काठमाडौँ- नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीमा फर्किने अभियानलाई तीव्र बनाउँदै सदस्यता विवरण अद्यावधिक गर्न आग्रह गरेकी छन्।
नेकपा एकीकृत समाजवादी त्यागेर पुनः एमालेमा फर्किएपछि तीव्र आलोचनाको सामना गरिरहेकी झाँक्रीले आफू र अन्य साथीहरू एमालेमै फर्किने प्रक्रियामा रहेको बताएकी छन्।
झाँक्रीले सामाजिक सञ्जालमार्फत अपील गर्दै भनिन्,‘प्रिय कमरेडहरू, हामी नेपाली कम्युनिस्ट आन्दोलनको विरासत बोकेको, धेरै योद्धाहरूको जीवन र जवानी खर्चेर बनेको आफ्नै पार्टी नेकपा (एमाले) मा फर्किने अभियानमा छौं। हामीमध्ये धेरैजना फर्किसकेका छौं।’
उनका अनुसार एमाले वा एकीकृत समाजवादी दुवै कालमा पार्टी सदस्य बनेका नेताकार्यकर्ताहरूको सदस्यता नवीकरण तथा सांगठनिक कामका लागि आवश्यक विवरण संकलन थालिएको छ। यसक्रममा हाल रहेको कमिटी, जिम्मेवारी, ठेगाना, फोन नम्बर, इमेललगायत व्यक्तिगत तथा सांगठनिक विवरण पाँच दिनभित्र पठाउन उनले आग्रह गरेकी छन्।
उनले जनसंगठन, पेसागत संगठन, भातृ तथा जनवर्गीय संगठनमा अहिले सम्हालिएको पद, कमिटी र संरचनासम्बन्धी विवरण पनि अनिवार्य रूपमा पठाउन निर्देशन दिएकी छन्।
झाँक्रीले आवश्यक विवरण आफ्नो व्हाट्सएप नम्बर वा फेसबुक मेसेन्जरमार्फत पठाउन आग्रह गर्दै पार्टी कमिटीको आधिकारिक च्यानलमार्फत सम्पर्क विवरण प्राप्त गर्न सकिने जानकारी दिएकी छन्।
झाँक्रीको भनाइ



