नयाँ मतदाताको संख्या २ लाख ३९ हजार ९४० पुग्यो, एकैदिन थपिए ३० हजार

हिमाल प्रेस २७ कार्तिक २०८२ १०:४७ | Thursday, November 13, 2025
18
SHARES
नयाँ मतदाताको संख्या २ लाख ३९ हजार ९४० पुग्यो, एकैदिन थपिए  ३० हजार

काठमाडौँ- एकैदिन ३० हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। बुधबार (कात्तिक २६ गते) राति ८ बजेसम्म नयाँ मतदाताको कुल संख्या २ लाख ३९ हजार ९४० पुगेको निर्वाचन आयोगले जनाएको छ। बुधबार मात्रै ३० हजार ३७३ जना नयाँ मतदाता दर्ता भएका हुन्।

कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था रहेकाले अन्तिम दिनहरूमा नयाँ मतदाता थपिने दर तीव्र बन्दै गएको आयोगले जनाएको छ।

आयोगले आजदेखि राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। यसका लागि बुधबार रातिभर प्राविधिक तयारी र परीक्षण सम्पन्न गरिएको थियो।

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचन तयारीबारे छलफल गरेकी थिइन्। छलफलमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितका अधिकारीहरूले प्रधानमन्त्रीलाई आजदेखि राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता दर्ता प्रक्रिया सुरु हुने जानकारी गराएका थिए।

छलफलमा राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नवराज घिमिरे पनि उपस्थित थिए। उनले राष्ट्रिय परिचयपत्र वितरणका क्रममा संकलित जैविक विवरण निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको बताएका थिए।

प्रकाशित: २७ कार्तिक २०८२ १०:४७ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast