अभिनय यात्राको १७ वर्षपछि ‘अभिमन्यु: च्याप्टर १’ मार्फत मुख्य भूमिकामा चौरासिया

हिमाल प्रेस २४ कार्तिक २०८२ ११:३१ | Monday, November 10, 2025
10
SHARES
अभिनय यात्राको १७ वर्षपछि ‘अभिमन्यु: च्याप्टर १’ मार्फत मुख्य भूमिकामा चौरासिया

काठमाडौँ- अब्बल अभिनेताका रुपमा परिचित कामेश्वर चौरासियाले कलाकारिता सुरू गरेको झण्डै सत्र वर्षपछि मुख्य भूमिकामा देखिदै छन्।

कलाकार बन्ने सपना बोकेर पर्सादेखि काठमाडौँ आएका अभिनेता चौरासियाले २०७२ सालमा प्रदर्शन भएको फिल्म ‘रेशम फिलिली’ मार्फत चर्चा पाए। उक्त फिल्ममा हरिया पात्रले उनको लोकप्रियता आम दर्शकसम्म पुर्‍यायो। उही अभिनेता चौरासियाले मुख्य भूमिकामा अभिनय गरेको फिल्म ‘अभिमन्यु: च्याप्टर १’ आगामी मङ्सिर १८ देखि नेपालभर प्रदर्शन हुँदैछ।

‘मैले यही क्षणको प्रतीक्षा गरिरहेको थिएँ। यो समयका लागि मैले धेरै मेहनत गरेको छु। मधेसको कथामा बनेको फिल्म भएकाले निर्माण पक्षले मलाई रोज्नु स्वाभाविक हो। यो मेरो स‍ंघर्षको फल हो र मैले पात्रलाई जीवन्त बनाउन सकेको प्रयत्न गरेको छु’, अभिनेता चौरासियाले भने।

पहिलोपटक आफूले कथालाई अगाडि बढाउने अवसर पाउँदा अभिनेता चौरासियाले बाल्यकालमै कलाकारिता गर्ने सपना पूरा भएको महसुस गरेका छन् तर, उनी कलाकारिताको यात्रा त्यति सहज भने थिएन।

‘अभिनय गर्ने लक्ष्य राखेपछि पढाइलाई मैले प्राथमिकतामा राखिनँ। काठमाडौँ आएपछि भोकमरी र बेरोजगारीको कठोर अनुभव सहेँ। अभिनयप्रतिको मोहका कारण विदेश जाने दबाबका बीच आफ्नो शैक्षिक प्रमाणपत्र नष्ट गरेर नेपालमै बस्ने निर्णय गरे। त्यसपछि परिवारसँगको सम्बन्ध पनि टाढियो’, उनले भने।

अभिनय सिक्ने जोशमा उनले भारतको दिल्लीसम्म पुगेर प्रयास गरे, तर सफल हुन सकेनन्। फलतः नेपालमै ‘एक्टर्स स्टुडियो’ बाट अभिनय सिक्ने र रंगमञ्चमा प्रस्तुती दिँदै कलाकारिता यात्राको सुरुवात गरे।

‘रेशम फिलिली’ मा ‘हरिया’ पात्रमार्फत दर्शकको ध्यान तान्न सफल भएपछि निर्देशकले उनलाई खोज्न थाले। तर, उनको सपनाझैँ मुख्य भूमिका नभई सहायक र ‘हरिया’ जस्ता भूमिका प्रस्ताव भए।

‘म मुख्य भूमिकामा केही फरक गर्न चाहन्थेँ। त्यसकारण मैले केही प्रस्ताव स्वीकार गरिन। जब मैले केही प्रस्ताव अस्वीकार गरेँ, त्यसको असर मेरो करियरमा प¥यो, मलाई फिल्ममा अभिनय गर्ने प्रस्ताव आउनै छाड्यो’, अभिनेता चौरासियाले भने।

आफूले सोचे जस्तो फिल्ममा भूमिका नपाएपछि उनले केही समय अभिनयदेखि टाढा रहँदै माछा बेच्ने काम गरे। तर, कोरोना महामारीका कारण त्यो सफल हुन सकेन। अभिनयबाहेकका काममा निरन्तर असफल भइरहँदा उनलाई फिल्म ‘फेरि रेशम फिलिली’ मा अभिनय गर्ने प्रस्ताव आयो। पाँच वर्षपछि आफ्नै कर्ममा फर्किएका अभिनेता चौरासियालाई एकदिन निर्माता विनोद पौडेलले मुख्य अभिनेताको प्रस्ताव गरे।

‘मैले जीवनभर जसका लागि संघर्ष गरेँ, त्यो मौका अब पाएको छु। त्यो क्षण शब्दमा वर्णन गर्न सक्दिनँ। यो सन्तुष्टिले मेरो जीवनलाई पूर्णता दिएको छ’, उनले भने। फिल्म ‘अभिमन्युः च्याप्टर १’ मा उनले परिवारप्रति जिम्मेवार र सुरक्षात्मक पात्रको भूमिकामा छन्।

मधेसको पृष्ठभूमिमा आधारित फिल्ममा उनीसँगै किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल र सुष्मा निरौलालगायत कलाकारले अभिनय गरेका छन्। सुशान्त गौतमले निर्देशन गरेको फिल्म मुकेश खनालको लेखन, शरद महतोले छायांकन र मदन घिमिरेको सम्पादनमा बनेको छ।  रासस

प्रकाशित: २४ कार्तिक २०८२ ११:३१ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast