कात्तिक २८ मा कन्दरा ब्यान्डले काठमाडौँमा दोस्रो कन्सर्ट गर्दै

हिमाल प्रेस २४ कार्तिक २०८२ १५:४२ | Monday, November 10, 2025
80
SHARES
कात्तिक २८ मा कन्दरा ब्यान्डले काठमाडौँमा दोस्रो कन्सर्ट गर्दै

काठमाडौँ- चर्चित सांगीतिक ब्यान्ड कन्दराले काठमाडौँमा दोस्रोपटक कन्सर्ट गर्ने भएको छ। काठमाडौँमा कार्यक्रम गर्दै सोमबार कन्सर्टको औपचारिक घोषणा गरिएको हो।

‘काठमाडौँ कलिङ कन्दरा’ नाम राखिएको कन्सर्ट यही कात्तिक २८ मा एक्सओ क्लब ठमेलमा आयाेजना गरिएकाे छ। कन्सर्ट विशिष्टा इन्टरनेसनल, एक्सओ क्लब र हाइ इन्टरटेनमेन्टको सहकार्यमा हुन लागेको हो।

काठमाडौँ कलिङ कार्यक्रम कन्दरा ब्यान्डकाे नयाँ अभियानको निरन्तरता हो। यसको माध्यमबाट संगीतलाई केवल मनोरञ्जनका लागि मात्र नभई समाजमा चेतना, भावनात्मक सम्बन्ध र परिवर्तनको प्रेरणाको स्रोतका रूपमा अघि बढाउनु रहेको आयोजकले जनाएको छ।

याे कार्यक्रम कन्दरालाई नयाँ पुस्तासँग जोड्ने एउटा नविनतम कडी रहेको ब्याण्डका प्रमुख गायक विवेक श्रेष्ठले बताए। उनले भने, ‘काठमाडौँ कलिङ कार्यक्रम गीतमा परिवर्तन, सोचमा परिवर्तन र आफैँभित्रको परिवर्तनको यात्रा हो। हामी देशमा परिवर्तन चाहन्छौँ भने सुरु सधैँ आफू र आफ्नै भूमिप्रतिको जिम्मेवारी बोधबाट हुनुपर्छ।’ कन्सर्टमार्फत कलात्मक सिर्जना, सामाजिक प्रभाव र सामूहिक सहभागितालाई एकैसाथ जोड्ने प्रयास गर्न लागेको उनले बताए।

३२ वर्षअघि पोखरामा जन्मिएको कन्दरा ब्यान्डले नेपाली संगीतप्रति आफ्नो समर्पण, जोश र दृढता निरन्तर अघि बढाइरहेको छ।

नेपाली लोकपप, सांगीतिक प्रयोग र आफ्नै मौलिक पहिचानका कारण चर्चित बन्न सफल कन्दराको कर्णप्रिय स्वरले देशमै मात्र होइन, विदेशमा रहेका नेपालीहरूलाई पनि आ-आफ्नो घर र माटो सम्झाइरहेको छ। कन्दराकाे ‘चञ्चले कान्छी’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल राखी’, ‘भेडीगोठैमा’, ‘लेककी हे माया’ लगायत गीत दर्शकले निकै रुचाएका छन्।

ब्याण्डको संस्थापक अध्यक्ष तथा मुख्य भोकलिष्ट विवेक श्रेष्ठ, सहसंस्थापक एवम् ड्रमर सुनील थापा, मादलिष्ट अविनाश गायक, बासिस्ट पंकज झा, गीतारिस्ट सन्देश मुजो, कि वोर्ड नील घतानी, साउन्ड इञ्जिनियर सिमोन तझ्या र प्राविधिक विज्ञ नविन थापा हुन्।

प्रकाशित: २४ कार्तिक २०८२ १५:४२ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast