कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित

हिमाल प्रेस २७ कार्तिक २०८२ ११:४७ | Thursday, November 13, 2025
12
SHARES
कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित फाइल तस्बिर

बागलुङ- जरा कुहिने रोगले धमाधम कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन्। तीन महिना अगाडिदेखि कागतीका बोट सुकेर मर्न थालेपछि किसान चिन्तित बनेका हुन्। सयौँ किसानका हजारौँ बोट कागती मर्दा लाखौँको क्षति हुन थालेको छ। सुरुमा बोट पहेँलो हुने र एक महिनामा सबै सुक्ने समस्या रहेको छ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले किसानको गुनासो आएपछि बारीमै पुगेर अध्ययन गर्दा जरा सुक्ने रोगले कागती मरिरहेको बताए। अहिले बोटमा लटरम्म फल रहेको हुँदा उपचार गर्न नसकिने भन्दै फल टिपेर सकेपछि जरा खनेर उपचार गरिने उनको भनाइ छ। फल नदिएका बोटको भने उपचार हुने अधिकारीले बताए।

उनले भने,‘कागतीका बोट सुक्न थालेपछि धेरै ठाउँका किसानले हामीलाई फोन गरेर गुनासो गर्नुभयो,उहाँहरुको गुनासो आएपछि बारीमै पुगेर अध्ययन गर्दा जरा सुक्ने रोगले यो समस्या आएको पत्ता लगायौँ, यसका उपचारका विधि छन्,फल भएको बोटमा अहिले उपचार गर्न मिल्दैन,फल टिपेर सकेपछि जराको माटो खनेर उपचार गर्नुपर्छ,यो रोगले धेरै क्षति पुर्‍याएको छ।’

निसीखोला गाउँपालिका-४ का किसान चक्रबहादुर रोकाले बारीमा लगाएका अधिकांश बोट मर्न थालेको बताए। टिप्ने बेलाको कागतीका दाना खस्नाका साथै बोट नै मरेको उनको भनाइ छ। अघिल्लो वर्ष लगाएका बिरुवासमेत मर्न थालेको रोकाले बताए। गाउँको पाखो जमिनलाई सदुपयोग गरी व्यावसायिक रुपमा कागतीखेती सुरु गरेका मगरलाई बोट मर्दा लाखौँको क्षति हुने चिन्ता छ।

रोकाले भने, ‘बारीमा भएका कागतीका कुनै पनि बोट बाँकी छैनन्,सबै सुकेर मर्न लागेका छन्,कोहीका हाँगा सुकेका छन्, कोहीको पूरै बोट नै सुकेको छ, कृषि प्राविधिकलाई समस्याका बारेमा जानकारी त गराएका छौँ तर समाधान भएको छैन, बारीमा पुराना कागतीका रूख थिए, सुरुमा ती रूखका हाँगा मर्न थाले र पछि साना बोटमा पनि यो समस्या देखियो।’

स्थानीय तमबहादुर खत्रीले १२० बोटमध्ये ९० भन्दा बढी बोटमा रोग देखिएको बताए। आफूले सुक्न थालेका सबै बोटका हाँगा काट्न सुरु गरेको उनको भनाइ छ। अघिल्लो वर्ष पनि धुलोको प्रकोपले धेरै बोट कागती मरेको खत्रीले बताए। गाउँका सबै किसानको कागती बगानमा यो रोग देखिएको छ

जिल्लामा हाल ७९७ हेक्टर क्षेत्रफलमा कागतीजन्य फलफूलखेती हुँदै आएको छ। पछिल्लो समय कागतीखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

प्रकाशित: २७ कार्तिक २०८२ ११:४७ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast