मंसिर १४ गतेदेखि दाेस्राे क्यानन ए साइड फुटबल प्रतियाेगिता हुने

हिमाल प्रेस १२ मंसिर २०८२ १६:२५ | Friday, November 28, 2025
14
SHARES
मंसिर १४ गतेदेखि दाेस्राे क्यानन ए साइड फुटबल प्रतियाेगिता हुने

बुटवल- बुटवल-८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता २०८२ हुने भएको छ। फुटबल खेललाई ब्राण्डको रूपमा स्थापित गरी खेलाडी उत्पादन गर्ने उद्देश्य सहित यहीँ मंसिर १४ गते आइतबारदेखि प्रतियोगिता गर्न लागिएको हो।

शुक्रबार विद्यालयले पत्रकार सम्मेलन गरी ‘सँगै हामी सक्छाैँ’ भन्ने नारा सहित प्रतियाेगिता गर्न लागिएकाे जानकारी गराएकाे हाे। प्रतियोगितामा २७ विद्यालयका ३० टिमबीच प्रतिष्पर्धा हुने विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए।

उनले पहिलो संस्करणको सफलताबाट प्रेरित भएर यो वर्ष झनै सुदृढ र व्यवस्थितरूपमा प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। उनले विद्यालयले फुटबल सहित चित्रकला, नृत्य तथा अन्य कुनै पनि अतिरिक्त क्रियाकलापकाे शुल्क नलिएकाे बताए।

विद्यालयका सहप्राचार्य विष्णुप्रसाद न्याैपानेले क्यानन स्कुलले जिल्लास्तरमै खेलकुदकाे विकास, खेलाडीकाे क्षमता अभिवृद्धि गर्दै खेलप्रति विद्यार्थीकाे आकर्षण बढाउन प्रतियोगिता गरिएकाे बताए। प्रतियोगितामा २६ संस्थागत र ४ सामुदायिक विद्यालयको सहभागिता रहने छ। १९ गतेसम्म चल्ने प्रतियोगिता सिद्देश्वरी माविको खेल मैदानमा सञ्चालन हुनेछ।

प्रतियोगितामा विजेता टिमले ५५ हजार ५५५, उपविजेताले ३३ हजार ३३३, उत्कृष्ट खेलाडीले ३ हजार, उत्कृष्ट गोलरक्षक र गाेल स्काेरलाई ३ हजार, हरेक खेलको म्यान अफ दिन म्याचले ५५५ रुपैयाँ प्राप्त गर्ने खेल संयोजक पवन बस्यालले जानकारी दिए।

गत वर्षको विजेता स्कलर्स होम बोर्डिङ स्कूल र नविन कदरबहादुर रीता मावि रहेका थिए। प्रतियोगिता सम्पन्न गर्न ५ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने विद्यालयका प्राचार्य भण्डारीको भनाइ छ। विद्यालयले पढाईसँगै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिएको छ। केही दिनमा लगतै कक्षा ४ देखि ७ सम्मका विद्यार्थीलाई चाइनिज भाषा पनि सिकाउने गरी कक्षा सञ्चालनको तयारीमा रहेकाे छ।

प्रकाशित: १२ मंसिर २०८२ १६:२५ | Friday, November 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast