मालढुंगा-बेनी सडकको लस्ती-बेनी खण्डमा कालोपत्र सुरु

हिमाल प्रेस २ मंसिर २०८२ ७:४९
6
SHARES
मालढुंगा-बेनी सडकको लस्ती-बेनी खण्डमा कालोपत्र सुरु

म्याग्दी- म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा-बेनी सडकको लस्ती-बेनी खण्डमा कालोपत्र गर्न सुरु भएको छ। भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक योजना कार्यालयमार्फत सोमबारदेखि ६ किलोमिटर ५०० दूरीको सडकमा कालोपत्र गर्न थालिएको हो।

कार्यालयका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागाइँले दुई लेनमा अक्सफाल्ट प्रविधिको कालोपत्र गरिने जानकारी दिए। ‘गत वर्ष पाँच दशमलव पाँच किलोमिटर दूरीको मालढुंगा-फर्से खण्डमा कालोपत्र भएको थियो’, उनले भने, ‘बाँकी रहेको फर्से-बेनी खण्डमा यही महिनाभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गरेको छ।’

कूल १३ किलोमिटर दूरीको मालढुंगा-बेनी सडकको पहिरो प्रभावित र पर्वत बेनीको बजार क्षेत्रको एक किलोमिटरलाई ठेक्काबाट हटाइएको छ। दुई किलोमिटर २०० मिटर ढलान भएको छ । लस्ती बजारको ५६० मिटर र लस्ती पुलदेखि केराबारीको पहिरोसम्म २५० मिटरमा सोमबार एकतर्फी कालोपत्र भएको छ।

मङ्गलबार उक्त खण्डमा दुईतर्फी कालोपत्र सकेर केराबारीदेखि मिलनचोकतर्फ कालोपत्र सुरु गर्ने निर्माण कम्पनी एपेक्स-खड्का-कृष्ण जेभीका इञ्जिनियर जीवन चौधरीले बताए।

कालोपत्रलाई तीव्रता दिनका लागि स्थानीय प्रशासनको समन्वयमा म्याग्दी र मुस्ताङ जाने आउने सवारीसाधनलाई मालढुंगा-बागलुङ-रत्नेचौर- बेनी जोड्ने वैकल्पिक सडकबाट आवतजावत गर्ने व्यवस्था मिलाइएको छ।

मङ्सिर २० गतेसम्मका लागि मालढुंगा-बेनी सडक स्तरोन्नतिका लागि बिहान १० देखि साँझ ५ बजेसम्म बन्द गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताए।

एपेक्स-खड्का-कृष्ण जेभीले २०७७ साल चैतमा ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । २०७९ मा सम्पन्न हुनुपर्ने सडक निर्माण कार्यले लक्ष्यभन्दा तीन वर्षपछि पूर्णता पाउन लागेको हो । कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावका कारण देखाएर सहायक ठेकेदार ओमकारेश्वरले अलपत्र बनाएको योजनालाई पूर्णता दिन एक वर्षअघि मुख्य ठेकेदार कार्यक्षेत्रमा आएका थिए।

जलजला गाउँपालिका-७ मिलनचोकका बासिन्दा बाबुराम कार्कीले सडक कालोपत्र भएपछि यात्रा अवधि छोटिने, ढुवानी र सार्वजनिक यातायातको भाडादर घट्ने, धुलो र हिलोमा जोखिम तथा कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताए।

सडक निर्माणलाई गति दिन जनप्रतिनिधि, उद्योगी व्यवसायी र सरोकारवालाहरुले दबाब दिँदै आएका छन्। यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन्। ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुंगा-बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो। चालु आर्थिक वर्षभित्र सडक कालोपत्र सम्पन्न हुने आयोजनाले जनाएको छ । रासस

प्रकाशित: २ मंसिर २०८२ ७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast