काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री सोनलले मधेश प्रदेशसभामा पत्र पठाएर यसबारे जानकारी गराएका हुन्।
‘नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नका लागि मिति २०८२/०७/२२ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु,’ मुख्यमन्त्री सोनलले प्रदेश सचिवालयलाई पठाएको पत्रमा उल्लेख छ।
विश्वासको मत प्राप्त गरिसकेपछि मन्त्रालय बाँडफाँट गर्ने तयारीमा उनी रहेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेशसभा सदस्य सोनल जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा २९ असोजमा मुख्यमन्त्री नियुक्त भएका थिए।
१०७ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन उनलाई ५४ मत आवश्यक हुन्छ। सोनल लोसपा, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का ५६ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। यसमा जनमत पार्टीका १३ सांसद जोडिएका थिए।
तर, मुख्यमन्त्री नियुक्त भएकै दिन जनमत पार्टी विभाजन भएकाले उनले यो पार्टीका सबै सांसदको मत नपाउने स्थिति छ। निवर्तमान मुख्यमन्त्रीसमेत रहेका सतिशकुमार सिंह र प्रदेश सांसद त्रिभुवन साहले जनमत पार्टी टुक्रिएर बनेको जनस्वराज पार्टीको पक्षमा सनाखत गरेका थिए। यद्यपि सर्वोच्च अदालतले भने जनमत पार्टीको विभाजनलाई मान्यता दिइसकेको छैन।
जनस्वराज पार्टीमा खुलेका सिंह र साहले मुख्यमन्त्री सोनललाई विश्वासको मत दिने वा नदिने हालसम्म प्रस्ट गरेका छैनन्। त्यस्तै जसपा नेपालका प्रदेश सांसद सरोजसिंह कुशवाहा भ्रष्टाचार मुद्दा दायर भएर निलम्बित अवस्थामा छन्। जनस्वराज पार्टीमा खुलेका जनमतका दुई सांसदले समर्थन नजनाएको अवस्थामा विश्वासको मत प्राप्त गर्न सोनललाई एक मत अपुग हुन्छ।
एक–एक जना प्रदेश सांसद रहेका नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीले विश्वासको मत दिने दाबी लोसपाका नेताहरूले गरेका छन्। यी दुई सांसदले विश्वासको मत दिएको अवस्थामा मुख्यमन्त्री सोनलको पक्षमा ५५ मत हुनेछ। यो विश्वासको मत प्राप्त गर्न चाहिने आवश्यक संख्याभन्दा एक मत बढी हो।
सोनललाई समर्थन जनाएका उनको आफ्नो दल लोसपाका ८, जसपा नेपालका १९(एक निलम्बित), जनमत पार्टीका १३ (दुई जनस्वराज), माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसद छन्।




