काठमाडौँ- शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षामा सहभागी हुने उम्मेदवारलाई प्रवेशपत्र प्रिन्ट गर्न आग्रह गरेको छ।
आयोगले गत असोज १२ गते प्रकाशित विज्ञापन नं. ४४/०८२/८३ अनुसार दरखास्त फर्म भरेका उम्मेदवारलाई प्रवेशपत्र आयोगको अनलाइन पोर्टलमार्फत डाउनलोड गर्न आग्रह गरेको हो।
आयोगका अनुसार https://license.tsc.gov.np/मा गएर दरखास्त भर्दा प्रयोग गरिएको इमेल एड्रेस र पासवर्ड प्रयोग गरी लगइन गरेपछि ‘दरखास्त पेस गरेको विवरण’ ‘प्रवेशपत्र हेर्न यहाँ क्लिक गर्नुहोस्’ मा गई प्रवेशपत्र डाउनलोड गरी प्रिन्ट लिन सकिने छ।
आयोगले प्रवेशपत्रको प्रतिलिपि आफ्नै तर्फबाट उपलब्ध नहुने जानकारी दिँदै परीक्षामा अनिवार्य रूपमा प्रवेशपत्र र सरकारी निकायबाट जारी फोटोसहितको नागरिकता वा अन्य परिचयपत्रको सक्कल प्रतिलिपि ल्याउन अनुरोध गरेको छ।
यस्तै, पासवर्ड बिर्सिएको अवस्थामा पोर्टलमा रहेको Forgot password मा क्लिक गरी दर्ता गरिएको मोबाइल नम्बर राखेर सबमिट गर्दा प्राप्त हुने OTP प्रयोग गरी नयाँ पासवर्ड सेट गर्न सकिने आयोगले जनाएको छ। यो प्रक्रिया पूर्ण रूपमा नि:शुल्क हुनेछ।


