पुस्तक चर्चा

वन, वन्यजन्तु र प्रकृतिप्रति समर्पणको दस्तावेज  ‘ज्ञानिका’

विवेक विवश रेग्मी ६ मंसिर २०८२ ११:३३
14
SHARES
वन, वन्यजन्तु र प्रकृतिप्रति समर्पणको दस्तावेज  ‘ज्ञानिका’

लेखक ददि सापकोटाको नवीनतम कृति ‘ज्ञानिका’ अघिल्लो शनिबार लोकार्पण भयो। पुस्तक सार्वजनिक भएपछि सापकोटा विभिन्न ठाउँमा पुस्तक चर्चा कार्यक्रममा व्यस्त छन्।

वन, वातावरण र वन्यजन्तुलाई प्रेम गर्न सिकाउने उक्त पुस्तकमा २१ वटा शीर्षक छ। गैरआख्यान नाम दिइएको उक्त पुस्तक अनुभवहरूको दस्तावेज भन्न सकिन्छ। ग्रन्थमा वन, वातावरण र वन्यजन्तु संरक्षणमा जीवन समर्पण गरेका अनुभवी व्यक्तिहरूको भोगाइ, अनुभव समावेश गरिएको छ। उक्त पुस्तकलाई अन्तर्वार्ताको सूचीसमेत भन्न सकिन्छ। जहाँ प्रश्नहरू छैनन्, तर उत्तरहरू छन्। उत्तरहरू पुस्तकको भाषामा छन्। सरल छन्, पाठकलाई आकर्षित गर्छन्।

डा. अरुणभक्त श्रेष्ठको अनुभवदेखि सुरु भएको अध्याय हर्कमान लामासम्म पुगेर टुंगिन्छ।

प्रकृतिसँग मान्छेको सम्बन्ध कति गहिरो, कति अन्तरंग र कति जिम्मेवार हुन सक्छ भन्ने विषयमा आधारित शिक्षाप्रद, सहज र हृदयलाई पुलकित बनाउने यात्राको रूप ज्ञानिका हो। पुस्तकमा वन, वातावरण र वन्यजन्तुजस्ता विषयलाई उपदेशात्मक भाषामा होइन, कथारूपी अनुभूतिमार्फत प्रस्तुत गरिएको छ। जसले पढ्दापढ्दै पाठकलाई जंगलमै पुर्‍याइदिन्छ। बाघको छेउसम्मै पुर्‍याउँछ। चितवनको जंगलेखि, चराको संसारसम्म पुर्‍याउँछ। मान्छे र प्रकृति एकै हो, प्रकृति र वन्यजन्तु एकै हो भन्ने अनुभूत गराउँछ।

सरल लेखनशैली र अनुभवी व्यक्तिहरूले अन्तरवार्तामा बोलेका कथ्यलाई पुस्तकको भाषामा तर जस्ताको तस्तै प्रस्तुत गरिँदा पुस्तक प्रभावकारी र बलियो बनेको छ। कथामा प्रयोग भएका संवाद, पात्रहरूको संवेदना र प्राकृतिक वातावरणको चित्रणले पुस्तकलाई सुन्दर साहित्यिक आयामसमेत दिएको पाइन्छ।

‘ज्ञानिका’ पढिसकेपछि आमपाठकले प्रकृति संरक्षण गर्नुपर्नेरहेछ र प्राकृतिक सौन्दर्यले विश्वको ध्यान केन्द्रित गर्नेरहेछ भन्ने सन्देश प्राप्त गर्न सक्छन्।

डा. अरुणभक्त श्रेष्ठले नेपालका हिमनदी र बाढीको बदँलिदो अनुहारको फेहरिस्त सुनाएका छन्। जलवायु परिवर्तन, हिमताल, मनसुनजस्ता कुरा समावेश गरिएको छ।

यसैगरी डा. कमलप्रसाद गैरेले बाघ, गैँडा, हात्तीसँगका अनुभव सुनाएका छन्। प्रकृति संरक्षणमा समपर्पित पशु चिकित्सक गैरेले सरकारी कर्मचारीहरू पदमा हुँदा हाइफाइ गर्ने र पद सकिएपछि निराशामा बाँच्ने कुरासमेत आकर्षक शैलीमा सुनाएका छन्। उनको अनुभवले नेपालको प्राकृतिक विविधताबारे थप जानकार भइन्छ। धैर्यपूर्वक पढिरहन मन लाग्छ।

करनबहादुर शाहले सरीसृपको अनुभव सुनाएका छन्। सर्प, भ्यागुता, छेपारोजस्ता विषयबारे उनको अनुभवले सरीसृप संरक्षणको महत्त्व बुझाएको छ। जीवजन्तुबारे मान्छेका भ्रम उपशीर्षकमा उनले मान्छेले अञ्जानमै गल्ती गरिरहेको कुरा उधृत गरेका छन्।

गिरिधर अमात्यले नेपालमा जडीबुटीको प्रयोगबारे चर्चा गरेका छन्। नेपालमा अरूको देखासिखी गर्ने प्रवृत्ति बढेको र अध्ययन नगरी काम गर्न तम्सिने गलत प्रवृत्तिको चर्चा गरेका छन्।

डा. तीर्थबहादुर श्रेष्ठले वनस्पतिबारे अनुभव साझा गरेका छन्। नेपालका अधिकांश क्षेत्रमा पुगेर वनस्पतिको गहन अध्ययन गरेका श्रेष्ठले वनस्पतिको पारिस्थितिकीय प्रणालीबारेको विश्लेषणदेखि आफूले पदीय जिम्मेवारीमा रहेको समयमा वन, वनस्पति जोगाउन गरिएका अनुभव सुनाएका छन्।

तुलसीलक्ष्मी सोलले सालक अध्ययन गर्दाताका अनुभव साझा गरेकी छन्। सालक संरक्षण अभियानको थालनी गरेकी उनले सुरुआती दिनमा सालक के हो भन्नेबारे नबुझेको तर काम गर्दै जाँदा अनुभवले जितेको उल्लेख गरेकी छन्। हरेक वर्ष नेपालको वन डढेलो लाग्दा वन मात्रै क्षति भएको तर वन्यजन्तु कति क्षति भए भन्नेबारे अध्ययनै नगरिएको कुरा उल्लेख गर्दा त्यसतर्फ पनि नयाँ बहसको सिर्जना गर्नुपर्ने उनले लेखकलाई सुनाएकी छन्।

वनविशेषज्ञ तेजबहादुरसिंह महतले सामुदायिक वनको मोडेलबारे मिहिन किसिमले व्याख्या गरेका छन्। वनको अवस्था र मासिदैँ गएको वनबारे चर्चा गरेका उनले वन मासिँदा वन्यजन्तु घरसम्मै पुगेको र वन्यवन्तु पनि मासिने गरेको कुरा उधृत गरेका छन्। वन जोगिए वन्यजन्तु पनि जोगाउन सकिने कुरालाई उनले प्राथमिकता दिएका छन्।

पूर्वसिकारी दीपकशमशेर जंगबहादुर राणाले आफूले सिकार गर्दाको अनुभव साझा गरेका छन्। सिकार गर्ने व्यक्तिलाई संरक्षणको महत्त्व थाहा हुने उनले व्याख्या गरेका छन्। सरकारको नियन्त्रणमा रहेका वनजङ्गल असुरक्षित रहेको र निजी क्षेत्रको सहभागितामा रहेका वनजङ्गल सुरक्षित रहेको र वन्यजन्तु पनि संरक्षित रहेकोबारे उनले गहिरो कथा प्रस्तुत गरेका छन्।

चोरी सिकारी रोक्नुपर्ने र जनावरलाई विभिन्न नाममा यातना दिन नहुने उनले उधृत गरेका छन्। जनसंख्या दिनानुदिन बढिरहेको र वन्यजन्तुको ठाउँ मानिसले ओगटेका कारण पनि वन्यजन्तु र मानवबीच द्वन्द्व सिर्जना भएको उनले बताएका छन्। जंगल जोगाउनुपर्ने, वातावरण संरक्षण गर्नुपर्ने र जनावरलाई संरक्षण गर्नुपर्नेमा राणाले जोड दिएका छन्।

पूर्वजर्नेल बाबुकृष्ण कार्कीले आफू बर्दिया राष्ट्रिय निकुञ्जमा हुँदा नीराजनवीरविक्रम शाहले डल्फिन सिकार गर्नुपर्ने बताउँदा सिकार गर्न नदिएको कथादेखि सुरु गरेको अनुभव राजासँग काम गर्दाताका अनुभव, सचेतना र शिक्षाका कारण वन्यजन्तु संरक्षण, वन्यजन्तुसँग तर्किने भन्दा प्रेम गर्नुपर्नेजस्ता कुरालाई प्राथमिकता दिएका छन्। वन्यजन्तुको संरक्षण कोही जिम्मेवार वा एकै व्यक्तिले भन्दा पनि सामूहिक प्रयासले मात्रै सम्भव हुने उनले लेखकलाई सुनाएका छन्।

भूषण तुलाधरले वातावरणीय सुधारका निम्ति नेपालीले गर्नुपर्ने कामबारे चर्चा गरेका छन्। मानिसको योजना गाडीकेन्द्रित मात्रै भएको तर मानवकेन्द्रित हुन नसकेका कारण प्रदूषण दिनानुदिन बढिरहेको उनको अनुभव छ।

यसैगरी महेश्वर घिमिरेले माटोको कथा बोलेका छन्। मानिसले खाने दाल, भात, तरकारी, सागलगायतका उत्पादनबारे र त्यही खानाका कारण बिरामी पर्ने कुरा उल्लेख गरिएको छ। उनका अनुसार नेपालमा अर्गानिक उत्पादन गर्नका लागि जनशक्तिको अभाव छ।

डा. मुकेश चालिसेले बाँदरसँगको संवाद, प्रेम, बाँदरको जीवनबारे मिहीन ढंगले गरेको अनुभवबारेको कथा विस्तृतमा बताएका छन्। बाँदर देखेर तर्किनेहरूले उनको अनुभव पढिसकेपछि बाँदर देख्दा प्रेमको ध्येयले हेर्छन्। उनले भनेका छन्- जनावरले मलाई मार्न, पिट्न, गोली हान्न, तर्साउन आयो भन्ने नठानोस्। त्यो नठानेपछि उसले आफ्नै समूहको अथवा अर्को समूहको भए पनि हामीलाई केही नगर्ने रहेछ भनेर बुझोस्। त्यस्तो सिद्धान्त अपनाउनुपर्छ।’

नेपालका विभिन्न क्षेत्रमा प्रमुख संरक्षण अधिकृत भइसकेका युवराज रेग्मीले वन्यजन्तु संरक्षण र पीडाको कथा पोखेका छन्। बाघको कथादेखि हात्तीको कथा, गैँडाको कथा, जलवायु परिवर्तनका कारण घट्दो चराको संख्या, हिमचितुवालगायतका कथा विस्तृतमा व्याख्या गरिएको छ।

रेग्मीले आफूले जीवनमा गरेका कामबारेको अनुभवको गहिराइलाई पोखेका छन्। उनले भनेका छन्- ‘खासमा कुनै पनि जीव मानिसका लागि त्यति हिंस्रक हुँदैनन्। बरू मानव हिंस्रक हौँ। हामीले केही देख्नासाथ दखल पुर्‍याइहाल्छौँ। दखल पुर्‍याएपछि जसलाई पनि रिस उठ्छ र जनावरले पनि आक्रमण गर्छन्।’

मलाहा बिरालोमा विद्यावारिधि गरेकी रमा मिश्रले जनावरले बच्चासँग हुँदा किन आक्रमण गर्छन् भन्नेबारे आफ्नै अनुभव सुनाएकी छन्। खासगरी आँफू गर्भवती भएकै समयमा पनि वन्यजन्तु संरक्षणमा काम गरेकी उनले आमाले बच्चालाई गर्ने स्याहारदेखि आफ्नो शिक्षा, आफूले भोगेको समाजबारेसमेत अनुभव प्रस्तुत गरेकी छन्। आफ्नो अनुभव, अनुसन्धान र भोगाइमा आधारित रहेर वन्यजन्तुसँग सम्बन्धितबारे अध्यापन गराउन आवश्यक रहेकोसमेत उनले उदृत गरेकी छन्।

रविजङ्ग पाण्डेले विश्वव्यापी पर्यटन दौडको मानचित्रमा नेपालबारे चर्चा गरेका छन्। अस्तव्यस्त पर्यटन नीतिदेखि पर्यटनमा उज्ज्वल भविष्यसम्मको कुरालाई चित्रित गरेका छन्। समन्वय अभावका कारण राष्ट्रिय नीति प्रभावित भएकोसम्म उनले उल्लेख गरेका छन्।

मत्स्यविशेषज्ञ राजकपुर नापितले माछाको अध्ययनबारे सुनाएका छन्। नेपालमा पाइने दुई सय ५२ जातका माछामध्ये दुई सय ३६ थरीका माछा रैथाने जातका रहेको बताइएको छ। १६ जातका माछा विदेशी मूलका रहेको बताएका छन्। पोखरीमा पालेका माछा र खोला, नदीमा पाइने माछाबारेका भिन्नताबारेसमेत चर्चा गरिएको छ। जलचर ऐनबारेको चर्चादेखि माछाका शत्रु र संरक्षणकर्मीका दुःख सुनाएका छन्।

राजेन्द्र सुवालले आफूलाई गैँडाले आक्रमण गरेदेखि अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई तीन पटकसम्म चरा अवलोकन गराएको अनुभव साझा गरेका छन्। ९० प्रतिशत जनावर मानिससँग डराएर बाटो लाग्ने तर १० प्रतिशतले भने प्रतिरक्षाका लागि आक्रमण गर्न सक्ने उनको अनुभव छ। मौसम बदलीका कारण चरामा पर्ने प्रभाव, नेपालमा संरक्षणको नियम, जैविक विविधताका कुरादेखि अब मानिसले सोच्नुपर्ने विषयमा सुवालले उल्लेख गरेका छन्।

रामप्रसाद कँडेलले नेपाली लोकबाजा र भाकाको इतिवृत्तान्त बताएका छन्। जसले पुस्तकको ताललाई विविधतामा समेटेको पाइन्छ।

प्रमुख संरक्षण अधिकृत भई सेवा गरेका रामप्रीत यादवको अनुभव दोहार्‍याएरै पढ्न आकर्षित गर्छ। उनको अनुभव, बाघसित पटकपटकको जम्काभेट, विदेशीले वन्यजन्तुलाई गर्ने प्रेम, गैँडा भूमि, राजासँग काम गर्दाताका अनुभव उदृत गरेका छन्। बाघ जति बदनाम देखिन्छ त्यस्तो जनावर नभएको बताउँदै उनले बाघको बानीव्यहोराबारेको कथन पनि सुनाएका छन्। जङ्गल जाँदा कस्ता कपडा लगाउने भन्नेबारेदेखि चितवन राष्ट्रिय निकुञ्जको स्थापनाकालदेखिको इतिहास स्मरण गरेका छन्।

वन्यजन्तु प्राविधिक विष्णु लामाले बाघ डार्टदेखि, हात्ती डार्टसम्मको अनुभव सुनाएका छन्। उनको अनुभवले आममानिसलाई वन्यजन्तु संरक्षण गर्नुपर्ने कुरालाई जोड दिएको छ। जनावर नदेखीकन त्यस विषयमा विद्यावारिधि गर्ने प्रचलनदेखि, अनुसन्धानकर्मीहरू नेपालमा सिकेर विदेश पलायन हुनेसम्मको कथा उनले साझा गरेका छन्।

हर्कमान लामाको अनुभव पढ्नुअघि ‘दर्जनौँ पटक मृत्युको चिठी’ शीर्षकले ध्यान आकर्षित गर्छ। गैँडा गणनादेखि सुरु भएको उनको अनुभव बाघसँगको जम्काभेट, मान्छेकै बाटो बाघ, मध्यवर्ती क्षेत्रका जनताले तीक्ष्ण तरिकाले बोलेका शब्दहरूले मनमा बिझेको कुरा साझा गरेका छन्। कुनै पनि विषयमा अनुभव नगरी प्याच्च बोलिहाल्न नहुनेजस्ता कुरालाई प्राथमिकतामा राखेका छन्। आफूलाई दखल नपुर्‍याएसम्म कुनै पनि जनावरले सीधै आएर आक्रमण नगर्नेसमेत उनले उल्लेख गरेका छन्।

समग्रमा पुस्तकमा उपदेशात्मक भाषाभन्दा कथारूपी अनुभवमार्फत प्रस्तुत गरिएको छ। पुस्तकले पाठकलाई बाघको आँखासम्म, गैँडा, हात्ती र चराको संसारसम्म, हिमनदी र जलवायु परिवर्तनको भयावह बदलिँदो रूपदेखि सरीसृपको लोकसम्म पुर्‍याइदिन्छ। यही विशेषताले ‘ज्ञानिका’लाई साधारण गैरआख्यान नभई अनुभूतिको यात्रापुस्तक बनाएको भन्न सकिन्छ।

वन, वातावरण र वन्यजन्तुको क्षेत्रमा दशकौँदेखि काम गरेका व्यक्तिहरूको अनुभवले उक्त पुस्तकले दिन खोजेको सन्देश स्पष्ट छ- वन, वातावरण जोगाउनुपर्छ, वन्यजन्तु संरक्षण गर्नुपर्छ। जसकारण नै पर्यापर्यटनको सम्भावना थप वृद्धि हुँदै जान्छ र त्यसबाट सबैलाई फाइदा हुन्छ। आर्थिक रूपमासमेत समृद्ध बनाउँछ भन्ने कुरा नै सारमा बुझ्न सकिन्छ। नेपालका जंगल, वनस्पति, सरीसृप, चराचुरुङ्गी, गैँडा, बाघ, हात्ती, माछादेखि माटोसम्मका विषय समेटिएकाले समग्र ज्ञान प्रदान गर्छ।

पुस्तक पढिसकुन्जेल लागिरह्यो -सबैभन्दा अनुभवी र पुराना मानिसबारेको अन्तर्वार्ता किन अगाडि नराखिएको होला? तर, उक्त जिज्ञासालाई लेखकले आफ्नो भनाइमा उत्तर दिएका छन्। वर्णानुक्रमअनुसार पात्रहरूलाई पुस्तकमा समेटेको लेखक सापकोटाले उदृत गरेका छन्।

पुस्तकले बारम्बार सन्देश दिइरह्यो – मानिस र प्रकृति अलग छैनन्। प्रकृति जोगिएमात्र मानवीय अस्तित्व सुरक्षित रहन्छ।

पुस्तकमा कतिपय प्रसङ्ग दोहोरिएको अनुभूति हुन्छ। सम्भवतः पात्रहरूको समान अनुभवका कारण हुनसक्छ। कतैकतै अनुभवभन्दा शब्द विस्तार बढी जस्तै भान पर्न सक्छ। कतिपय कुरा नदोहोर्‍याएको भए हुन्थ्यो भन्ने लाग्छ। कतिपय पात्रहरूले लेखकसँग अन्तर्वार्तामा उत्तर दिएका कुराहरू जबरजस्ती तरिकाले शब्द बढाउनका लागि मात्रै लेखेको हो कि भन्ने भान कताकता हुन्छ।

सन्दर्भ सामाग्रीको अभाव पनि शैक्षिक उपयोगितामा केही कमी ल्याउँछ। तर, यी कमजोरीहरू पुस्तकको समग्र प्रभावमा ठूला अवरोध बन्ने खालका छैनन्। उक्त पुस्तक विद्यार्थी, अनुसन्धानकर्ता, पत्रकार, नीतिनिर्माता वा प्रकृतिलाई प्रेम गर्ने जोकोहीका लागि अनिवार्य पठन सामग्री बन्न सक्छ।

यद्यपि, नेपालको वन, वातावरण र वन्यजन्तुबारे गहिरा कुरा थाहा पाउनका निम्ति ज्ञानिका एउटा दस्तावेज हो भन्न सकिन्छ।
पुस्तक : ज्ञानिका
विधा : गैरआख्यान
लेखक : ददि सापकोटा
प्रकाशक : फाइनप्रिन्ट
मूल्य : ८९८ रुपैयाँ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast