नक्कली शैक्षिक प्रमाणपत्र देखाएर जागिर खाएको आरोपमा शिक्षक देवी निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस २६ कार्तिक २०८२ १७:०८ | Wednesday, November 12, 2025
112
SHARES
नक्कली शैक्षिक प्रमाणपत्र देखाएर जागिर खाएको आरोपमा शिक्षक देवी निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- फर्जी शैक्षिक योग्यताको प्रमाणपत्र प्रयोग गरी सरकारी सेवा प्राप्त गरेको आरोपमा झापाकी एक शिक्षकविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका-५ स्थित दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाले भारतको बिहार संस्कृत शिक्षा बोर्ड, पटनाबाट जारी भएको मध्यमा परीक्षा (माध्यमिक तह) को नक्कली प्रमाणपत्र पेस गरी नियुक्ति लिएको जनाएको छ।

अख्तियारका अनुसार निरौलाले २०५५ सालमा अस्थायी रूपमा नियुक्ति पाएर सोही विद्यालयमा अध्यापन गर्दै आइरहेकी थिइन्। पछि उनले २०७५ साल चैत २८ गते स्थायी नियुक्ति लिई हालसम्म पनि प्राथमिक तह तृतीय श्रेणी शिक्षका रूपमा कार्यरत रहँदै आएको अनुसन्धानबाट खुलेको अख्तियारले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अनुसन्धानका क्रममा उनले प्रस्तुत गरेको प्रमाणपत्र भारतको फर्जी र अमान्य भएको पुष्टि भएपछि अख्तियारले उनलाई साबिक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र २९ (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) बमोजिम कैद र जरिवानाको सजाय माग गर्दै आरोपपत्र दायर गरेको हो।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले निरौलाले फर्जी प्रमाणपत्रका आधारमा तलब, भत्ता, ओहोदा र सरकारी सुविधा समेत लिई आएकोले यसलाई स्पष्ट रूपमा भ्रष्टाचारको कसूर मानिएको बताए।

यस्तो छ अख्तियारको विज्ञप्ति

 

प्रकाशित: २६ कार्तिक २०८२ १७:०८ | Wednesday, November 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast