रवि लामिछानेको मुद्दा न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा

हिमाल प्रेस २७ कार्तिक २०८२ ११:२८ | Thursday, November 13, 2025
40
SHARES
रवि लामिछानेको मुद्दा न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा फाइल तस्बिर

काठमाडौँ- सहकारी ठगी र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पेसीमा परेको छ।

उच्च अदालतको दैनिक पेसी सूची अनुसार न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा लामिछानेको मुद्दा तोकिएको हो। इजलास नं. १ मा लामिछानेको मुद्दासँगै छविराज जोशीको मुद्दा पनि सूचीबद्ध गरिएको छ।

गत साता उच्च अदालतले लामिछानेको मूल मुद्दाको प्रतिलिपि झिकाउन आदेश दिएको थियो। उक्त प्रतिलिपि प्राप्त भएपछि आजको पेसी तोकिएको अदालतले जनाएको छ।

पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गरी थुनामुक्त गर्न माग गरेका थिए। तर,जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाले गत साउन २६ गतेको सुनुवाइमा उनको रिहा माग अस्वीकार गरेका थिए।

सो आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन गरेका थिए। त्यसबारे गत साता सुनुवाइ गर्दै उच्च अदालतले जिल्ला अदालतबाट मुद्दाको प्रतिलिपि माग गरेको थियो।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने सहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ।

लामिछानेले आफ्नो हिस्साको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतका रूपमा दाखिला गरेर रिहा गर्न माग गर्दै अदालतमा निवेदन दिएका छन्।

प्रकाशित: २७ कार्तिक २०८२ ११:२८ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast