शिक्षक महासंघले भन्यो- हाम्रो लडाइँ पेसागत हकहितको हो, राजनीतिक दलका स्वार्थको होइन

हिमाल प्रेस २५ कार्तिक २०८२ १०:१२ | Tuesday, November 11, 2025
90
SHARES
शिक्षक महासंघले भन्यो- हाम्रो लडाइँ पेसागत हकहितको हो, राजनीतिक दलका स्वार्थको होइन

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनबाट कात्तिक २३ गते जारी भएको जानकारी तथा ध्यानाकर्षण पत्रप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

महासंघले सोमबार जारी विज्ञप्तिमा आफू विशुद्ध पेसागत संस्था रहेको र नेपाली शिक्षक-कर्मचारीको हकहित संरक्षण तथा विद्यालय शिक्षाको उन्नयनका लागि सक्रिय रहेको स्पष्ट गरेको छ।

महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ,‘ने.शि.महासंघ र यसका आबद्ध तथा सम्बद्ध संस्थाहरू शिक्षक-कर्मचारीका पेसागत मागमुद्दा र शिक्षाको विकासका पक्षमा पैरवी र पक्षीकरणका लागि खडा भएका हुन्। हामी मौजुदा संविधान, शिक्षा ऐन तथा श्रम ऐनले प्रदान गरेको ट्रेड युनियन अधिकार प्रयोग गरी पेसागत आन्दोलनमा मात्र संलग्न छौं।’

महासंघले पेसागत आन्दोलन र ट्रेड युनियन अधिकारको प्रयोगलाई राजनीतिक संलग्नता भनेर बुझ्नु वा अर्थ्याउनु गलत भएको बताएको छ। विज्ञप्तिमा भनिएको छ,‘ने.शि. महासंघ र यसका सम्बद्ध संस्थाहरू कुनै पनि राजनीतिक मुद्दा वा क्रियाकलापमा संलग्न छैनन्। आफ्नो कर्तव्यपथमा निष्ठापूर्वक लागेका शिक्षक-कर्मचारीलाई निरुत्साहित वा लाञ्छित नगर्न सम्बन्धित पक्षलाई आग्रह गर्दछौं।’

महासंघले संविधानले प्रदत्त ट्रेड युनियन अधिकारमाथि हस्तक्षेप गर्न वा बाधा पुर्‍याउने प्रयास भए सह्य नहुने चेतावनीसमेत दिएको छ। साथै, यस्ता घटनाबाट विचलित नहुन शिक्षक-कर्मचारीहरूलाई आग्रह गर्दै आफ्नो पेसागत कर्तव्य र अधिकारका पक्षमा दृढ रहन आह्वान गरेको छ।

यो पनि

शिक्षा मन्त्रालयले राजनीतिक दलसँग संलग्न शिक्षक, कर्मचारी, प्राध्यापक संघसंगठनलाई मान्यता नदिने

शिक्षामन्त्री पुनको निर्णयप्रति शिक्षक नेताहरू आक्रोशित, आन्दोलनमा उत्रने चेतावनी

संविधानले दिएको अधिकार खोसिँदैन तर शिक्षा क्षेत्रमा राजनीति सह्य छैन : शिक्षामन्त्री पुन

शिक्षामन्त्रीलाई एमाले निकट शिक्षक संगठनको चेतावनी- अधिकार खोस्ने प्रयास भए जस्तोसुकै मूल्य चुकाउन तयार छौं

प्रकाशित: २५ कार्तिक २०८२ १०:१२ | Tuesday, November 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast