पदयात्रामा ननिस्कन कास्की प्रशासनको आग्रह

हिमाल प्रेस १७ असोज २०८२ १८:५६ | Friday, October 3, 2025
पदयात्रामा ननिस्कन कास्की प्रशासनको आग्रह जिल्ला प्रशासन कार्यालय, कास्की

पोखरा- उच्च हिमाली भेगमा अबको ४ दिन हिमपात सम्भावना प्रक्षेपण गरिएकाले जिल्ला प्रशासन कार्यालय कास्कीले त्यस क्षेत्रमा पदयात्रा नगर्न सचेत गराएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशलगायतका क्षेत्रमा सोमबारसम्म भारी वर्षा हुने प्रक्षेपण गरेपछि सम्भावित वर्षाका कारण बाढीपहिरो, डुबान, हिमपात आदि विपद्जन्य घटना हुनसक्ने भन्दै प्रशासनले सचेत गराएको हो।

प्रशासनका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले  सूचना जारी गर्दै अन्नपूर्ण हिमाल, मर्दी हिमाललगायतका कुनै पनि स्थानमा पदयात्राका लागि ननिस्कन आग्रह गरेका हुन्।

विशेषगरी सिद्धार्थ राजमार्ग, भूपि शेरचन राजमार्ग (पोखरा–बागलुङ), बेगनास ताल–भोर्लेटार सडकखण्ड, मुग्लिन–पोखरा सडकखण्ड र अन्य जोखिमयुक्त सडकखण्डमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकाय तथा कार्यालयलाई अनुरोध गरिएको छ।

नागरिकको जिउधनको सुरक्षालाई दृष्टिगत गरी आगामी सोमबारसम्म अति जरुरी काम नपरी टाढाको दुरीमा र रातिको समयमा यात्रा नगर्न तथा नदी एवं खोला आसपासका क्षेत्रमा रहँदा विशेष सावधानी अपनाउन सम्बद्ध सबैसँग अनुरोध गरिएको छ।

आगामी सोमबारसम्म राजमार्ग तथा ग्रामीण सडकमा संयमतापूर्वक सवारीसाधन सञ्चालन गर्न र क्षमताभन्दा बढी यात्रु नचढाउन यातायात व्यवसायी एवं सवारी चालकको समेत कास्की प्रशासनले ध्यानाकर्षण गरेको छ।

प्रकाशित: १७ असोज २०८२ १८:५६ | Friday, October 3, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast