युरोपेली संघ चलचित्र महोत्सवमा २५ फिल्म देखाइँदै

हिमाल प्रेस २१ कार्तिक २०८२ २०:५५
4
SHARES
युरोपेली संघ चलचित्र महोत्सवमा २५ फिल्म देखाइँदै

काठमाडौँ- १४ औँ युरोपेली संघ चलचित्र महोत्सव नेपाल कात्तिक २८ गतेदेखि सुरु हुने भएको छ। काठमाडौँमा कात्तिक २८ गतेदेखि ३० गतेसम्म क्यूएफएक्स छाया सेन्टरमा हुने सो महोत्सव पोखरामा भने मंसिर ५ देखि ७ सम्म क्युएफएक्स ट्रेड मलमा हुनेछ।

यस संस्करणमा २५ चलचित्र छन् जसमा १० युरोपेली चलचित्र, बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनीत ६ लघुचलचित्र तथा ९ नेपाली लघुचलचित्र सामेल छन्। यी चलचित्रहरूले पहिचान, अपनत्व, प्रतिरोध र रूपान्तरणजस्ता गहन विषयवस्तुलाई केन्द्रमा राखेका छन्। आयोजकका अनुसार, सहभागी चलचित्रहरूले हिम्मत, स्मृति र आशाको साझा सिनेमा–भाषा अभिव्यक्त गरेका छन्।

युरोपेली प्रदर्शनहरूमा पोर्चुगलको बाञ्जो, फिनल्याण्डको जे’भिदा, अस्ट्रियाको ह्याप्पी, हंगेरीको विथआउट एअर, र फ्रान्स–इटालीको सहनिर्माण द गर्ल फ्रम टुमरो रहेका छन्। बाफ्टा लघुचलचित्र श्रृंखलामा वान्डर टु वोन्डर, रक पेपर सिजर्स, मग्स क्रिसमस, मिल्क र आडिओस जस्ता चर्चित फिल्महरू प्रदर्शन गरिनेछन्।

स्थानीय पक्षबाट चयन गरिएका नेपाली लघुचलचित्रहरूमा ह्वाट ग्रोज इन थारी माइलाज भेजिटेबल गार्डेन, चाँदनी, अबिस र इटर्नल किनशिप समेत समावेश छन्। यी कृतिहरूले सीमाका बन्धन पार गर्दै साझा मानव संवेदनालाई उजागर गर्ने प्रयास गरेका छन्।

महोत्सवलाई नेपालस्थित युरोपेली संघको प्रतिनिधिमण्डलले फ्रान्स, जर्मनी, फिनल्याण्डका दूतावासहरू, ब्रिटिश काउन्सिल र युनेस्कोसँग सहकार्यमा आयोजना गरेको हो। सबै प्रदर्शन निशुल्क रहनेछन् र सबै चलचित्रमा अङ्ग्रेजी सबटाइटल रहने आयोजकले जनाएको छ।

महोत्सवअघिको अवधिमा कला, उद्योग तथा सिकाइबीचको सम्बन्धलाई बलियो बनाउन विभिन्न कार्यक्रमहरू आयोजना गरिँदै छ। जसमा कात्तिक २३ देखि २६ सम्म महोत्सव, वित्त व्यवस्थापन तथा सहनिर्माण बजारबारे मार्गनिर्देशन, चलचित्र उद्योगले अब के गर्ने त ? र २९ गते चलचित्र अध्ययनका लागि संयुक्त अधिराज्यको भ्रमणबारे मनन् सत्र राखिएको छ।

प्रकाशित: २१ कार्तिक २०८२ २०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast