निरन्तर राजनीतिक दबाबपछि सोनलले छाडे सरकारी निवास

सुभाष कर्ण ५ मंसिर २०८२ १२:३७
42
SHARES
निरन्तर राजनीतिक दबाबपछि सोनलले छाडे सरकारी निवास

जनकपुरधाम- निरन्तर राजनीतिक दबाबपछि मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले अन्ततः सरकारी निवास र गाडी शुक्रबार बिहान छाडेका छन्। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पनि मुख्यमन्त्री निवास नछाडेपछि नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लगातार दबाब दिँदै आएका थिए।

सर्वोच्चले आफूलाई कार्यवाहक मुख्यमन्त्रीका रूपमा कायम गरिसकेको अवस्थामा भाडाको घरमा बसिरहनुपरेको भन्दै मुख्यमन्त्री यादवले पटकपटक निवास खाली गर्न आग्रह गर्दै आए पनि सोनलले त्यसलाई बेवास्ता गरेका थिए।

यादवले यस विषयमा प्रतिपक्षी दलका नेतासमेतलाई सहयोगका लागि आग्रह गरेका थिए। बिहीबार प्रशासनमार्फत जबरजस्ती खाली गराइने चेतावनी दिएपछि सोनल निवास छाड्न बाध्य भएका हुन्।

प्रतिपक्षमा रहेको सातदलीय गठबन्धनले एमाले नेता यादवको मुख्यमन्त्रीमा नियुक्ति असंवैधानिक र शपथग्रहण प्रक्रिया लोकतान्त्रिक मान्यताविपरीत रहेको दाबी गर्दै सर्वोच्चको पूर्ण फैसला नआएसम्म सोनल नै वैध मुख्यमन्त्री भएको अडान लिएको थियो। त्यसै कारण उनीहरूले निवास तथा गाडी छाड्न नसकिने बताएका थिए। निवास छाडेपछि सोनलले सो निर्णयबारे बोल्न चाहेनन्।

यसबारे लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का मधेश प्रदेश संसदीय दलका नेता जयनुल राईनले विवादित मुख्यमन्त्री यादवले धम्कीपूर्ण शैलीमा दबाब दिइरहेकाले परिस्थिति बिग्रन नदिइकन निवास खाली गरेको प्रतिक्रिया दिए।

हिमालप्रेसको कस्ता धम्की? भन्ने प्रश्नको उत्तरमा राईनले भने,‘मुख्यमन्त्री यादवले निवास खाली नगरे कार्यकर्ता र प्रशासन लगाएर जबरजस्ती खाली गराउने चेतावनी दिइरहेका थिए। अहिले एमालेको गतिविधिले बारा र पर्सामा त्रास फैलिएको छ। जनकपुरमा विवाहपञ्चमीको माहोल छ, यस्ता बेला कुनै अप्रिय घटना भयो भने नकारात्मक सन्देश जान सक्थ्यो, त्यसैले हामी बाध्य भयौँ।’

स्रोतका अनुसार मुख्यमन्त्री यादवको आग्रहमा प्रशासनमार्फत बल प्रयोग गरेर निवास खाली गराइने चेतावनी आएपछि सोनलले बिहानै निवास र सरकारी गाडी दुवै छाडेका हुन्।

सरकारी आवास सोनलकै कब्जामा, भाडाको घरमा मुख्यमन्त्री यादव


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast