काठमाडौँ- उत्तरी छिमेकी चीनको ‘ट्वाइलेट रिभोलुसन’ अर्थात् शौचालय क्रान्ति यतिबेला कडा विवादकाे घेरामा परेको छ। सन् २०१५ मा राष्ट्रपति सी चिनफिङले अघि बढाएको यो अभियानलाई विकास, सभ्यता र सरसफाइको चम्किलो उदाहरणका रूपमा लिइएको थियो। तर समयक्रममा यो क्रान्ति फरक मोडमा पुग्यो। यतिबेला जनस्तरमा एक प्रकारको असन्तुष्टि र आक्रोशले नयाँ प्रतिरोधको आकार लिइरहेको देखिन्छ। जनस्तरमा देखिने असन्तुष्टि र आक्रोश यो अभियानबाट जोडिँदै भुसको आगोझैँ गाउँस्तरमा फैलँदो छ। यसले चीनमा नयाँ खालको प्रतिरोधको दृश्य देखा पर्दै गएको ठम्याउन सकिन्छ।
शौचालयको कथा राज्य नियन्त्रण र नागरिक स्वतन्त्रताबीचको सूक्ष्म संघर्षको प्रतीकका रूपमा रहेको विश्लेषण हुन थालेको छ। राजनीतिक संगठनमा माथि पुग्न नसकेकाहरूले पनि यसको खरो आलोचना गरेका छन्। चिनियाँ विश्लेषकहरूले यसलाई ‘सामाजिक नियन्त्रणमा केन्द्रित सफाइ अभियान’ भन्दै तिखो आलोचना गरिरहेका छन्। चीनभित्रै सामाजिक सञ्जालहरूमा नागरिकले खुला असन्तुष्टि पोख्न थालेका छन्। कतिपयले अभियानलाई बहाना बनाएर वर्तमान व्यवस्थाप्रति भित्री विद्रोहको स्वर सुनाउन थालेका समाचार बाहिरिरहेका छन्।
‘ग्रामीण क्षेत्रमा अभियानले जनताको दैनिक जीवनमा राज्यको अत्यधिक हस्तक्षेपलाई उजागर गरेको छ,’ बीबीसी वर्ड सर्भिसको रिपोर्टमा उल्लेख छ। सुरुमा अभियानको लक्ष्य सरल थियो- ग्रामीण क्षेत्रमा सरसफाइ सुधार्नु। चीनका गाउँमा लामो समयदेखि शौचालय दुर्गन्धित र खुला थिए, जसले जनस्वास्थ्यमा हानि पुर्याउनुका साथै पर्यटन छविमा दाग लगाएको सरकारी मूल्यांकन थियो।
राष्ट्रपति सीले यसलाई ‘सभ्य समाजको कलंक’ ठहर्याउँदै नारा दिए: ‘सफा शौचालय सानो कुरा जस्तो लाग्छ, तर यो सभ्यताको ठूलो चिनारी हो।’ सीले सन् २०१५ मा पर्यटन सम्मेलनमा दिएको धारणा साउथ चाइना मर्निङ पोस्टले छापेको थियो। यसपछि सरकारले करोडौँ रुपैयाँ खर्चेर सहरदेखि गाउँसम्म नयाँ शौचालय निर्माण अभियान थाल्यो। ग्रामीण परिवारलाई आधुनिक सुरक्षा प्रणाली अनिवार्य बनाइयो। स्थानीय अधिकारीहरूलाई नतिजामा आधारित मूल्यांकनमा बाँधियो। तर यो ‘क्रान्ति’ चाँडै ‘नियन्त्रणको जालो’ मा परिणत भयो।
‘शौचालय सफा गर्ने होइन, हामीलाई नियन्त्रण गर्ने परियोजना हो,’ ग्रामीण नागरिक भन्छन्। सरकारले पुराना शौचालय हटाएर नयाँ मोडलका जैविक वा स्मार्ट शौचालय जडान गर्न बाध्य बनायो, तर लागत, मर्मत र सरसफाइको बोझ किसानकै काँधमा थुपारिदियो। केही ठाउँमा स्थानीय अधिकारीहरूले जबरजस्ती पुराना शौचालय तोडिदिए, जसले गाउँमा आक्रोश फैलाएको छ। यो आक्रोश जंगलको डढेलोझैँ भित्रभित्रै फैलिरहेको छ। यसमा चिनियाँ नेतृत्वको हेक्का पुगेन भने शौचालय क्रान्तिले राजनीतिक रङ लिन कत्ति पनि बेर नलाग्ने विश्लेषकहरू बताउँछन्।
वाइबो र भीपीएनबाट चलेका माजिक सञ्जालमा ग्रामीण टिप्पणीहरू भाइरल छन्- ‘हाम्रो खेतमा सडक छैन, तर सरकार स्मार्ट ट्वाइलेट माग्छ!’ एक ग्रामीण किसानले वाइबोमा गरेको पोस्टमा पनि यस्तै धारणा छ, ‘हामीकहाँ सडक छैन। नयाँ प्रविधि भित्रिन सकेको छैन। खान बस्न पाएका छैन्। हाम्रा नेतालाई शौचालयचाहिँ चिटिक्क चाहियो।’ यस्ता धारणालाई न्युयाेर्क टाइम्सले पनि स्थान दिएको पाइन्छ। यसलाई कतिपयले ‘ब्युरोक्रेसीको सफाइ-क्रान्ति’ भनेका छन् – जहाँ अधिकारीहरूले महँगा उपकरण ठेक्काबाट खरिद गर्छन्, तर पानी र मर्मतको सुविधा हुँदैन।
यो कमाउधन्दा मात्र हो भन्ने धारणा फैलिँदै छ र सफाइ अभियान फोहोर समस्या र आर्थिक बोझको नयाँ स्रोत बनेको युवाको बुझाइ छ। सीको ‘सभ्यताको सूचक’ नारा अहिले गाउँलेहरू व्यंग्यात्मक रूपमा प्रयोग गर्छन्। कतिपय ठाउँमा नयाँ शौचालय प्रयोग गर्न अस्वीकार गर्दै परम्परागत विधिमा फर्किएका छन् र केही प्रान्तमा स्थानीय विरोध प्रदर्शनसमेत भएका छन्।
यो प्रतिरोध सीको सत्तालाई सीधा चुनौती नदिए पनि, सरकारको अत्यधिक नियन्त्रण र जनजीवनका साना पक्षमा हस्तक्षेपको स्पष्ट आलोचना हो। यसले अन्तर्राष्ट्रिय समुदायलाई चीनको बारेमा बोल्ने निहुँ पनि दिएको देखिन्छ। ‘यो रिभोलुसन चीनको शासनशैलीको एक एना हो- विकासलाई राज्य-केन्द्रित आदेशबाट थोपारिन्छ, जनसहभागिता वा आवश्यकताबाट होइन,’ चीन विशेषज्ञ जेम्स पाल्मरले फरेन पोलेसीमा लेखेका छन्।
यो नीति सफाइ र स्वास्थ्य सुधारसम्म सीमित हुँदा सफल थियो, तर व्यक्तिगत जीवनशैलीमा राज्य नियन्त्रण फैलाउँदा असन्तुष्टि विस्फोट भयो। अहिलेको विरोध शौचालयमात्र होइन, दैनिक जीवनमा बढ्दो नियन्त्रण र स्वायत्तताको ह्रासप्रतिको असन्तोष हो। यो विरोध स्पष्ट नारा वा संगठनमा आधारित छैन – यो मौन र स्थानीय छ। तर यसको सन्देश गहन छ- जनतालाई राज्यले ‘सफा बनाउने वस्तु’ होइन, स्वतन्त्र नागरिकका रूपमा सम्मान गर्नुपर्छ। तर चीन सरकार यो विरोध स्वीकार गरेको छैन। अभियान जारी राखेको छ र आमनागरिकमाथि आर्थिक बोझ थोपारिएको बुझाइ छ।
सात वर्षअघि सुरु भएको यो क्रान्तिले ग्रामीण स्वास्थ्य, पर्यटन र सरसफाइमा सुधार ल्यायो, तर बाध्यता र नियन्त्रणमा रूपान्तरित हुँदा विकास र सभ्यताको अर्थमाथि प्रश्न उठाएको छ। आजको चीनमा ‘ट्वाइलेट रिभोलुसन’ सरसफाइको नीति मात्र होइन यो नागरिक स्वतन्त्रता र राज्य नियन्त्रणबीचको संघर्षको जीवन्त प्रतीक बनेकाे छ।
राज्यले जबरजस्ती थोपारिएका सुधार अभियान जनतामा कति टिकाउ हुन्छन्? सायद यही प्रश्नले अहिले चीनको ग्रामीण भूभागमा फैलिएको असन्तुष्टिलाई ‘फोहोरविरुद्धको क्रान्ति’ बाट ‘नियन्त्रणविरुद्धको प्रतिरोध’ मा बदलिदिएको छ।



