अझै फरार छन् कास्की कारागारका १९८ कैदीबन्दी

हिमाल प्रेस २८ कार्तिक २०८२ २०:३६ | Friday, November 14, 2025
8
SHARES
अझै फरार छन् कास्की कारागारका १९८ कैदीबन्दी सांकेतिक तस्बिर।

कास्की- जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेकामध्ये १९८ जना कैदीबन्दी अझै फरार रहेका छन्।

आन्दोलनका क्रममा कारागारको बन्दीगृहबाट फरार भएका ७७३ जना मध्येमा कोही आफैँ फर्किएको र केहीलाई प्रहरीले पक्राउ गरेको थियो। कारागार नफर्कि हालसम्म फरार रहेका मध्येमा १८७ जना पुरुष र ११ जना महिला रहेको कारागारका प्रशासक राजेन्द्र शर्माले जानकारी दिए। उनका अनुसार उनीहरू मध्येमा १३ जना विदेशी रहेका छन्।

विदेशीहरूमा ११ जना भारतीय र दुई जना चिनियाँ रहेका छन्। कास्कीबाट भागेका मध्येमा १९ जना अन्य जिल्लामा समातिएका थिए। त्यसै गरी अन्य जिल्लाबाट भागेका सात जना कास्कीमा पक्राउ परेको जनाइएको छ। कारागार प्रशासक शर्माले फरार कैदीलाई प्रहरीले खोजी गरिरहेको जानकारी दिए।

उनले भने, ‘प्रदर्शनकारीले कारागारमा तोडफोड गरेपछि भागेका मध्येमा कतिपय कैदीबन्दी आफैँ कारागार फर्किएका छन्। केहीलाई विभिन्न जिल्लाबाट प्रहरीले पक्राउ गरेको हो। फरार रहेकाको खोजी प्रहरीले गरिरहेको छ।’ फरार कैदीहरूमा लागुऔषधसम्बन्धी मुद्दा र लामो समयको सजाय तोकिएका बढी रहेका छन्।

आजीवन कारावासको सजाय तोकिएका दुई जनामध्ये एक जनालाई म्याग्दीबाट पक्राउ गरिएको र एक जना अझै फरार रहेको बताइन्छ। आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीलाई कारागारले गत असोज १२ गते सूचना जारी गरी असोज २० गतेसम्म फर्कन समय दिएको थियो। तर तोकिएको समयभित्रमा कारागार नफर्केका र सम्पर्क नगरेका कैदीबन्दीको प्रहरीले खोजविन गरिरहेको छ।

कारागार प्रशासनले फरार रहेकाहरू प्रचलित कानुनअनुसार कारबाही हुने र फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी कानुनअनुसार कारबाही हुने जनाएको छ। रासस

प्रकाशित: २८ कार्तिक २०८२ २०:३६ | Friday, November 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast