र कुशल बास्कोटाले अभिनय गरेका छन्। यी सबै कलाकार कान्तिपुर फिल्म एकेडेमी र थिएटरका विद्यार्थी तथा सदस्य हुन्।
मण्डला थिएटरमा ‘मिलारेपा’
थापागाउँस्थित मण्डला थिएटरमा कात्तिक १८ देखि नाटक ‘मिलारेपा’ मञ्चनरत छ। नाटक तिब्बती बौद्ध धर्मगुरू मिलारेपाको जीवनकथामा आधारित छ। नाटकमा मिलारेपाको बाल्यकालदेखि तपस्या गरेर ज्ञान प्राप्तिसम्मको यात्रा प्रस्तुत गरिएको छ। मिलारेपाको भूमिकामा रूपेश लामाले अभिनय गरेका छन्। चाङ् ङ्योन हेरूकले लेखेको नाटकको नेपाली नाट्य रूपान्तरण रविन तामाङले गरेका हुन्। बुद्धि तामाङ र उमेश तामाङ संयुक्त निर्देशनमा मञ्चन भएको हो।
नाटक आगामी मंसिर २१ सम्म मञ्चन हुनेछ। नाटकमा अन्य कलाकार रमिला मोक्तान, विकाश लामा, सानु मार्यौं तामाङ, रस्मिला तामाङ, रिया लामा विजय तामाङ ब्लोन, बल बहादुर राई, मिलन कार्की, मणिकुलुङ राई, रोहनी लामा, पुस्कर कार्की, विश्व स्याङ्बो, सविता थिङ, सुनिता तामाङ दोङ, सुदिप खतिवडा, विजय टुवा, रत्न मंगगल, टसी लामा, अजय लामा, पवन कुमार गोले र सविता तामाङको अभिनय छ। नाटक सोमबारबाहेक हरेक दिन दिउँसो १ बजे र साँझ ५ः ३० बजे मञ्चन भइरहेको छ।
हलमा कुनकुन फिल्म?
पहिचान
मंसिर ५ देखि हलमा फिल्म ‘लडाईं पहिचानको’ प्रदर्शन भइरहेको छ। सामाजिक कथावस्तुमा आधारित फिल्मका निर्देशक भीम लामा हुन्। फिल्ममा प्रशान्त तामाङ, करिश्मा मानन्धर, धीरेन शाक्य, प्रेम सुब्बालगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको एफक्युब सिनेमाज, बिएसआर मुभिज र रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।
विक्ड फर गुड
हलिउड फिल्म ‘विक्ड फर गुड’ नेपालमा प्रदर्शन भइरहेको छ। जोन एम. चु निर्देशित फिल्म पारिवारिक जनरामा बनेको छ। फिल्ममा सिन्थिया एरिभो, एरियाना ग्रान्डे, जोनाथन बेलीलगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, दरबार सिनेम्याक्स, सिभिल मल, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मलमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बिएसआर मुभिजमा फिल्म चलिरहेको छ।
जारी २
उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘जारी २’ कात्तिक २१ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्ममा १० वर्षे द्वन्द्वले एक परिवारमा पारेको असरलाई सांस्कृतिक र भावनात्मक ढंगले प्रस्तुत गरिएको छ। फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू र सिर्जना निङ्लेखुलगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको सिभिल मल, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर, छाया सेन्टरमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज फिल्म ‘जारी २’ चलिरहेको अन्य हल हुन्।
मन बिनाको धन
टंक बुढाथोकी निर्देशित फिल्म ‘मन बिनाको धन’ पनि कात्तिक २१ देखि नै हलमा प्रदर्शन भइरहेको छ। फिल्म बाल गायक अशोक दर्जीको वास्तविक जीवनमा आधारित कथामा आधारित छ। बालगायक दर्जीको संघर्ष, सफलतामार्फत शिक्षामूलक सन्देश प्रस्तुत गरिएको छ। गायक दर्जीसँगै फिल्ममा कलाकार रमा थपलिया, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी र बिना राउतको अभिनय गरेका छन्।।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको लबिम मल, सिभिल मल, सिटी स्क्वायर मल र भाटभटेनी भक्तपुरमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिजमा फिल्म ‘मन बिनाको धन’ चलिरहेको छ।
परान
दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको फिल्म ‘परान’ यही कात्तिक १४ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा छन् नीर शाह। पारिवारिक कथामा बनेको फिल्मले सन्तानकै काखमा प्राण त्याग्न चाहाने बाआमाको कथा भनेको छ। फिल्ममा सहायक कलाकारमा बुद्धि तामाङ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, बाल कलाकार आर्यदीप आचार्यको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, छाया सेन्टर र भाटभटेनी भक्तपुरमा फिल्मको ३८ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘परान’ चलिरहेको अन्य हल हुन्।
जेरी अन टप
असोज ३१ देखि हलमा नेपाली फिल्म ‘जेरी अन टप’ प्रदर्शन भइरहेको छ। फिल्ममा प्रेम कथासहित हिमाल आरोहण गर्नेको कथा समेटिएको छ। फिल्ममा अनमोल केसी, जसिता गुरुङ र आँचल शर्मा मुख्य भूमिकामा छन्। फिल्मका निर्देशक सुयोग गुरुङ हुन्।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, सिटी स्क्वायर मल र लबिम मलमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, एफक्युब सिनेमाजमा फिल्म ‘जेरी अन टप’ चलिरहेको छ
प्रेड्याटोर ब्याडल्यान्डस
अंग्रेजी फिल्म ‘प्रेड्याटोर ब्याडल्यान्डस’ नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन, एडभेञ्चर रथ्रिलर जनरामा बनेको फिल्मका निर्देशक डान ट्रानटेनवर्ग हुन्। फिल्ममा एले प्यानिङ, डिमिट्रियस सुस्टरङ कोलोआमाटांगीलगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, लबिम मल र छाया सेन्टरमा फिल्मको सो छ।



