मेलम्ची खानेपानी समस्याबारे राजधानीका स्थानीय सरकार गम्भीर भएनन् : हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पा

हिमाल प्रेस २४ कार्तिक २०८२ १५:१७
2
SHARE
मेलम्ची खानेपानी समस्याबारे राजधानीका स्थानीय सरकार गम्भीर भएनन् : हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पा

काठमाडौँ- हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले विगतमा गरिएका सम्झौता कार्यान्वयन नगरेसम्म मेलम्ची खानेपानी वितरणमा देखिएको समस्या समाधान हुन नसक्ने बताएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सोमबार मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन पहल गरिदिन गरेको आग्रहपछि अध्यक्ष शेर्पाले उक्त कुरा बताएका हुन्। उनले आठ वर्षअघि नै सरकारले गरेको प्रतिबद्धता पूरा हुन नसकेको बताए।

हरेकपटक समस्या आउँदा पनि सरकारले कुनै चासो नदेखाएको गुनासो शेर्पाको छ। उनले भने, ‘आठ वर्षदेखि यो समस्या रहँदै आएको छ। सहमति कार्यान्वयन भएमा तत्काल पानी पठाउँछौँ।’ राज्य गैरजिम्मेवार बन्दा यस्तो समस्या आएको उनले बताए।

यसैगरी काठमाडौँ उपत्यकाका पालिकाहरूले पनि कुनै चासो नदिएको उनको छ। मेलम्चीको खानेपानीबारे काठमाडौँ उपत्यकाका स्थानीय सरकार गम्भीर नभएको आरोप शेर्पाको छ। उनले भने, ‘समस्या समाधानका लागि मेरो प्रयास जारी रहेको छ। पानी खपत गर्ने राजधानीका स्थानीय सरकार  गम्भीर भएको देखिएन।’

शेर्पाका अनुसार आयोजनाले लिएको जग्गा तथा घर भाडा, विगतको निर्माण व्यवसायी सीएमसीका सामान आपूर्तिकर्ताले पाउनुपर्ने रकम भुक्तानी गर्नुपर्ने, मेलम्ची बजारदेखि मेलम्चीघ्याङसम्मको सडक निर्माण गरिनुपर्ने, मेलम्ची नदीबाट पथान्तरणपछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणका आधारमा काठमाडौँ उपत्यकाको खानेपानी लि।ले बिक्री गरेबापतको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने माग गाउँपालिकाले राख्दै आएको छ। गाउँपालिकाको यस्ता मागमा सरकारले सहमति जनाए पनि कार्यान्वयन भएको छैन।

२०८१ असोज २१ गते तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी तथा बाढीपीडित संघर्षसँग १० बुँदे सहमति गरेका थिए।

विगतमा गरिएका सम्झौता कार्यान्वयनको माग राखी आयोजना प्रभावितले मुहान बन्द गर्दा काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन रोकिएपछि सोमबार मन्त्री घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई समस्या समाधानका लागि आवश्यक पहल र सहयोग गरिदिन आग्रह गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले सोमबार मेलम्ची खानेपानीमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएकी थिइन्। हाल खानेपानी मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै सम्हालेकी छिन् ।

मन्त्री घिसिङले काठमाडौँ उपत्यकामा खानेपानीको समस्या देखिन थालिसकेकाले यसमा गम्भीर हुन आग्रह गरेका थिए। उनले समस्या समाधान गरी जतिसक्दो छिटो काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन सरकार लागिपरेको बताएका छन्।

प्रकाशित: २४ कार्तिक २०८२ १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast