तस्बिरः रोयटर्स।
इस्लामावाद (रासस/सिन्ह्वा)- पाकिस्तानको राजधानी इस्लामावादको जिल्ला अदालत बाहिर मंगलबार भएको आत्मघाती विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएकाे छ। २७ जना घाइते भएको गृहमन्त्री मोहसिन नकवीले मिडियालाई बताएका छन्। उनले आत्मघाती विस्फोट न्यायिक परिसरमा भएको उल्लेख गर्दै उक्त स्थानमा धेरै जिल्ला अदालतहरू रहेको बताए।
प्रहरी र उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पुगी शव तथा घाइतेहरूलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्समा लगिएको जनाइएको छ। घाइतेमध्ये इस्लामावादको मिडिया शाखाका केही अधिकारीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ।
प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार आक्रमणकारीहरू न्यायिक परिसरमा प्रवेश गर्न चाहेको तर कडा सुरक्षा घेरा पार गर्न नसकेपछि अन्ततः परिसर बाहिर प्रहरीको गाडीमा आक्रमण गरेको जनाइएको छ।
विस्फोटको कारण केही गाडीहरूमा आगो लाग्नुका साथै केही क्षतिग्रस्त भएको जनाइएको छ। घटनास्थलबाट आत्मघाती आक्रमणकारीहरूको शरीरका अंगहरू बरामद गरेको प्रहरीले जनाएको छ। फरेन्सिक टोलीले आक्रमणकारीको पहिचान गर्ने प्रक्रिया सुरु गरेको छ।
जिल्ला प्रशासनले अदालत परिसर खाली गरेको छ भने सुरक्षा विभागले उक्त क्षेत्रमा खोजी अभियान सुरु गरेको जनाइएको छ।
अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी नलिएको जनाइएको छ। यद्यपि सुरक्षा स्रोतहरूलाई उदृत गर्दै सिन्ह्वाले अफगानिस्तानबाट सञ्चालित प्रतिबन्धित संगठन तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले आक्रमण गरेको जनाएको छ।
आइतबारमात्रै भारतको नयाँ दिल्लीमा पनि कार विस्फोट भएको थियो, जसमा आठ जनाले ज्यान गुमाएका थिए।



