संसद् पुनर्स्थापनाको माग गर्दै एमालेले गर्‍यो सर्वोच्चमा रिट दायर

हिमाल प्रेस ९ मंसिर २०८२ २१:३९
4
SHARES
संसद् पुनर्स्थापनाको माग गर्दै एमालेले गर्‍यो सर्वोच्चमा रिट दायर नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ– नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

एमालेको संसदीय दल (विघटित प्रतिनिधिसभा)को तर्फबाट महेश बर्तौला र सुनिता बरालले असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुन:स्थापनाको मागसहितको रिट निवेदन सर्वोच्चमा दायर गरेका हुन्।

त्यस्तै रिट निवेदनमा प्रतिनिधिसभाको सदस्य नभएको, सर्वोच्च अदालतको प्रधानन्यायाधीश भइसकेको व्यक्ति, कुनै राजनीतिक दलको संसदीय दलले समर्थन नगरेको, धारा ७६ तथा धारा १३२(२) विपरीत गैरसंवैधानिक तवरले नियुक्त भएका प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रथम दृष्टिमै असंवैधानिक भएकाले नियुक्ति बदर गर्न समेत माग गरिएको एमाले नेता महेश बर्तौलाले जानकारी दिए।

साथै सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपश्चात विपक्षीहरूबाट भए गरेका गैरकानूनी एवम् असंवैधानिक सम्पूर्ण काम कारबाही, निर्णय, नियुक्तिहरू समेत बदर गर्न माग गरिएको उनले बताइन्।

त्यसै गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिइसकेको अवस्थामा नयाँ सरकार गठनको लागि संविधानको धारा ७६ बमोजिमको प्रक्रिया प्रारम्भ गर्नु भनी राष्ट्रपतिको नाममा परमादेश जारी गर्न समेत माग गरिएको बर्तौलाले बताए।

उनले विषयवस्तुको गम्भीरता र संवेदनशीलतालाई मध्यनजर गरी प्रस्तुत विषयमा शीघ्र निर्णय हुने विश्वास रहेको उल्लेख गरे।

प्रकाशित: ९ मंसिर २०८२ २१:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast