समयमै निर्वाचन सम्पन्न गरेर सत्ता सुम्पन सरकार आतुर छ : गृहमन्त्री

हिमाल प्रेस २७ कार्तिक २०८२ १५:३७ | Thursday, November 13, 2025
10
SHARES
समयमै निर्वाचन सम्पन्न गरेर सत्ता सुम्पन सरकार आतुर छ : गृहमन्त्री फाइल तस्बिर

काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी जनताबाट निर्वाचित प्रतिनिधिलाई सत्ता सुम्पन सरकार आतुर रहेको बताएका छन्।

राष्ट्रियसभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा ‘शान्ति सुरक्षा र आगामी निर्वाचनको तयारी’ बारे धारणा राख्दै उनले आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको प्राथमिक जिम्मेवारी भएको बताए।

गृहमन्त्री अर्यालले भने, ‘स्वच्छ, निस्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न राजनीतिक दल, सरोकारवाला र कूटनीतिक नियोगका प्रमुखलगायतसँग छलफल एवं परामर्श गरिएको छ।’

मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गराउन सबै सुरक्षा निकायको समन्वयमा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको उनको भनाइ छ।

निर्वाचन सुरक्षा योजना तयार गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा सबै सुरक्षा निकायका प्रतिनिधि रहेको कार्यदल गठन भएको जानकारी दिँदै गृहमन्त्रीले कार्यदलले पेस गरेको प्रतिवेदनलाई केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत गरी कार्यान्वयमा ल्याइने बताए।

गृहमन्त्री अर्यालले विदेशमा रहेका नेपालीलाई समेत मताधिकारको अधिकार प्रदान गर्ने सम्बन्धमा कानुन संशोधनको गृहकार्य अगाडि बढेको स्पष्ट पारे।

‘युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन २०७३ लाई संशोधन गरिएको छ,’ उनले भने, ‘यसबाट दुई लाख बढी मतदाता थप भएका छन्।’

निर्वाचनका लागि सुरक्षा निकायलाई आवश्यक पर्ने श्रोत र साधनको कतिपय व्यवस्थापन भइसकेको र कतिपय व्यवस्थापन हुने क्रममा रहेको गृहमन्त्रीको भनाइ छ। ‘फरार कैदी बन्दी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीको रूपमा लिई सरकार गम्भीरतापूर्वक अघि बढेको छ,’ उनले भने, ‘सम्पूर्ण चुनौतीलाई परास्त गरी स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न हुनेमा सरकार विश्वस्त छ।’

वर्तमान सरकारसँग देश र आमजनताको उच्च अपेक्षा रहेको जनाउँदै गृहमन्त्री अर्यालले छोटो अवधिको बाबजुद जनताका आकांक्षालाई कानुनको परिधिभित्र रही अधिकतम हासिल गर्न प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे।

‘हामीलाई असफल हुने छुट नभएको हुँदा सबैबाट आगामी दिनमा हालको जस्तै साथ र सहयोग रहने कुरामा विश्वस्त छौँ,’ उनले भने।

प्रकाशित: २७ कार्तिक २०८२ १५:३७ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast