काभ्रेपलाञ्चोक- अविरल वर्षाका कारण तीन दिनदेखि अवरुद्ध भएको बीपी राजमार्ग डाइभर्सन निर्माणसँगै पुनःसञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार काभ्रेको रोशी-८ चारसयबेशी र रोशी-११ पिप्ले क्षेत्रमा डाइभर्सन निर्माणपछि आजबिहान पौने १२ बजेदेखि राजमार्गमा सवारीसाधन चल्न थालेका हुन्।
बिहीबारदेखि परेको लगातार वर्षाले विभिन्न स्थानमा पहिरो र लेदो पसेपछि राजमार्ग अवरुद्ध भएको थियो। चारसयबेशीस्थित नाङ्शाल क्रसर नजिकै सडक माथिबाट निरन्तर सुख्खा पहिरो खसिरहेको कारण सवारी सञ्चालनमा रोक लगाइएको थियो। त्यस क्षेत्रमा रोशी खोलातर्फ साइडमा डाइभर्सन बनाएर आवागमन सुचारु गरिएको हो।
लगातारको वर्षाका कारण राजमार्गअन्तर्गत चौकीडाँडा, चारसयबेशीको नाङ्शाल क्रसर, बोक्सीकुना, माम्ती लगायतका स्थानमा पहिरो खसेका थिए भने नार्के, पिन्थलीबेशी, विरुवाडाँडा र डालाबेशी क्षेत्रमा लेदो पसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
माम्तीको तल्लो भेगमा गत असोजमा बनेको डाइभर्सन पनि यसपटकको बाढीले पुनःअवरुद्ध गरेको थियो यद्यपि नयाँ डाइभर्सन बनेपछि राजमार्ग सञ्चालनमा आए पनि रोशी खोलाको किनार र माथिबाट खस्ने सुख्खा पहिरोको जोखिम कायम रहेकाले यात्रामा विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।
गत वर्ष असोज १० देखि १२ गतेसम्मको वर्षाले पनि बीपी राजमार्गका विभिन्न स्थानमा सडक बगाएको थियो। त्यसपछि अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालनमा ल्याइए पनि असोज १८ र १९ गतेको भारी वर्षाले पुनः ती संरचनाहरू क्षतिग्रस्त बनाएको थियो।



