काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले २०५६ सालदेखि परीक्षा दिन छुटाएका स्नातक र स्नातकोत्तरका विद्यार्थीलाई एकपटक मौका दिन त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई तयारी गर्न निर्देशन दिएका छन्। मन्त्री पुनको निर्देशनपछि त्रिविले परीक्षाको रुटिन सार्वजनिक गर्ने तयारी गरेको छ।
साथै त्रिविलाई वैशाखमा सम्पन्न स्नातकका परीक्षाको नतिजा तत्काल प्रकाशन गर्न पनि मन्त्री पुनले निर्देशन दिएका छन्। मन्त्री पुनका अनुसार त्रिविले परीक्षाको नतिजा ढिलो गरेको र विद्यार्थीहरू निराश बनेको गुनासो आएको छ। ‘त्रिविमा परीक्षाको नतिजा समयमै प्रकाशन गर्न निर्देशन गइसकेको छ। त्रिविले काम गर्दैछ तर केही पुराना छुटपुट विषयमा ढिलाइ भइरहेको छ,’ उनले भने।
पुराना विद्यार्थीका लागि मौका परीक्षा सञ्चालन गर्न तयारी भइरहेको पनि उनले जानकारी दिए। ‘रुटिन निकाल्न त्रिविले ढिलो गरेको रहेछ। मैले छिटो निकाल्न भनेको छु, सायद यो हप्ताभित्र आउला,’ उनले भने।
पुनले आफू मन्त्री भएपछि विज्ञान र प्रविधिमा फोकस गर्न नपाएको पनि बताएका छन्। मन्त्री पुनले भने, ‘म विज्ञान र प्रविधिमा फोकस हुनुपर्ने हो तर अरू कामका झमेलाले गर्दा त्यसतर्फ समय दिन सकिरहेको छैन। बाहिरबाट प्रविधिमा फोकस भयो भन्छन् तर त्यस्तो होइन। गर्न खोज्दा पनि काम गर्न सकिरहेको छैन।’



