काठमाडौँ- नेपाली कांग्रेस सुधार अभियानका युवाले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्दै नियमित महाधिवेशन घोषणा र पार्टीका सबै तहमा युवाको समुचित प्रतिनिधित्वको माग गरेका छन्।
प्रदर्शनमा सहभागी युवाले ‘कांग्रेसलाई बन्धक बनाउन पाइँदैन’, ‘४० वर्षमुनि ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर’, र ‘केन्द्रीय नेताहरूको अकर्मण्यता कहिलेसम्म?’ भन्ने नारासहितका प्लेकार्ड बोकेका थिए। उनीहरूले पार्टी नेतृत्वमाथि महाधिवेशन नगरी संगठनलाई अनिश्चिततातर्फ धकेलेको आरोप लगाएका छन्।
अभियानका युवाले पार्टीका आगामी सबै तहका निर्वाचनमा ४० वर्षमुनिका व्यक्तिहरूलाई कम्तीमा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूले बीपी कोइराला, गणेशमान सिंह, शुभर्ण शम्शेर र किसुनजीजस्ता नेताहरूको नाममा आजका केन्द्रीय नेताहरूले संगठनलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिरहेको आरोप पनि लगाए।
यसैबीच, कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारका लागि तय गरिएको बैठक स्थगित भएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब बैठक मंगलबार (१८ गते) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
शुक्रबारका लागि तोकिएको बैठक पनि स्थगित भएपछि लगातार दोस्रोपटक कांग्रेस कार्यसमिति बैठक सारिएको हो।



