आजदेखि जारी-२ र मन बिनाको धन प्रदर्शनमा

हिमाल प्रेस २१ कार्तिक २०८२ ९:१३
6
SHARES
आजदेखि जारी-२ र मन बिनाको धन प्रदर्शनमा

काठमाडौँ- आजदेखि देशभरका सिनेमा हलमा दुई नयाँ नेपाली चलचित्र ‘जारी-२’ र ‘मन बिनाको धन’ प्रदर्शनमा आएका छन्। ‘फ्राइडे रिलिज’ अन्तर्गत प्रदर्शनमा आएका यी दुई फिल्ममध्ये ‘जारी-२’ ले एक सयभन्दा बढी शो पाएको छ भने ‘मन बिनाको धन’ लाई औसतभन्दा कम शो उपलब्ध भएको छ।

उपेन्द्र सुब्बाको निर्देशनमा बनेको ‘जारी-२’ सफल फिल्म ‘जारी’ को सिक्वेल हो। बिहीबार साँझ काठमाडौँमा आयोजित रेड कार्पेट प्रिमियरमा उपस्थित अधिकांश दर्शकले फिल्मको प्रशंसा गरेका थिए। कथामा १० वर्षे द्वन्द्वकालले एक परिवारमा पारेको असरलाई सांस्कृतिक र भावनात्मक ढंगले प्रस्तुत गरिएको छ।

त्यस्तै, टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ वास्तविक जीवनमा आधारित फिल्म हो। बालगायक अशोक दर्जीको संगीत यात्रामा आधारित यो चलचित्रले संघर्ष, सफलता र शिक्षामूलक सन्देश प्रस्तुत गरेको निर्माण पक्षको भनाइ छ।

चलचित्र जाँच पास समितिले दुवै फिल्मलाई ‘युनिभर्सल सर्टिफिकेट’ प्रदान गरेको छ जसका कारण सबै उमेरका दर्शकले यी फिल्म हेर्न सक्नेछन्। ‘जारी-२’ मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु र सिर्जना निङ्लेखु लगायत कलाकारको अभिनय रहेको छ।

‘मन बिनाको धन’ मा गायक अशोक दर्जीसँगै रमा थपलिया, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी र बिना राउतको अभिनय देख्न सकिन्छ।

फिल्मको कथा निर्देशक टंक बुढाथोकीकै हो भने पटकथा शिवम् अधिकारीले लेखेका हुन्। सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, टंक बुढाथोकीको संगीत तथा मित्र डी गुरुङको सम्पादन रहेको छ। विष्णुमाया मैनाली निर्माता हुन् भने जीपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सह-निर्माता र सपना शर्मा कार्यकारी निर्माता हुन्।

प्रकाशित: २१ कार्तिक २०८२ ९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast