नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्रीको निर्देशन

हिमाल प्रेस ३० कार्तिक २०८२ १७:४६
8
SHARES
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्रीको निर्देशन फाइल तस्बिर

काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँपुस्ताको भावना अनुरूप काम गर्दै उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी कार्यसम्पादन गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन्।

आइतबार गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको नियमित ‘एसएमटी’ बैठकमा मन्त्री अर्यालले कर्मचारीहरूले सक्रियतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आगामी निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताए।

‘अहिलेको सरकार निर्वाचनको सरकार हो। त्यसैले पुरानै संरचना वा ऐन–नियममा सीमित भएर मात्र होइन, प्रविधिको अधिकतम उपयोग गर्दै निर्वाचन प्रक्रियालाई सहभागीमूलक बनाउन तथा नागरिकको मताधिकार सुनिश्चित गर्न सबैले जिम्मेवारी वहन गर्नुपर्छ,’ मन्त्री अर्यालले भने।

उनले विभागीय प्रमुखहरुलाई मातहतका कार्यालयको जिम्मेवारी प्रभावकारी ढंगले सम्पादन गर्न निर्देशन दिँदै सेवा प्रवाहमार्फत परिवर्तनको अनुभूती दिलाउन निर्देशन दिए। गृह मन्त्रालयमा स्थापना गरिएको जेनजी समन्वय समितिलाई अझ सक्रिय बनाउँदै पीडितका गुनासा सुन्ने र समाधान गर्ने प्रक्रियालाई प्रभावकारी बनाउन सकिएमा बाहिर देखा परेका भ्रमपूर्ण धारणा हटाउन सकिने मन्त्री अर्यालको भनाइ थियो।

त्यस अवसरमा उनले जेनजी आन्दोलनमा घाइते भएकालाई राहत कार्ड फिल्डमै वितरण गर्ने र घाइते राहत कार्यविधि छिट्टै टुंग्याउन निर्देशन दिए।

बैठकमा गृहसचिव दंगालले मन्त्रालय तथा मातहतका संरचनाको कार्यसम्पादनप्रति आफू सन्तुष्ट रहेको बताए। मन्त्रालयको नेतृत्व ग्रहण गरेयता राष्ट्रिय परिचयपत्र नियमावली, सशस्त्र प्रहरी नियमावलीलगायतका दर्जनभन्दा बढी नियमावली संशोधन भइसकेको र नागरिकता नियमावली अन्तिम चरणमा पुगेको जानकारी दिए।

सचिव दंगालले मन्त्रालयको तत्काल सुधार कार्ययोजनालाई प्राथमिकतामा राखी काम गर्न मातहतका प्रमुखहरुलाई निर्देशन दिँदै गत भदौ २३ गतेपछि मन्त्रालयको कार्यशैलीमा आकाश–जमिनको फरक आएको उल्लेख गरे।

प्रकाशित: ३० कार्तिक २०८२ १७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast