प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच भेटवार्ता, निर्वाचनबारे छलफल

हिमाल प्रेस १९ कार्तिक २०८२ २१:३०
8
SHARES
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच भेटवार्ता, निर्वाचनबारे छलफल

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच आज (बुधबार) शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए।

प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताइन्। त्यस क्रममा पूर्वराष्ट्रपति यादवले सबै राजनीतिक दल चुनावमा जानैपर्ने र चुनावबाट कोही पनि भाग्न नहुने धारणा राखे। उनले सरकारका तर्फबाट चुनावका लागि भइरहेको तयारी र विभिन्न पक्षसँग गरिएको संवादको सराहना पनि गरे।

पूर्वराष्ट्रपति यादवले २०७० सालमा आफू राष्ट्रपति हुँदा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा कसरी निर्वाचन सम्भव भएको थियो भन्ने विषयमा आफ्नो अनुभव सुनाएका थिए। त्यतिखेरको सुरक्षा अवस्था र भूराजनीतिक परिवेशका सम्बन्धमा पनि उनले चर्चा गरे। उनले सुरक्षा व्यवस्था सुदृढ गराउन सबै सुरक्षा निकायबीचको समन्वयमा जोड दिए।

दलहरूले पनि चुनावको अपरिहार्यता बुझेको कारण आउँदो फागुन २१ मा हुने चुनावमा सबैले भाग लिने कुरामा आफू विश्वस्त रहेको उनको भनाइ छ। उनले भने, ‘दलहरूलाई म पनि भनिरहेको छु चुनावको विकल्प छैन। चुनाव नगरी हुँदैन। अहिले यो प्रक्रियालाई कुनै पनि बहानामा अल्झाउनुहुँदैन।’ रासस

प्रकाशित: १९ कार्तिक २०८२ २१:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast