मनको दूरी दूर गर्ने खेलकुद

खेलकुदले माझ्ला कोहलपुर-नेपालगन्ज सम्बन्ध?

केशव राना क्षेत्री ५ मंसिर २०८२ १५:१८
2
SHARE
मनको दूरी दूर गर्ने खेलकुद नेपालगन्जमा आयोजित नेपालगन्ज कन्क्लेभमा सहभागी पूर्व क्रिकेटर एलबी क्षेत्री, कीर्तीमानी धावक सन्तोष राई, पत्रकार प्रकाश तिमल्सिना र कार्यक्रम सञ्चालक ममता थापा। (बायाँबाट दायाँ)।

नेपालगन्ज (बाँके)- खेलकुद के हो? प्रतिस्पर्धा वा मनोरञ्जनको माध्यम? नेपाली क्रिकेट टोलीको पूर्वकप्तान एलबी क्षेत्री भन्छन्, ‘यतिमा मात्रै सीमित छैन यसको अर्थ। यसले त राष्ट्र र मनलाई जोड्ने काम गर्छ।’

उनले भनेजस्तै भौगोलिक, भाषिक, सांस्कृतिक भिन्नताभन्दा पर उठेर खेलकुदले मानिसका भावनलाई जोड्ने काम गर्छ। देशको झण्डा बोकेर मैदान उत्रिएको खेलाडीको प्रत्येक पाइला नागरिकका भावनासँग जोडिन्छन्। अन्तर्राष्ट्रिय मञ्चमा जब पदक वा कीर्तिमानले देशको मान बढाउँछ। त्यतिबेला जात, भाषा, धर्म, लिंग, क्षेत्र केही हेरिँदैन। हेरिन्छ त केवल ‘हामी नेपाली’ भन्ने भावना।

यही भावनाले देशलाई एकताको सूत्रमा बाँध्न मद्दत गर्ने लामो समयदेखि खेलकुद पत्रकारितामा योगदान पुर्‍याइरहेका पत्रकार प्रकाश तिमल्सिना बताउँछन्। ‘हाम्रो जन्मथलो, कर्मथलो कता हुन्छ, तर पनि हामी खेलकुदका कारण एकै ठाउँमा भइरहेका हुन्छौँ,’ उनी भन्छन्, ‘खेलकुदमा जत्तिको आनन्द कतै जाँदा पनि पाइँदैन।’

मैदानमा हरेक खेलाडी राष्ट्रको दूतझैँ हुन्छन्। उनीहरूको अनुशासन, लगन, मेहनत र खेलभावनाले समाजलाई सकारात्मक प्रेरणा दिन्छ। युवालाई गलत बाटोबाट टाढा राख्दै स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने माध्यम पनि यही हो। यसरी खेलकुदले समाजमा सहिष्णुता र सहकार्यको वातावरण सिर्जना गर्ने र मनमनबीचको दूरी घटाउने पूर्वकप्तान क्षेत्री बताउँछन्।

धरान रन समूहका संस्थापक तथा नेपाल रन यूकेका संस्थापक सदस्य सन्तोष राई पनि खेलले भावनात्मक सम्बन्ध बढाउने र स्वस्थ रहन मद्दत पुग्ने बताउँछन्। राई नेपाली पोसाकमा दौडिएर गिनिज वर्ल्ड रेकर्ड पनि राखेका व्यक्ति हुन्। ‘अरू खेलमा थोरै खेलाडी खेल्ने, अरूले ताली बजाउने हुन्छ, दौडमा त सबै जना सहभागी हुन मिल्छ,’ उनले भने, ‘यसले अझ सम्बन्धलाई बलियो बनाउँछ।’

खेलकुदले माझ्ला कोहलपुर-नेपालगन्ज सम्बन्ध?

उदाउँदो सहर कोहलपुर र ऐतिहासिक सहर नेपालगन्जका बीचमा जहिल्यै खिचातानी चलिरहेको हुन्छ। चाहे त्यो कुनै पूर्वाधार बाँकेमा आउने विषय होस् वा कुनै कार्यालय। कुनै न कुनै हिसाबले कोहलपुर र नेपालगन्जबीच तानातानको स्थिति हुन्छ। कतिसम्म भने नेपालगन्जिया र कोहलपुरिया भनेर छुट्याउने गरिन्छ।

अहिले कोहलपुर र नेपालगन्ज दूरीका हिसाबले एकदमै नजिक भइसक्यो। मनको दूरी भने घटाउन नसकेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट स्वीकार्छन्। ‘हामी दूरीका हिसाबले त जोडियौँ, अब भावनाका हिसाबले पनि जोडिनुपर्छ,’ उनले भने।

कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्य पनि यसमा सहमत छन्। कोहलपुर उदाउँदो सहर भएकाले यसले आफ्नो अस्तित्व र पहिचान भने खोज्ने उनको भनाइ छ। ‘खेलकुद, पर्यटन, औद्योगिकीकरण, शिक्षालगायतका दृष्टिकोणबाट सहकार्य अघि बढाउनुपर्छ,’ उनी भन्छन्।

नेपालगन्ज उद्योग वाणिज्य संघ अध्यक्ष टंक धामीले पहिले बाँकेवासी बन्नुपर्ने बताउँछन्। ‘हामी पालिकावासी भयौँ, बाँकेवासी बनौँ,’ उनले भने, ‘विकासको एकसूत्रमा बाँधिएर पूर्वाधार विकास हुनुपर्छ।’

नेपालगन्ज उपमहानगर मेयर प्रशान्त विष्ट, काेहलपुर नगरपालिका मेयर पूर्ण आचार्य र कार्यक्रम सञ्चालक झलक गैरे। (बायाँबाट दायाँ)

कोहलपुर र नेपालगन्जलाई जोडेर महानगर बनाउने विषयमा छलफल नभएको पनि होइन। तर महानगर अहिल्यै आवश्यक हो कि होइन? भन्ने विषयमा स्थानीयवासीको चाहना के छ? भन्ने नबुझेरै हचुवाका भरमा राजनीतिक मुद्दा बनाइँदा समस्या भएको हो।

यो विषय नेपालगन्जका मेयर विष्ट पनि स्वीकार गर्छन्। ‘हामीले राजनीतिक एजेन्डा बनाउँदै जबर्जस्ती नगरपालिका, उपमहानगरपालिका बनायौँ,’ उनी भन्छन्, ‘नेपालगन्जकै १३–२३ वडामा शिक्षा, स्वास्थ्य, पूर्वाधारको राम्रो व्यवस्था छैन। नगरपालिकाबाट उपमहानगर हुँदा कर बढेको छ, महानगर बनाउँदा झन् कर थपिन्छ। त्यहाँका जनताले सामान्य सहर बनाइदिए पुग्छ भनेका छन्।’

प्रधानमन्त्री, मन्त्री भएकाहरूले आफ्नो क्षेत्रमा मात्रै बजेट पार्ने गरेकाले समस्या भएको उनी बताउँछन्। ‘भविष्यको आवश्यकता हो महानगर। तर अहिले नै बनाएर हुँदैन,’ उनी भन्छन्, ‘सबै विषयको अध्ययनपछि मात्रै बनाउनुपर्छ। नेपालगन्जको बजार र कोहलपुरको बजारलाई मात्रै हेरेर दृष्टिकोण बनाउनु हुँदैन।’

कोहलपुरका मेयर आचायले पनि विष्टसँग सहमति जनाउँदै भन्छन्, ‘आमनागरिकको भावनालाई कसरी समेट्न सक्छौँ, त्यसको सन्देश नेपालगन्जले दिनुपर्छ,’ उनले भने।

नेपालगन्जवासी एवं पर्यटन व्यवसायी श्रीराम सिग्देलले नेपालगन्ज र कोहलपुरलाई भावनात्मक हिसाबले जोड्न खेल, पर्यटनलगायतका क्षेत्रमा सहकार्य हुनुपर्ने बताउँछन्। ‘कोहलपुरको क्रिकेट मैदान स्तरोन्नतिका लागि नेपालगन्जले कहिले बजेट छुट्याउने? अनि नेपालगन्जको फोहर व्यवस्थापनमा कोहलपुरले कहिले बजेट छुट्याउने?,’ उनले प्रश्न गरे। बाँके राष्ट्रिय निकुञ्ज कोहलपुर र राप्तीसोनारीको मात्रै होइन, नेपालगन्जले पनि अपनत्व लिनुपर्ने उनको भनाइ छ।

पूर्व क्रिकेटर क्षेत्री कोहलपुर र नेपालगन्जलाई खेलकुदका माध्यमले जोड्न सकिने बताउँछन्।

नेपालगन्जमा रंगशाला छ, कोहलपुरमा क्रिकेट मैदान। कोहलपुरले नेपालगन्जमा फुटबल आयोजना गर्दैन भने नेपालगन्जले पनि कोहलपुरमा क्रिकेट प्रतियोगिता आयोजना गरेको पाइँदैन।

स्थानीयवासी वीरेन्द्र यादवले कोहलपुरलाई क्रिकेटको हब र नेपालगन्जलाई फुटबलको हब बनाउनुपर्ने धारणा राखे। ‘यस्ता कार्यले मात्रै हाम्रो भावनालाई जोड्न सक्छ,’ उनले भने।

नेपालगन्जका पत्रकार कमल खत्रीले पनि मानिसका भावनालाई खेलकुदले मात्रै एकसूत्रमा बाँध्ने बताए। ‘हामीले खेलकुदबाट मात्रै नेपालगन्ज-कोहलपुरको भावनालाई एक गराउन सक्छौँ,’ उनले भने।

नेपालगन्जका मेयर विष्टले नेपालगन्ज र कोहलपुरमा मैत्रीपूर्ण खेलकुद आयोजना गर्ने प्रतिबद्धता जनाए। सहकार्यको सन्देश दिन नेपालगन्जमा फुटबल र कोहलपुरमा क्रिकेटको आयोजना गर्ने उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast