लैंगिक हिंसा अन्त्य गर्न सबैको साझा प्रतिबद्धता आवश्यकः मुख्यमन्त्री आचार्य

हिमाल प्रेस ९ मंसिर २०८२ १२:१६ | Tuesday, November 25, 2025
4
SHARES
लैंगिक हिंसा अन्त्य गर्न सबैको साझा प्रतिबद्धता आवश्यकः मुख्यमन्त्री आचार्य

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैंगिक हिंसा अन्त्यलाई समृद्ध समाज निर्माणको आधारका रूपमा अघि बढाउन सबैलाई एकजुट हुन आग्रह गरेका छन्।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले नेपालमा अझै पनि कुप्रथा, विभेदपूर्ण सोच र सामाजिक बन्धनका कारण लैंगिक हिंसा सहन बाध्य रहेको भन्दै यस्तो समस्या अन्त्य गर्न परिवारदेखि समुदाय र सरकारी संयन्त्रसम्मको सक्रिय भूमिका आवश्यक रहेकामा जोड दिएका छन्।

संविधानले समतामूलक, समावेशी र सहभागितामूलक समाज निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उनले लैंगिक हिंसा अन्त्यका लागि कानुनमा तोकिएका प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, हिंसा प्रभावितको उपचार, संरक्षण तथा पुनर्स्थापनाका उपाय थप प्रभावकारी बनाउनुपर्ने आवश्यक रहेको बताए।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले लैंगिक हिंसा अन्त्यलाई विकास र समृद्धिको मुख्य आधारका रूपमा लिएको जानकारी दिए। प्रदेश सरकारले लैंगिक समानता नीतिनिर्माण गरी कार्यान्वयनमा ल्याइसकिएको, जसले महिला, बालबालिका तथा लैंगिक अल्पसंख्यकको विकास, संरक्षण र सशक्तिकरणलाई प्राथमिकता दिएको उनले उल्लेख गरे।

प्रदेश सरकारले निजामती सेवामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि एक प्रतिशत आरक्षणको व्यवस्था गरी समावेशितालाई संस्थागत गर्दै लैंगिक समानताको अभ्यासलाई मजबुत पारेको मुख्यमन्त्री आचार्यले बताए। उनले १६ दिने अभियानले सबैलाई समानता, न्याय र सम्मानमा आधारित सभ्य, सुरक्षित तथा समुन्नत समाज निर्माणतर्फ अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

प्रकाशित: ९ मंसिर २०८२ १२:१६ | Tuesday, November 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast