सामयिक चर्चा

कात्तिक २३ गते…

ध्रुवहरि अधिकारी २३ कार्तिक २०८२ ७:५०
4
SHARES
कात्तिक २३ गते… संसद्को संयुक्त बैठकमा सम्बोधन गर्दै तत्कालीन राजा वीरेन्द्र। फाइल तस्बिर रासस

२०४७ सालमा यो दिन अंग्रेजी पात्रोअनुसार ९ नोभेम्बर १९९० को दिन परेको थियो। त्यस दिन राजा वीरेन्द्रले नयाँ संविधान घोषणा गरेका थिए।

न्यायाधीश विश्वनाथ उपाध्याय-नेतृत्वको आयोगले मसौदा गरेको संविधानलाई कृष्णप्रसाद भट्टराई-नेतृत्वको अन्तरिम सरकारले अनुमोदन गरेर राजासमक्ष पेश गरेका थिए। नयाँ संविधानले निर्दलीय पञ्चायतको संविधान २०१९ लाई विस्थापित गरी बहुदलीय,संसदीय पद्धति स्थापित गरेको थियो। संविधान बनाउने आयोगका सदस्यमध्ये माधवकुमार नेपाल र उसबखतको मन्त्रिपरिषद् सदस्य नीलाम्बर आचार्यबाट ४७ सालयताको प्रगतिबारे निर्मम समीक्षा गर्न,गराउन सकिन्छ। देशको अधोगति भयो भन्नेहरूको चित्तबुझाउने हिसाबले उत्तर दिन उहाँहरूलाई आग्रह गर्नु अनुचित हुँदैन।

संयोग हो, ४६ सालको जन-आन्दोलनका ‘कमाण्डर’ गणेशमान सिंहको जन्म अंग्रेजी पात्रोअनुसार ९ नोभेम्बरकै दिन भएको रहेछ-सन् १९१५ मा। तर राजा वीरेन्द्रलाई भाइ-भारदारहरू र राजप्रासाद सेवाका सचिवगणले ‘लौहपुरुष’ गणेशमानजीकै जन्मदिन पारेर नेपाली जनतालाई संविधानको कोसेली दिन सिफारिस गरेका होलान् त? त्यसो भन्न सकिने ठाउँ छैन। किनभने श्री ५ को कार्यकारी अधिकार कटौती गरेर ‘संंवैधानिक राजा’ मा सीमित राख्नेगरी तर्जुमा भएको संविधान दरबारको आडमा मनपरी गर्न पल्किंदै आएकाहरूको लागि अभिशाप हुन गएको थियो। तिनले त तारिख थाहा पाएको भए बरु १/२ दिन नै भए पनि ढिलो गर्न हौस्याउने थिए होलान्। अभिलेखले देखाउँछन्, गणेशमानजीको त्याग-तपस्या-योगदान जनतालाई लोकतान्त्रिक अधिकार दिलाउनेतर्फको थियो, राजतन्त्र फाल्ने वा मास्ने किमार्थ थिएन। नेपालको भौगोलिक अवस्था बुझेको नेताको दूरदृष्टि त्यस्तो हुनु अपरिहार्य थियो। र,यो वास्तविकता उहाँलाई कमाण्डर मान्ने वामपन्थी नेता मनमोहन अधिकारी लगायत सबैलाई थाहा थियो,थाहा छ। प्रधानमन्त्री छँदा नै मनमोहनजीले एक विदेशी समाचारमाध्यमलाई दिएको अन्तरवार्तामा नेपालमा राजतन्त्र चिरकालपर्यन्त रहने संस्था हो भनेर स्वीकारेको तथ्य अन्य कम्युनिष्ट नेताहरूलाई थाहा नहुने कुरै भएन। आखिर मदन भण्डारीको चर्चित भाषणमा परेको राजतन्त्रको बुँदाबारे सबै वामपन्थी जानकार छन् नै।

नोभेम्बरको ९ तारिखलाई म आफैँसँग गाँसिएको एक प्रसङ्‌गको रूपमा पनि सम्झिन्छु। सन् १९८९ को घटना हो। बर्लिनको पर्खाल ढल्नु (खासमा ढालिनु) असाधारण घटना थियो। पूरा विश्वलाई चकित पार्ने समाचारको स्रोत बनेको थियो बर्लिन त्यस दिन। म घटनाक्रमलाई देखिजान्ने साक्षी-प्रत्यक्षदर्शी-भएको थिएँ। पर्खालको पश्चिमपट्टिको बर्लिनमा उभिएर।

त्यसै दिन साँझ मैले आफूले देखे-बुझेका कुरा बर्लिनबाट तार-फोनद्वारा बीबीसी लण्डनको नेपाली सेवाका श्रोतासमक्ष पुर्‍याएको थिएँ। बन्दोबस्त मिलाउने सम्पादक खगेन्द्र नेपाली। युरोपको मध्यमा एउटा ऐतिहासिक आन्दोलनको पहिलो दृश्य देखेको थिएँ। काकताली भनौँ,नेपाल फर्केको दुई महिनामै आफूलाई ४६ सालको आन्दोलनबारेका खबर बाँकी विश्वमा पुर्‍याउने पत्रकारको भूमिकामा पाएँ। पत्रकारिता प्रशिक्षण कसरी प्रभावकारी ढङ्‌गले गर्ने भन्नेबारेको तालिममा सामेल हुने क्रममा पश्चिम बर्लिनमा रहँदा सिङ्‌गै बर्लिन जागेको अभूतपूर्व दृश्य देखेको हुँ।

म नेपालबाट बर्लिन पुग्दा त्यो विभाजित शहर नै थियो-अर्थात् पूर्व र पश्चिम दुबैतिर थिए बर्लिन। पूर्वको बर्लिन कम्युनिष्ट शासन मातहतको पूर्वी जर्मनी नामक देशको राजधानी र पश्चिम बर्लिन थियो लोकतान्त्रिक अर्थात् पश्चिम जर्मनीको ऐतिहासिक महानगर। दोस्रो विश्वयुद्ध अन्त्य गरिँदा भएको शक्तिराष्ट्रहरूबीच सहमतिको परिणाम थियो त्यो। पश्चिम जर्मनीको राजधानी उतिखेर बोन नगरमा सर्‍यो। त्यस बखत जर्मनहरू विभाजनको पीडा सहन विवश भए। तर पछि त्यही स्थितिको अन्त्यको थालनी हुन पुग्यो बर्लिन पर्खालको भत्काइ। दशकौँ कम्युनिष्ट शासन भोग्न बाध्य पूर्वी जर्मनीका बासिन्दा अधैर्य भएका थिए। उकुसमुकुस पूर्व जर्मनीभर व्याप्त थियो। हजारौँले ज्यानको जोखिम उठाई पर्खाल नाघेर पश्चिम पुगेका थिए।

कतिपयचाहिँ बाँच्न सकेनन्। सन् १९८९ को नोभेम्बर लागेपछि हलचल बढेजस्तो आहट पश्चिमाका बर्लिनवासीले गरेका थिए। ९ तारिखमा त अग्लो पर्खाललाई पालो पहरा दिन खटिएका गार्डहरूले पश्चिम छिचोल्ने मूलढोका बन्द गरिदिनाले ठूलो जनसमूहले पर्खाल नै भत्काएर पश्चिम बर्लिन प्रवेश गर्‍यो। असाधारण दृश्य देखियो। आखिर पालो पहराले ढोका खुला नगरीकन धर पाएनन्। एकै समय,घन र हथौडालगायतका औजार प्रयोग गरेर (दुबै तर्फका) बर्लिनवासीले १२ फिट अग्लो र काँडेतारले घेरिएको पर्खाल भत्काइदिए। बर्लिनवासीहरू एक भए। र त्यही एकताको बलले एक वर्षभित्रैमा (३ अक्टोबर १९९०) जर्मनीको पुनःएकीकरण नै गराउन सफल भए।

कालान्तरमा १५५ किलोमिटर लामो पर्खालको नामो-निसान मेटियो। अहिले डेढ किलोमिटर जतिको खण्ड स्मारकको रूपमा राखिएको छ।

सन् १९६१ मा त्यो पर्खाल बनाउने कामको आरम्भ पूर्वी जर्मनीले सोभियत सहयोगबाट गरेको थियो। त्यस देशलाई पश्चिमा प्रभावबाट जोगाउन।

बर्लिनको पर्खाल ढल्नु अमेरिका र सोभियत संघबीचको शीतयुद्ध अन्त्य हुने सिलसिलाको थालनी हुन गयो। किनभने त्यो पर्खाल ढलेसँगै शीतयुद्धको अन्त्य भएको मानिन्छ। जे होस्,बर्लिन कम्युनिष्ट खेमा र लोकतान्त्रिक खेमाबीचको कल्पित सिमाना भएर रह्यो- सन् १९४५ देखि १९९० सम्म। सन् १९९१ मा गएर त सोभियत संघ नै विघटन भयो। त्यस ठाउँमा १५ नयाँ देश बनेका छन् जसमध्येको प्रमुख हो आजको रूस। त्यही रूस छिमेकी अचेल युक्रेनसँग लडाञीमा अल्झेको छ।

९ नोभेम्बरमा विश्वका अन्य भागमा अरू प्रकारका घटना भएका होलान्। सन्दर्भअनुसार तिनलाई केलाउने काम गर्दै जाउँला। अहिलेलाई यत्ति।

प्रकाशित: २३ कार्तिक २०८२ ७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast