कांग्रेसको अस्तित्व र नेतृत्व परीक्षामा गगन

आशा थपलिया ६ मंसिर २०८२ २०:०१
24
SHARES
कांग्रेसको अस्तित्व र नेतृत्व परीक्षामा गगन

नेपालको राजनीति तीव्र संक्रमण र परिवर्तनको मोडमा छ। युवापुस्ता तथा आमजनतामा सुषुप्त रहेको गहिरो असन्तोष जेनजी आन्दोलनको रूपमा विस्फोट भइसकेको छ। पुराना राजनीतिक वैचारिक संरचनामाथि प्रश्न उठिरहेका छन्। यद्यपि दलहरू आन्तरिक द्वन्द्वमा रुमल्लिरहेका छन् अथवा भनौँ आफ्नो अस्तित्व रक्षाका लागि संघर्षररत छन्।

मुलुकको राजनीतिक वातावरण निकै जटिल मोडमा पुगेको छ। बेरोजगारी, भ्रष्टाचार र सेवासुविधामा भएको बेथिति जनआक्रोशका मुख्य कारण बनेका हुन्। सरकारसँग बढ्दै गएको जनताको चरम असन्तुष्टिले जेनजी आन्दोलनका रूपमा मुलुक एउटा गम्भीर राजनीतिक दुर्घटनाको सिकार भयो।

मुलुक र कांग्रेस पार्टी

नेपालको राजनीतिक इतिहासको कालक्रममा धेरै पात्र उदाए, धेरै अस्ताए। विश्वको पछिल्लो राजनीतिक घटनाक्रम अनि नेपालको समग्र राजनीतिक परिस्थितिमा लोकतान्त्रिक पद्धति र नेतृत्वको विकल्प देखिँदैन। लोकतान्त्रिक पद्धति र नेतृत्वका लागि नेपाली कांग्रेसको विकल्प छैन।

राणा शासनको अन्त्यदेखि हालको संविधान जारी सम्मका सबै महत्त्वपूर्ण राजनीतिक परिवर्तनको अगुवाइ गरेको दल नेपाली कांग्रेस हो। तर नेपालको सबैभन्दा ठूलो र पुरानो पार्टी नेपाली कांग्रेस अहिले आफै कठिन मोडमा छ। एक महिनाभन्दा बढी लामो समयदेखि महाधिवेशनबारे देखिएको आन्तरिक विवाद केन्द्रीय कार्यसमिति बैठकले समाधान गर्न सकेको छैन। पार्टीभित्र २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन गर्न हुने नहुने र निर्वाचनअघि नै महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिनुपर्ने विवाद चुलिएको छ।

दलभित्र आन्तरिक लोकतन्त्र कमजोर छ, जसलाई बलियो लोकतान्त्रिक अभ्यासको रुपमा चित्रित गरिएको छ। निर्णय प्रक्रियामा पारदर्शिता र जवाफदेहिता अभाव छ। छोटो समयमै सरकारहरू परिवर्तन अनि अक्षम नेतृत्वका कारण युवापुस्तामा निराशा बढ्दै गएको छ। यसले राजनीतिक नेतृत्वप्रति आमजनतामा विश्वासको संकट सिर्जना गरेको छ। यही संकटले नयाँ पुस्ता र नयाँ सोचको नेतृत्व खोज्ने वातावरण बनाएको हो।

जेनजी आन्दोलनपछि बनेको सरकारप्रति पनि जनविश्वास घट्दो छ। यही संकटले मुलक एउटा यस्तो नायकको पर्खाइमा छ जसले यो मुलुकको संकट समाधान गर्न सकोस्। यही परिवेशमा पार्टीभित्र नयाँ नेतृत्व तथा पुस्तान्तरणको बिगुल फुकिसकिएको छ। यो बिगुल फुक्ने अगुवाइ गरेका छन् नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र उनका समर्थक पुस्ताले।

कांग्रेसको संकट र गगनलगायतका पुस्ताको अवसर

जेनजी आन्दोलनले गगन समूहलाई तर्साएको र झस्काएको छ। जेनजी र जनताको भावना बुझेका गगनले लगत्तै पार्टीभित्र सुधार र नयाँ नेतृत्वको मागलाई सशक्त रुपमा अघि बढाए तर आफने अस्तित्व संकटमा देखेका केही नेताहरु यसका लागि तयार देखिँदैनन्।

जेनजी आन्दोलनपछि गगन थाकेका पनि देखिन्छन् तर पनि उनी निरन्तर खटिरहेका छन्। किनभने उनी आफ्नो राजनीतिक करियरको उत्कर्षमा छन्। पार्टीको महाधिवेशन मिति र नेतृत्व पुस्तान्तरणको मुद्दा किनारा लगाउनुपर्ने दबाबमा पनि छन् उनी । पार्टीभित्र उनको भुमिका थप चुनौतीपूर्ण बनेको छ।

पार्टीका संस्थापन पक्षले के बुझ्नुपर्छ भने आन्तरिक विवाद समाधान गर्न नसकेमा निर्धारित मितिमा निर्वाचन हुने नै भयो भने नेपाली कांग्रेसले पाउने भन्दा धेरै गुमाउनुपर्नेछ। किनभने यिनै आमजनता, जो मतदाता पनि हुन्, ले नजिकबाट पार्टीभित्रको लुछाचुँडीलाई नियालिरहेका छन्।

केही मतदाता यस्ता पनि हुन्छन् जो खुलेर बाहिर आउँदैनन् तर उनीहरुको चाहना यस्तो व्यक्तिले नेतृत्व गरोस् जसले मुलुकको दशा र दिशा बदलिन सकोस् भन्ने हुन्छ। यस्ता मतदाताहरुको चाहना गगनले नेतृत्व गरून् भन्ने पनि छ। त्यस्ता लोकतान्त्रिक मतदाता जससँग विकल्प हुन्छ। गगनलाई रोकियो भने त्यस्ता मत अन्यत्र मोडिन सक्छ। यसको घाटा पनि पार्टीले नै बेहोर्नुपर्ने हुन्छ।

गगन अहिले शक्तिशाली बन्दै जाँदा असुरक्षित महसुस गरेर उनलाई कमजोर बनाउन लाग्नेहरुले एउटा कुरा के पनि बुझ्नुपर्छ भने गगन जतिको सम्भावना बोकेको युवा नेतालाई कमजोर बनाइयो भने त्यो पार्टीका लागि मात्र नभई समग्र लोकतन्त्रका लागि पनि हितकर हुँदैन।

लोकतन्त्र र गणतन्त्रका लागि जति समय र ऊर्जा गगन र गगन पुस्ताले खर्चेको छ। त्यतिकै यो देश र जनताको पनि गगनमा लगानी छ। अग्रज नेतृत्वहरुले आफ्नो हठ छाडेनन् भने भारतको राजनीतिमा गान्धी परिवारले नेतृत्व गरेको कांग्रेस आईको राजनीतिक अस्तित्व जसरी धरातलमा पुगेकोे छ, आउँदो निर्वाचनमा नेपालको राजनीतिक वृत्तमा नेपाली कांग्रेसको अवस्था पनि त्यस्तै आउन सक्ने सम्भावना प्रबल हुन सक्छ।

अहिले पार्टीभित्र लड या मरको स्थितिमा गगन र गगन पुस्ता पुगेको छ। त्यसैले यो पार्टी र देशको बागडोर अब गगनको पुस्तामा हस्तान्तरण गर्न कांग्रेसका पुराना पुस्ताले न त कन्जुस्याइँ गर्न हुन्छ न त कुनै संशय नै मान्नुपर्छ।

जनताका लागि भन्दा बढी व्यक्तिगत स्वार्थ केन्द्रित राजनीति गरिरहेका नेताहरु राजनीतिमा यस्तो भइरहन्छ भन्ने भाष्य स्थापित गराएर आफू चोखिन खोजेका छन्। तर नेताहरुले एउटा कुरा के बुझ्नुपर्छ भने यस्ता भाष्य स्थापित गराउने सूचीमा आफ्नो नाम लेखाइरहँदा आजको पुस्ताको त कुरै छोडौँ, भोलिका पुस्ताले पनि सम्मानजनक रुपमा सम्झिने छैन। त्यसैले आउँदा पुस्ताका लागि कस्तो सम्झना छाडेर जाने, नेताहरुले एक पटक सोच्नैपर्छ।

अन्त्यमा

गत भदौमा भएको जेनजी आन्दोलनपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रम र त्यसपछि पनि अपवादबाहेक बाहिरिएको नेताहरुको गैरजिम्मेवार अभिव्यक्ति सुन्दा गगनले सार्वजनिक रुपमा स्वीकारेका व्यक्तिगत तथा पार्टीका कमीकमजोरीले उनी जवाफदेही तथा जिम्मेवार नेताको अग्रपंक्तिमा दरिएका छन्।

हुन त आमजनता राजनीतिक दलका नेताहरुप्रति चरम असन्तुष्ट हुँदै गर्दा गगन पनि यसबाट अछुतो रहेनन्। उनको लोकप्रियतामा ह्रास आउँदै गयो। तर जेनजी आन्दोलनपछि सार्वजनिक माफी र देश बनाउने अडानप्रति आत्मविश्वाससहितको उनको अभिव्यक्तिले पार्टीभित्र र बाहिर बिस्तारै सहानुभूति पाउन थालेका छन्।

यसो भनिरहँदा गगनमा कमीकमजोरी छैन भन्ने पनि होइन तर जिम्मेवारी दिँदैनदिई उनको भावी भूमिकाबारे पूर्वानुमान गर्नु न्यायोचित हुँदैन। गगन अहिलेसम्म पार्टीमा जुका जस्तो टाँसिएर बसेका तर परिणाम देखाउन नसकेका अग्रज नेताहरुको चक्रव्यूहमा फसेका छन्। त्यो चक्रव्यूह तोडेर कसरी मुलुकको नेतृत्वमा पुगेर आफूलाई प्रमाणित गर्छन् त्यो भविष्यले बताउनेछ।

अझ अहिलेको राजनीतिक शून्यतामा विश्वसनीय र वैकल्पिक नेतृत्वको रूपमा उदाएका गगनलाइ पछि हटने छुट पनि छैन। किनभने परिवर्तनको बिगुल फुकेर शंखनाद गर्दै अघि बढेका गगनसहितका पुस्ताले त्यसलाइ व्यवहारमा कार्यान्वयन गराएको हेर्न उनका समर्थक, कार्यकर्ता अनि आमजनता प्रतीक्षारत छन्।

अर्को महत्त्वपूर्ण कुरा भूराजनीतिक जटिलता अनि राजनीतिक अस्थिरताका बीच नेपालको राजनीतिक, कूटनीतिक र आर्थिक अवस्थालाई अन्तर्राष्ट्रिय जगत्ले पनि नजिकबाट नियालिरहेको अवस्था छ। बुझ्नुपर्ने कुरा के हो भने भर्खरै भएको जेनजी आन्दोलनको मूल मर्म नबिर्सिई आमजनताको चाहनालाई कदर गर्दै मुलुकलाई एउटा सुखद निकास दिनु आवश्यक छ। लोकतान्त्रिक गणतन्त्र बलियो बनाउन तथा अन्तर्राष्ट्रिय जगत्लाई विश्वासमा लिन सक्ने अग्रणी पार्टी नेपाली कांग्रेस हो। जसलाई अहिलेको अवस्थामा हाँक्ने एक मात्र सारथी गगन देखिन्छन्। त्यसैले पार्टीको मात्र नभएर राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि परिवर्तन गर्न पनि गगनको नेतृत्व अपरिहार्य छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast