चैत–वैशाखमा सञ्चालन गर्नेगरी संसद भवन निर्माण कार्यलाई अघि बढाउनुपर्छ : सभामुख

हिमाल प्रेस ४ मंसिर २०८२ १६:५४
8
SHARES
चैत–वैशाखमा सञ्चालन गर्नेगरी संसद भवन निर्माण कार्यलाई अघि बढाउनुपर्छ : सभामुख

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको संघीय संसदका पदाधिकारीले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनको निरिक्षण गरेका छन्।

बिहीबार उनीहरुले संयुक्त रुपमा निर्माणाधीन संसद भवनको कार्यप्रगतिकाबारेमा जानकारी लिँदै निरीक्षण गरेका हुन्। निरीक्षणपछि संघीय संसदका पदाधिकारीहरूले निर्माणाधीन नयाँ संसद भवनमा केही गतिका साथ काम भइरहेको पाइएको प्रतिक्रिया दिए।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक चैत–वैशाखमा सञ्चालन गर्ने गरी निर्माण कार्यलाई अघि बढाउनुपर्ने बताए। राष्ट्रियसभा बैठक तत्काल बस्नका लागि अरु नै प्रबन्ध गर्नुपर्ने देखिएको उनले बताए। सभामुख घिमिरेले समयमा नै निर्माण सम्पन्न भए संसदीय गतिविधिलाई अघि बढाउन सहज हुने धारणा राखे।

त्यस्तै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिरभित्र राष्ट्रियसभाको अधिवेशन बोलाउने तयारी भइरहेकाले हालका लागि कृषि समितिको हलबाट सभा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। प्रतिनिधिसभाका लागि तत्कालै हल आवश्यक रहेकाले नयाँ संसद भवनको निर्माणलाई गतिका साथ अघि बढाउनुपर्ने बताए।

नयाँ संसद भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोज १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो। तोकिएको समयमा काम नसकिएपछि पछिल्लो पटक पाँचौँ पटकका लागि २०८२ पुस १६ गतेसम्म म्याद थप गरिएको छ। संघीय संसद्का दुवै सदन, संसदीय समितिहरू र संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लकसहितको नयाँ संसद् भवनको संरचना निर्माण भइरहेको छ।

प्रकाशित: ४ मंसिर २०८२ १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast