उमा छेत्री यसरी बनिन् महिला क्रिकेटको प्रेरणा

हिमाल प्रेस २५ कार्तिक २०८२ १९:००
8
SHARES
उमा छेत्री यसरी बनिन् महिला क्रिकेटको प्रेरणा तस्बिरः इमानुयल योगिनी/द हिन्दू

उमा छेत्रीको पहिलो एकदिवसीय विश्वकपमा चयन अन्तिम समयमा भएको थियो। यास्तिका भाटियाको चोटपछिको उनले प्रतिस्थापक खेलाडीका रूपमा टोलीमा स्थान पाएकी थिइन्। न्युजिल्यान्डविरुद्धको निर्णायक खेलमा विकेटकिपर ऋचा घोष घाइते भएपछि उमालाई खेलबीचमै फिल्डमा उतारिएको थियो।

उनकी आमा दीपा छेत्री गत सेप्टेम्बर ३० मा गुवाहाटीस्थित बारसापारा रंगशालामा भारतको पहिलो खेल हेर्न पुगेकी थिइन्। त्यतिबेला उनले भारतीय कप्तान हरमनप्रीत कौरसँग भेट गरेकी थिइन्। ‘मैले प्रशिक्षकहरूसँग कुरा गरेँ र हरमनप्रीत कौरलाई समेत भनेँ विश्वकप घरमै राख्नैपर्छ’, दीपाले भनेकी थिइन्। हरमनप्रीतले साँच्चै विश्वकप घरमै राखिन्।

भारतले आइतबार दक्षिण अफ्रिकालाई फाइनलमा हराउँदै आफ्नो पहिलो महिला एकदिवसीय विश्वकप जिजेको छ। दीपा मुम्बईको डीवाई पाटिल रंगशालामा उपस्थित थिइन्- जहाँ उनी छोरी उमालाई विजयको पदक ग्रहण गरेको साक्षी बनिन्।

उमाको पहिलो एकदिवसीय विश्वकपमा सहभागिता अप्रत्यासित थियो। उनले यास्तिका भाटियाको चोटपछि अवसर पाएकी थिइन्। न्युजिल्यान्डविरुद्धको निर्णायक खेलमा ऋचा घोषको स्थानमा ‘विकेट किपिङ’ गरिन्। तीन दिनपछि स्मृति मन्धानाले उनलाई बंगलादेशविरुद्धको अन्तिम लिग खेलअघि उनको पहिलो एकदिवसीय क्याप प्रदान गरिन्। उमाका बाल्यकालीन प्रशिक्षक महबुब आलमका अनुसार उमामा ठूलो परिवर्तन आएको छैन।

‘आज पनि उनी एकदमै विनम्र छिन्। तपाईं हाम्रो सहरमा आउनुहोस्, उनी त्यही पुरानो व्यवहारमै भेटिन्छिन्। भारतीय क्रिकेटमा धेरै पैसा आउँछ, जसले कसैलाई पनि विचलित पार्न सक्छ। तर उमाले अनुशासन र विनम्रता कहिल्यै छोडिनन्’, आलम भन्छन्। पाँच दाजु भाइबहिनीमध्ये कान्छी उमा असमको बोकाखाट जिल्लानजिकै पर्ने कन्धुलीमारी गाउँकी हुन्। गाउँमा बेलाबेलामा बाढीले दु:ख दिन्छ।

उमाको उनको क्रिकेटसँगको सम्बन्ध एक दुर्गा पूजाको मेलाबाट किनेको प्लास्टिक ब्याट र बलबाट सुरु भएको थियो। छिमेकका केटासँग खेल्दै उनी बोकाखाटको स्थानीय मैदानमा तालिम लिन थालिन्, जहाँ आलम र राजा रहमान बालबालिकालाई प्रशिक्षण दिन्थे। ‘उनी चप्पल लगाएर हिँड्दै बोकाखाट हाइस्कुल आउँथिन्। खेल सामग्री किन्न सक्ने अवस्था थिएन। हामीसँग जे उपलब्ध थियो, त्यही प्रयोग गर्थ्यौँ’, आलम सम्झन्छन्।

तस्बिरः द गेट्टी इमेजेज्/द हिन्दू

उमालाई सानो उमेरमै परिवारको साथ त थियो तर आर्थिक अवस्था कमजोर थियो। परिवारको मुख्य आम्दानीको स्रोत खेतीपाती थियो। ‘म सधैँ सोच्थेँ— छोरीले पनि छोराले गर्नसक्ने सबै काम गर्न सक्छन्। त्यसैले मैले उसलाई खेल खेल्न प्रोत्साहित गरेँ,’ दीपा भन्छिन्। समयसँगै उमाले असमका उमेर समूहको टोलीमा स्थान बनाउन थालिन्। सन् २०१६-१७ मा खराब प्रदर्शनका कारण उनलाई टोलीबाट निकालियो।

‘उनले मलाई भनिन्- म तपाईँसँग पूर्ण समय प्रशिक्षण लिन चाहन्छु। मैले भनेँ- त्यसो भए मेरो नियम पालना गर्नुपर्छ। उनी बिहान ५:३० बजे खेतको काम सकेर मैदानमा आउँथिन् र विद्यालयमा पढाइसँगै अभ्यास पनि गर्थिन्,’ आलम भन्छन्।

असमका लागि खेल्दै उनले आफ्नो सीप निखारिन्। एकपटक बाढीले उनको जुत्तासमेत बगेका थिए। त्यसपछि उनले भारत ‘ए’ टिममा स्थान पाउँदै सन् २०२३ को एसीसी महिला टी-२० इमर्जिङ टिम्स एसिया कपमा भाग लिइन्।

भारतलाई जिताएर फर्किँदा गाउँलेले उनलाई भव्य स्वागत गरे। ‘हामीले उनको घरदेखि स्थानीय मैदानसम्म र्‍याली निकालेका थियौँ। विभिन्न क्लब र संस्थाका मानिसहरूले असमको परम्परागत फुलाम गामुसा ओढाएर उनलाई सम्मान गरे,’ आलम सम्झन्छन्।

भारत ‘ए’ बाट फर्केपछि उमाले आफ्ना प्रशिक्षक आलमको अकादमीका लागि गुणस्तरका नेटहरू उपहार दिइन्- वर्षौँको निःशुल्क प्रशिक्षणप्रति कृतज्ञताको प्रतीकस्वरूप।

उमा पछिल्ला दुई वर्षदेखि महिला प्रिमियर लिगमा खेल्दै आएकी छिन्। उनी बीसीसीआईको वार्षिक ‘ग्रेड सी’ करारमा पनि परेकी छिन्। यसले उनको परिवारको आर्थिक अवस्था सुधार गरेको छ।

‘आज पनि हामी खेती गर्छौँ, तर बिक्रीका लागि होइन, आफ्नै खपतका लागि। हाम्रो वार्षिक आम्दानी डेढ लाख जति भारतीय रुपैयाँ हुन्छ,’ उनका दाइ विजय भन्छन्। परिवारका अरू सदस्यहरू मजदुरी, हार्डवेयर पसल र रिक्सा चलाएर गुजारा गर्छन्।

उमाले बुबा लोकबहादुर छेत्रीको उपचारमा पनि सहयोग गरेकी छिन्। उनका बुबा उच्च रक्तचाप र मधुमेहबाट पीडित छन्।

पूर्व असम महिला क्रिकेटर डा. मञ्जु सी दासका अनुसार सन् २००६ मा असम महिला क्रिकेट संघ असम क्रिकेट संघसँग गाभिएपछि महिला क्रिकेटमा ठूलो सुधार आयो।

‘पहिले हामी राज्यको प्रतिनिधित्व गर्दा आफ्नै खर्चमा जान्थ्यौँ। अहिले संरचना र वित्तीय अवस्था दुवै सुधारिएका छन्। अहिले सबैजना उमातिर हेर्छन्। अभिभावकहरू छोरीलाई खेलकुदतिर पठाउन हिच्किचाउँदैनन्,’ मञ्जु भन्छिन्।

असम क्रिकेट संघले महिला क्रिकेटलाई प्रोत्साहन गर्न नि:शुल्क प्रशिक्षण, जिल्ला स्तरका खेलाडीका लागि मासिक एक हजार रुपैयाँ प्रोत्साहनजस्ता योजना ल्याएको छ।

मुम्बई इन्डियन्सकी खेलाडी जिन्तिमानीले भन्छिन्, ‘जब हामी दुवै (उमा र म) डब्ल्यूपीएल खेल्यौँ। त्यसपछि असममा धेरै केटीहरूले क्रिकेट खेल्न थाले। उमाले भारतका लागि खेल्न थालेपछि झनै बढी केटीहरू यस खेलतिर आकर्षित भएका छन्।’

बोकाखाटमा सन् २००६ बाट मात्रै केटीहरूले औपचारिक रूपमा क्रिकेट खेल्न थालेका थिए। अहिले त्यहाँ महिला खेलाडीको चारपाँच टोली बनाउन सकिन्छ। ‘कहिलेकाहीँ हामी अन्य जिल्लाका टोलीमा पनि आफ्ना छोरीहरू पठाउँछौँ। उमाको योगदान यसमा ठूलो छ। उनका कारण गाउँका १५-२० केटीहरू खेलमा आएका छन्। वास्तवमा केटाहरू पनि उनलाई देखेर प्रेरित भएका छन्,’ प्रशिक्षक आलम गर्वका साथ भन्छन्।

भारतको ऐतिहासिक फाइनलमा उनले नखेले पनि ५० ओभरको विश्वकपमा डेब्यु गर्ने र उत्तरपूर्वी भारतबाट पहिलो विश्वकप विजेता बन्ने उपलब्धिले उमालाई असम महिला क्रिकेटको प्रतीक बनाएको छ।

स्पोर्ट्स स्टार द हिन्दूबाट

प्रकाशित: २५ कार्तिक २०८२ १९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast